विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता  « Khabarhub

विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता 


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उनको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर लैजान्छन् ।

आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित ५१ वर्षीय पौडेलले दुई दशकअघि भने वैदेशिक रोजगारीको सपना पछ्याउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो । विसं २०६३ मा अफगानिस्तान जान दलाललाई ऋण खोजेर दिएको तीन लाख रुपैयाँ डुब्यो, उनको विदेश जाने सपना पनि अधुरै रह्यो ।

‘पैसा फस्यो, विदेश जाने सपना पनि टुट्यो,’ उनी सम्झिन्छन्, ‘त्यसपछि वैदेशिक रोजगारीको सोच त्यागेर भैँसीपालन र तरकारीखेती सुरु गरेँ ।’

ऋणको भारी र परिवारको जिम्मेवारीकाबीच दुईवटा भैँसीबाट सुरु गरेको व्यवसाय हाल व्यवस्थित फार्मको रूप विकास भएको छ । हाल पौडेलको गोठमा आठवटा भैँसी छन् । परिवारका दुई सदस्यसँगै एक जनालाई नियमित रोजगारी दिएका छन् ।

विसं २०७३ मा ‘पौडेल भैँसीपालन फर्म’ स्थापना गरेर सुरु गरिएको व्यवसाय हाल जिल्लाकै सफल उद्यमका रूपमा चिनिन थालेको छ । पौडेलले दुई रोपनी क्षेत्रफलमा तरकारीखेती पनि गरिरहेका छन् । भैँसीपालन र तरकारीखेती एकअर्काका पूरक जस्तै भएकाले यसतर्फ लागेको उनको भनाइ छ । 

‘गोठबाट निस्कने मल बारीमा प्रयोग हुन्छ भने तरकारीबाट अतिरिक्त आम्दानी भइरहेको छ । तरकारीसँगै खेरजाने पातपङ्गिर भैँसीको आहारमा पनि प्राय हुन्छ । यसले दुवै व्यवसाय सँगसँगै अगाडि बढाउन सहज भएको छ’, पौडेलले भने । 

हाल उनको फार्मबाट दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये करिब ४० लिटर दूधबाट दही बनाइन्छ भने बाँकी दूध नियमित ग्राहकलाई बिक्री गरिन्छ ।

‘दिउँसो १२–१ बजेसम्म दही सकिन्छ । माग धेरै छ, धान्न गाह्रो भइरहेको छ । काठको ठेकीमा जमाइएको दहीको शुद्धता र परम्परागत स्वादले उपभोक्ताको मन जितेको छ’, पौडेल भन्छन्, ‘एकपटक स्वाद लिएका ग्राहक फेरि फर्केर आउने गरेका छन् । बजारीकरणका लागि प्रचारप्रसार पनि गर्नुपरेको छैन ।’

उनी ग्राहकको मन जितेमा सफलताका लागि अर्को कुनै उपाय गर्नुनपर्ने बताउँछन् । ‘ठूलो विज्ञापन केही गरिएको छैन’, पौडेलले भने, ‘ग्राहकको सन्तुष्टि र सकारात्मक प्रतिक्रियाले नै व्यवसाय विस्तार भएको हो ।’

बेनी–दरबाङ–मुना–ढोरपाटन सडकमा यात्रा गर्ने यात्रुहरू उनका मुख्य ग्राहक हुन् । पहिले दूध बिक्रीका लागि घर–घर पुग्नुपर्ने अवस्था रहे पनि अहिले ग्राहक आफैँ फार्मसम्म पुग्ने गरेका छन् ।

दूध, दही र तरकारी बिक्रीबाट मासिक ५० हजारभन्दा बढी बचत हुने गरेको पौडेल बताउँछन् । यही आम्दानीबाट वैदेशिक रोजगारीका लागि लिएको ऋण तिर्नुका साथै चार सन्तानलाई स्नातक तहसम्म अध्ययन गराएको उनले जानकारी दिए । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गाउँपालिकाको प्राविधिक सहयोगले व्यवसाय विस्तार गर्न सहज भएको उनको भनाइ छ । पशुमा रोग लाग्ने जोखिम र बाँदरले तरकारीखेतीमा पुर्‍याउने क्षति भने अझै चुनौतीका रूपमा रहेका छन् ।

विदेश जाने सपना अधुरै रहे पनि पौडेलले त्यसलाई निराशाको कारण बन्न दिएनन् । बरु त्यही असफलतालाई अवसरमा रूपान्तरण गर्दै स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सफल भए ।

‘सपना विदेशमै खोज्नुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘मेहनत र धैर्य भए आफ्नै गाउँको गोठबाट पनि सफलता हासिल गर्न सकिन्छ ।’

एकाउन्न वर्षीय पौडेलको कथा सङ्घर्ष, धैर्य र स्वदेशमै सम्भावना खोज्ने प्रेरणादायी उदाहरण बनेको छ । मङ्गला गाउँपालिका–५ गहतेका खिमलाल आचार्य पौडेलको सफलताले अन्यलाई पनि स्वदेशमै काम गर्न प्रेरणा मिलिरहेको बताउँछन् । 

स्थानीय फडिन्द्र शर्मा पनि पनि धैर्यता र लगन भएमा एउटा बाटो रोकिए पनि अन्य थुप्रै अवसर खुल्छ भन्ने उदाहरणका रूपमा पौडेललाई दिने गरिएको बताउँछन्। 
 

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ११ : ३६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद