आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता « Khabarhub

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका बेला देशको लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियारसम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ ।

जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ । साथै, जापानले दशकौँदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रिन नदिने तीन गैर–आणविक सिद्धान्त पालना गर्दै आएको छ । 

तर चीनलगायत पूर्वी एसियाली मुलुकको बढ्दो सैन्य क्षमता तथा जापानको प्रमुख सुरक्षा साझेदार अमेरिकाको विश्वसनीयतामाथि उठिरहेका प्रश्नका कारण उक्त नीति दबाबमा परेको छ ।

प्रधानमन्त्री सानाए ताकाइचीले तीन गैर–आणविक सिद्धान्तप्रतिको सरकारको भावी अडान स्पष्ट पार्न अस्वीकार गरेकी छन् । रक्षामन्त्री शिन्जिरो कोइजुमीले गत महिना आणविक हतियारसम्बन्धी विषयमा कुनै बन्देजबिना छलफल गर्नुपर्ने बताएका थिए ।

गत डिसेम्बरमा सरकारका एक वरिष्ठ अधिकारीले जापानले आणविक हतियार राख्नुपर्ने सङ्केत गरेपछि त्यसको जापानमा व्यापक आलोचना भएको थियो ।

सन् १९४५ को हिरोसिमा आणविक बम आक्रमणबाट बाँचेका ८२ वर्षीय अभियानकर्मी सातोशी तानाकाले जापानको आणविकविरोधी प्रतिबद्धता परिवर्तन हुन सक्ने आशङ्काले आफू चिन्तित रहेको बताए । उनले सैन्य क्षमतामा मात्र ध्यान दिनुको सट्टा कूटनीतिमार्फत शान्ति निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

जापानले बिहीबार हिरोसिमा आणविक बम आक्रमणको ८१ औँ वार्षिकोत्सव मनाएको थियो भने आइतबार नागासाकी आक्रमणको स्मरण गर्दै कार्यक्रम आयोजना गर्दैछ । 

सन् १९४५ को अगस्तमा अमेरिकाले हिरोसिमा र नागासाकीमा गरेको आणविक बम आक्रमणमा विकिरणको प्रभावसहित दुई लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । 

रक्षा नीति विस्तारमा जापान

चीनको बढ्दो सैन्य क्षमतालाई ध्यानमा राख्दै ताकाइची सरकारले राष्ट्रिय रक्षा रणनीतिमा व्यापक परिवर्तन गरिरहेको छ । सरकारले रक्षा बजेट वृद्धि गर्नुका साथै हतियार निर्यातसम्बन्धी प्रतिबन्ध खुकुलो बनाएको र संविधान संशोधनको प्रयाससमेत अघि बढाएको छ ।

यी कदमप्रति चीनले आलोचना गर्दै जापानलाई ‘नयाँ सैन्यवाद’तर्फ अघि बढेको आरोप लगाएको छ । यसैबीच, जापानमा सन् १९४५ को आणविक बम आक्रमणबाट बाँचेकाहरूको सङ्ख्या निरन्तर घटिरहेको छ । 

मार्चसम्म सरकारले हिरोशिमा र नागासाकी आक्रमणबाट बाँचेकाहरूको सङ्ख्या ९१ हजारभन्दा बढी रहेको जनाएको थियो । उनीहरूको औसत उमेर ८६ दशमलव सात वर्ष पुगेको छ ।

गैर–आणविक सिद्धान्तमा पुनर्विचारको बहस

अमेरिकाले सन् १९६७ देखि लागू जापानका तीन गैर–आणविक सिद्धान्तको भविष्यमा चासो देखाउँदै आएको छ ।

ताकाइचीका समर्थकहरूले क्षेत्रीय सुरक्षा र अमेरिकी आणविक निरोध क्षमता सुनिश्चित गर्न जापानमा अमेरिकी आणविक हतियार राख्न अनुमति दिने विषयमा पुनर्विचार गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

जापान इनोभेसन पार्टीका प्रमुख हिरोफुमी योशिमुराले पनि अमेरिका–जापान सुरक्षा गठबन्धनको सन्दर्भमा उक्त सिद्धान्तबारे छलफल आवश्यक रहेको बताएका छन् ।

उनले आणविक हतियारविहीन विश्व निर्माणका लागि काम गर्नुपर्नेमा जोड दिँदै अमेरिकी गठबन्धनअन्तर्गत विस्तारित आणविक निरोध क्षमता कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्न सकिने बताए । 

तर आलोचकहरूले प्रधानमन्त्री ताकाइचीको सैन्य क्षमतामा केन्द्रित सुरक्षा नीतिले जापानको सुरक्षा जोखिम झन् बढाउन सक्ने चेतावनी दिएका छन् ।

हिरोसिमा आक्रमणबाट बाँचेका तानाकाले प्रधानमन्त्री ताकाइचीसँगको भेटमा जापानको आणविक नीतिको भविष्यबारे स्पष्टता मागेका थिए । जवाफमा ताकाइचीले जापान हाल तीन गैर–आणविक सिद्धान्तमा कायम रहेको बताएका थिए ।

तानाकाले प्रधानमन्त्रीको जवाफले वर्तमान अवस्थाबारे मात्र जानकारी दिएको र भविष्यमा जापानको नीति के हुन्छ भन्ने स्पष्ट नगरेको बताउँदै त्यसबाट आफू थप चिन्तित भएको प्रतिक्रिया दिए । रासस
 

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १२ : २४ बजे

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका