तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार « Khabarhub

तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर कोरियाले लगातार दोस्रो दिन समुद्रतर्फ छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । कूटनीतिक कटुता बढिरहेका बेला भएको यस कदमले कोरियाली प्रायद्वीपमा तनाव थप चर्किने संकेत दिएको छ ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार बुधबार उत्तर कोरियाको पूर्वी तटीय वोनसन क्षेत्रबाट प्रक्षेपित क्षेप्यास्त्रहरू करिब २४० किलोमिटर टाढासम्म उडेर पूर्वी जलक्षेत्रमा खसेका छन् ।

दक्षिण कोरियाले अमेरिकासँगको आफ्नो सुदृढ सैन्य गठबन्धनमार्फत यस्ता कुनै पनि उक्साहटको कडा प्रतिकार गर्न तयार रहेको स्पष्ट पारेको छ ।

यसअघि मंगलबार पनि उत्तर कोरियाले राजधानी आसपासबाट अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको थियो । उक्त प्रक्षेपणको विवरण दक्षिण कोरिया र अमेरिकी गुप्तचर निकायहरूले अझै विश्लेषण गरिरहेका छन् । 

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले सो क्षेप्यास्त्र प्रारम्भिक चरणमै असामान्य रूपमा हराएको र सम्भवतः असफल भएको उल्लेख गरेका छन् ।

यी लगातार प्रक्षेपणहरू उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुनै इच्छा नरहेको स्पष्ट पारेपछि भएका हुन् । दक्षिण कोरियाको वर्तमान सरकारले लामो समयदेखि संवाद पुनःस्थापना गर्ने प्रयास गर्दै आएको भए पनि प्योङयाङले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।

मंगलबार राति उत्तर कोरियाको विदेश मन्त्रालयका प्रथम उपमन्त्री जाङ कुम चोलले दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण राष्ट्र’ को संज्ञा दिँदै कडा टिप्पणी गरे। उनले उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले दिएको हालैको बयानलाई उद्धृत गर्दै दक्षिण कोरियालाई ‘विश्वलाई चकित पार्ने मूर्ख’ भन्दै उपहास गरे।

यसअघि दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियामाथि गरिएको भनिएको नागरिक ड्रोन उडानप्रति खेद व्यक्त गरेका थिए । त्यसको जवाफमा किम यो जोङले उनको इमानदारीको प्रशंसा गरे पनि यस्ता गतिविधि दोहोरिए प्रतिकार गर्ने चेतावनी दिएका थिए ।

 दक्षिण कोरियाली पक्षले उक्त प्रतिक्रियालाई सम्बन्ध सुधारतर्फ सानो संकेतका रूपमा व्याख्या गरेको थियो, तर त्यसलगत्तै आएका उत्तर कोरियाली कठोर अभिव्यक्तिले त्यो आशा कमजोर बनाएको छ ।

जाङ कुम चोलले आफ्नो टिप्पणीलाई चेतावनीका रूपमा प्रस्तुत गर्दै दक्षिण कोरियाले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार प्रस्तावमा सह–प्रायोजन गरेको विषयमा पनि आलोचना गरे। उनले अपमानजनक शब्द प्रयोग गर्दै दक्षिण कोरियामाथि तीव्र असन्तुष्टि व्यक्त गरे ।

सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता विफल भएपछि उत्तर कोरिया अमेरिका र दक्षिण कोरियासँग कूटनीतिक संवादबाट टाढिँदै आएको छ । त्यसपछि उसले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्र बनाएको छ । 

फेब्रुअरीमा सत्तारूढ वर्कर्स पार्टीको बैठकमा किम जोङ–उनले उक्साएमा दक्षिण कोरियालाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो । यद्यपि उनले अमेरिकासँग वार्ताको ढोका भने पूर्ण रूपमा बन्द नगरेको संकेत दिए ।

हालै उत्तर कोरियाले ठोस इन्धन प्रयोग गर्ने उन्नत इन्जिन परीक्षण गरेको दाबी पनि गरेको छ, जसलाई उसले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धि भनेको छ । यस्ता मिसाइलहरू तरल इन्धनयुक्त प्रणालीभन्दा छिटो तयारी गर्न सकिने र सजिलै लुकाउन सकिने भएकाले बढी खतरनाक मानिन्छन् ।

दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार उक्त परीक्षण सम्भवतः बहु–आणविक वारहेड बोक्न सक्ने शक्तिशाली अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल विकाससँग सम्बन्धित हुन सक्छ । यद्यपि विज्ञहरू उत्तर कोरियाले अझै पूर्ण रूपमा यस्तो प्रविधिमा महारत हासिल गरिसकेकोमा शंका व्यक्त गर्छन् ।

लगातार प्रक्षेपण, कडा वक्तव्य र सैन्य क्षमता विस्तारका सङ्केतहरूले उत्तर कोरिया र दक्षिण कोरियाबीचको दूरी झन् बढ्दै गएको देखिएको छ, जसले निकट भविष्यमा वार्ताको सम्भावना झन् कमजोर बनाएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : १८ बजे

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा

विष्णुमाथि बर्सिए बादल : पार्टी भित्रैका दुष्मनहरू पनि देखिए

पोखरा- नेकपा (एमाले) संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव