सुकुम्वासीका बच्चाको दुःख : नगर प्रहरीले ‘कैदीझैँ’ विद्यालय ‌ओसार्छ « Khabarhub

सुकुम्वासीका बच्चाको दुःख : नगर प्रहरीले ‘कैदीझैँ’ विद्यालय ‌ओसार्छ



काठमाडौं- सुकुम्वासी बस्ती हटाउने सरकारको अभियानअन्तर्गत हालसम्म काठमाडौं उपत्यकाका खोला किनारमा रहेका घर टहरासँगै सामुदायिक विद्यालयमा समेत डोजर चलेको छ । विद्यालयमै डोजर चलेपछि न्यून आय भएका परिवारका बालबालिकाहरु सबैभन्दा बढी मारमा परेका छन् । बाल्यकालमा गाँसबाँस गुमाएको पीडा त छँदैछ शिक्षाको पहुँचबाट समेत वञ्चित हुनुपरेकाे छ ।

सुकुम्वासी बस्ती हटाउने क्रममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ स्थित मनोहरा खोला किनारमा रहेको सरस्वती आधारभूत विद्यालयमा पनि सरकारी डोजर चल्यो । यो वडामा रहेको एकमात्रै सामुदायिक विद्यालय थियाे ।

विद्यालयकी प्रधानाध्यापक इन्दिरा महत सरकारले पर्याप्त समय नदिई विद्यालयमा डोजर चलाएको बताउँछिन् । ‘सरकारले तीन दिन मात्रै समय दिएर विद्यालयमा डोजर चलायो । कति सामान सारियो, कति पुरियो,’ महतले भनिन् ।

सरकारले मनोहरा बस्तीमा वैशाख १२ गते नै डोजर चलाउन खाेजेकाे थियाे, तर बस्तीवासी र सुरक्षाकर्मीबीच झडप भएपिछ भोलिपल्ट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर सरकारले बस्ती खाली गरेकाे थियाे ।

यस क्रममा बस्तीमा रहेका घरटहरादेखि धार्मिकस्थल र विद्यालय समेत बाँकी रहेनन् । डोजर चलेपछि सुकुम्वासी बस्ती र बाहिरबाट पढ्न आउने तीन सय बालबालिकाको पढाइ अन्यौलमा परेको छ ।

‘बस्तीका डेढ सय जनाजति हुन्थे भने बाहिरका पनि सोही अनुपातमा आउँथे,’ महतले भनिन् । उनका अनुसार ०६२ सालमा स्थापना भएको विद्यालयले २०६४ सालमा मात्रै सरकारी मान्यता पाएको थियो । विद्यालयका १० वटा कक्षाकोठामा शिशु स्याहारदेखि ८ कक्षासम्म पढाइ हुन्थ्यो ।

अध्यापनका लागि १४ जना शिक्षकशिक्षिका र एक जना कार्यालय सहयोगीको व्यवस्था गरिएको थियाे । अहिले भने उनीहरू वडाले उपलब्ध गराएको सामुदायिक भवनमा विद्याथीलाई पढाइरहेका छन् ।

‘अहिलेसम्म हामीसँग २ सय विद्यार्थी सम्पर्कमा आएका छन् । सय जनाजति वडा परिसरको सामुदायिक भवनमा पढ्न आएका छन्,’ उनले थपिन्, ‘विद्यार्थी आफैँले बेञ्च ओसारेर व्यवस्थापनमा सघाइरहेका छन् ।’

अस्थायी रुपमा सुरु गरिएको भवनमा न पठनपाठनका पूर्वाधार छन्, न पर्याप्त कक्षाकोठा नै । कक्षाकोठा नपुगेर ६ र ७ कक्षामा पढ्ने विद्याथीलाई एउटै कोठामा राखिएकाे छ । जसका कारण शिक्षक विद्यार्थी सबैले भौतिकदेखि मानसिक समस्या झेल्नुपरेको प्रधानाध्यापक महताेले गुनासाे गरिन् । ‘न पढाउने बोर्ड छ नबस्ने बेञ्च नै पर्याप्त छ । हामी त ट्रमामा छौँ, विद्यार्थी त नहुने कुरै भएन,’ उनले भनिन् ।

सरकारले तत्काल दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने उनको माग छ । ‘पालिकाले यहाँ चलाउँदै गर्नु भनेको छ, शिक्षाजस्तो बालबालिकाको भविष्यसँग जोडिएको संवेदनशील विषयमा सरकारले तत्काल व्यवस्थापन गरिदियोस्,’ उनले भनिन् ।

यसबारे वडाअध्यक्ष बाबुकाजी डंगोलसँग खबरहबले कुराकानी गर्दा उनले विद्यालय भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको जानकारी दिए । ‘अहिले हामीले लोकन्थली वडा कार्यालयअगाडि रहेको भवनमा पढाउन भनेका छौँ । विद्यालय भवन निर्माण गर्न वडाकै भोगुपाखामा रहेको खाली जग्गा प्राप्तिबारे पालिकासँग कुरा चलाएका छौँ,’ उनले भने ।

‘सुरुवाती चरणमा हामी कति विद्यार्थी सम्पर्कमा आउँछन् भनेर तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । त्यसकै आधारमा निर्णय हुन्छ,’ उनले भने । न्यून संख्यामा विद्यार्थी आएमा वडा नम्बर २ मा रहेको महेन्द्र माध्यामिक विद्यालयमा गाभ्नेसम्मको बहस भएको उनले जानकारी दिए ।

बालाजुमा भयो त विद्यार्थी व्यवस्थापन ?

सरकारले बालाजुका दुई विद्यालयमा पनि डोजर चलाएको थियो । दुवै विद्यालय काठमाडौँ महानगरपालिका–१६ को विष्णुमती खोला किनारमा थिए । यसमध्ये नयाँ बसपार्क नजिकैको बालकल्याण आधारभूत विद्यालयमा कक्षा ७ सम्म अध्यापन हुँदै आएको थियो । २०४९ सालमा बनेको यो विद्यालयलाई पनि सामान सार्न तीन दिनको समय दिइएको थियो ।

विद्यालयमा डोजर चलेपछि विद्यार्थीसँगै शिक्षक पनि अन्यौलमा परेको प्रधानाध्यापक अर्जुन शर्माले बताए । ‘सामान सार्न त भ्यायौँ । तर, विद्यार्थीको पढाइ र मानसिक स्वास्थ्यमा असर परेको छ,’ प्रधानाध्यापक शर्माले भने । अहिले वडाकाे समन्वयमा विद्यार्थीलाई नजिकैको युवक माध्यमिक विद्यालयमा पठनपाठनकाे व्यवस्थापन मिलाइएकाे छ ।

‘अहिले हामीले वडामै रहेको युवक माध्यमिक विद्यालयमा विद्यार्थी पठाएका छौँ । हामी शिक्षक पनि त्यहीँ हाजिरी गर्छौँ,’ प्रधानाध्यापक शर्माले भने । शर्माका अनुसार विद्यालयमा १९० जना विद्यार्थी, ७ जना शिक्षकशिक्षिकासहित ११ जना कर्मचारी थिए । अब विद्यालयको दीर्घकालीन व्यवस्थापनका लागि महानगरपालिकासँग पनि कुरा भइरहेको उनले बताए ।

बालाजुको सुकुम्वासी बस्तीमा रहेको श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय पनि भत्काइएको छ । नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा १४० विद्यार्थी पढ्दै आएका थिए । यीमध्ये १२० जना नियमित आउने गरेको प्रधानाध्यापक शान्तराम श्रेष्ठले बताए ।

‘हामीले विद्यालय जोगाउन आग्रह गरेका थियौँ, तर सबै भत्काइन्छ भन्ने जवाफ आयो,’ उनले भने । उनका अनुसार विद्यालयका फर्निचर र सामग्री नजिकैको तरूण माध्यमिक विद्यालयमा सारिएको छ । विद्यार्थीहरु पनि अस्थायी रूपमा त्यहीँ पढ्न थालेका छन् ।

‘अहिलेलाई विद्यार्थी र हामी त्यहीँ विद्यालयमा हाजिर भइरहेका छौँ । सरकारले तत्काल व्यवस्थापन गरोस्,’ उनले भने । २०५३ सालमा स्थापना भएको यो विद्यालयमा १४ जना शिक्षकशिक्षिका तथा कर्मचारी कार्यरत छन् ।

सरकारले सुरुवाती चरणमा वैशाख ५ गते थापाथलीस्थित सकुम्वासी बस्ती खाली गराएको थियो । त्यसलगत्तै त्यहाँका बासिन्दालाई दशरथ रगंशाला लगियो । त्यहाँ उनीहरुको स्वास्थ्य परीक्षणसँगै सरकारले तोकेका अस्थायी सेल्टरमा सारिएको थियो ।

कीर्तिपुरको राधास्वामी सत्संगको अस्थायी सेल्टरमा ६६ परिवारका २०३ जनाले आश्रय लिइरहेका छन् । विद्यालय जाने उमेरका ५२ जना बालबालिकामध्ये चार जनाले यस वर्ष एसईई दिएका छन् ।

उनीहरू कम्प्युटर, सिलाइ–बुनाइ लगायत सीपमूलक तालिम लिन इच्छुक रहेको काठमाडौँ महानगरका शिक्षा शाखा प्रमुख नमराज ढकालले बताए । विद्यालय जाने उमेर समूहका ११ छात्रा र १९ छात्र गरी ३० जना बालबालिकाका छात्रावासमा बसेर अध्ययन गर्न इच्छुक छन् ।

त्यसका लागि महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले हिसान, प्याब्सन, एनप्याब्सन, एपेनजस्ता संघसंस्थासँग छलफल गरेकी थिइन् । सो अनुरुप ती संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वास्तविक सुकुम्वासी बालबालिकाको शिक्षालाई निरन्तरता दिन सहयोग र सहजीकरणका लागि तत्पर रहेको बताएका छन् । तर, उनीहरुको यो घोषणा हालसम्म कार्यान्वयन भने भएको छैन ।

कीर्तिपुरको सत्संग आश्रममा रहेका ४१ विद्यार्थी मंगलबारदेखि जनविकास माध्यामिक विद्यालय जान थालेका छन् । ‘२२ गते राधा स्वामी पुगेर हामीले सामाजिक विकास शाखाबाट उनीहरुलाई ड्रेस, झोला, जुत्ता, स्टेशनरी सबै उपलब्ध गराउने गरी नजिकैको सामुदायिक विद्यालयमा अस्थायी रुपमा पढ्न पठाएका छौँ,’ महानगरको शिक्षा शाखामा कार्यरत एक कर्मचारीको भनाइ छ ।

आफू सञ्चार माध्यमसँग कुराकानी गर्ने आधिकारिक व्यक्ति नभएको बताएपछि खबरहबले ती कर्मचारीको नाम गोप्य राखेको छ । ती कर्मचारीका अनुसार विद्यालय र विद्यार्थीको दीर्घकालीन समाधान भने वास्तविक सुकुम्वासी पहिचानपछि मात्रै गरिनेछ ।

हामीले राधास्वामी आश्रमका विद्यार्थीलाई पढ्न पठाइएको बल्खुस्थित श्री जनविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक अनिलकुमार झासँग सम्पर्क गर्‍यौँ । प्रधानाध्यापक झाले आश्रममा रहेका विद्यार्थी विद्यालय आउन थालेको पुष्टि गरे ।

‘महानगरको टिमले ५८ जना विद्यार्थीको नामलिस्ट दिनुभएको छ । मंगलबार शिक्षा शाखाका प्रमुख नै ४१ जना बच्चा लिएर आउनुभयो । त्यसपछि उनीहरु विद्यालय आइरहेका छन्,’ उनले भने ।

उनीहरुलाई विद्यालयसम्म महिला महानगर प्रहरीले ल्याउने-लैजाने गरेका छन् । ‘उनीसँग अहिले ड्रेस पनि रहेनछ, त्यसका लागि ३४ जनाको नाप भइसकेको छ । कपी र पेन्सिल उहाँहरुले नै दिएर जानुभयो । पुस्तक भने शुक्रबार बाँड्ने कुरा छ,’ उनले भने ।

खाजाका लागि भने शिक्षा व्यवस्थापन सूचना प्रणाली कोड अर्थात इमिसका कारण समस्या भएको उनी बताउँछन् । ‘इमिस प्रणली अनुसार उनीहरु यहाँका विद्यार्थी होइनन् । खाजा र पुस्तक वितरण त गरौँला तर त्यो खर्च चाहिँ पालिकाले दिन्छ कि नाईं ?,’ उनले प्रश्न गरे ।

सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा निःशुल्क दिँदै आएको छ । विद्यार्थीलाई सुरु कै दिनदेखि खाजा खुवाइरहेको उनले बताए । कानुनी व्यवस्था अनुसार खाजा तथा पुस्तकको रकम इमिसमा दर्ता भएका विद्यार्थी संख्या अनुरुप मात्रै सरकारले उपलब्ध गराउने गरेको छ ।

‘भोलि महानगरले नै पठाएको अडिटले यो खर्च देखाउँदा इमिसमा दर्ता छैन, किन दिनुभयो भनेर सोध्छ,’ उनले भने ।

यसअघि पनि उनले यस्तो समस्या भोगेका रहेछन् । ‘गतवर्ष बाढी आउँदा महानगरकै अनुरोधमा डुबानमा परेका सुकुम्वासीलाई ११/१२ दिन विद्यालयमा आवास दिएका थियौँ,’ उनले भने, ‘८१ जनाको खर्च विद्यालय व्यवस्थापन समितिबाटै निर्णय गराएर, डोनर खोजेर जुटाउनुपर्‍यो । महानगरले दिन्छु भनेपनि त्यसो भएन ।’

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  २ : ३६ बजे

चाँगुनारायणमा चोरी

काठमाडौं भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न गरगहना

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौं- रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज ‘मानवताका

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन माग

काठमाडौं- महिला अधिकारकर्मी तथा सरोकारवालाहरुले जेन–जी आन्दोलनपछि निर्मित बलियो सरकारले

समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारी राजस्वबाट पैसा दिनु कति उचित ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्रमा सरकार बनेको एक