देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ « Khabarhub

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई समुदायबीचको साम्प्रदायिक तनावपछि जिल्लामा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानमा राखिएका धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको सबै धर्मका गुरु तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थान र सडकमा राखिएका एकल जातीय, धार्मिक तथा साम्प्रदायिक पहिचान झल्काउने झण्डा हटाउने सहमति गरेको हो।

गत साउन १० गते देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद र झडप हुँदा तीन जनाको ज्यान गएको थियो। घटनापछि जिल्लामा साम्प्रदायिक तनाव र मनमुटाव बढेपछि प्रशासनले धार्मिक अगुवालाई एकै ठाउँमा राखेर सद्भाव कायम गर्ने विषयमा छलफल गरेको हो।

बैठकले सार्वजनिक स्थानमा सर्वसाधारणलाई अवरोध हुने गरी डिजे तथा माइक बजाउन नपाइने निर्णय गरेको छ। धार्मिक स्थल तथा कार्यक्रमहरूमा पनि निर्धारित मापदण्डअनुसार मात्रै ध्वनि प्रयोग गर्नुपर्ने सहमति भएको छ।

प्रशासनका अनुसार स्वीकृति नलिई सार्वजनिक स्थलमा डिजे वा माइक बजाएर सर्वसाधारणलाई बाधा पुर्‍याउन पाइने छैन। धार्मिक स्थल तथा कार्यक्रममा प्रवचन, प्रार्थना, भजन वा गीत बजाउँदा पनि सरकारले तोकेको ध्वनि मापदण्ड पालना गर्नुपर्नेछ।

सहरी आवास क्षेत्रमा दिउँसो ५५ र राति ५० डेसिबल तथा ग्रामीण क्षेत्रमा दिउँसो ४५ र राति ४० डेसिबलभन्दा बढी ध्वनि निकाल्न नपाइने व्यवस्था कार्यान्वयन गर्ने सहमति भएको छ।

त्यस्तै, साउन १० गते कप्तानगञ्जमा भएको घटनापछि सिर्जित साम्प्रदायिक मनमुटाव कम गर्न आ–आफ्ना समुदायका सदस्यलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह गर्ने निर्णय पनि भएको छ।

प्रशासनले यसअघि साउन २० गते सार्वजनिक अपिल जारी गर्दै सार्वजनिक स्थान तथा सडकमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा–ध्वजापताका हटाउन आग्रह गरेको थियो। सोही अपिलअनुसार मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र निजी घरबाहेक सार्वजनिक स्थानमा राखिएका त्यस्ता झण्डा हटाउन सबै पक्षले सहयोग गर्ने सहमति गरेका छन्।

तीन जनाको मृत्यु

कप्तानगञ्जको तनावका क्रममा देवानगञ्ज–४ का ओमप्रकाश मेहताको साउन १० गते नै उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

देवानगञ्ज–३ का ई–रिक्सा चालक जयप्रकाश मेहताको साउन १५ गते विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। त्यस्तै, गोडामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का रविन्द्रकुमार मेहताको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा साउन १९ गते मृत्यु भएको थियो।

डीजे बजाउने विषयमा सुरु भएको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। घटनामा अमित यादवसहित अन्य व्यक्तिसमेत घाइते भएका थिए।

मृतक परिवारलाई १० लाख, एक सदस्यलाई रोजगारी

घटनापछि सरकार र पीडित परिवारबीच मृतकलाई सहिद घोषणा गर्ने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति भइसकेको छ।

कोशी प्रदेश सरकारले पनि मृतकका परिवारलाई थप २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साथै घटनामा घाइते भएका तथा आगजनीबाट प्रभावित परिवारलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरिएको छ।

धार्मिक अगुवाहरूको आइतबारको बैठकले भने राहत र क्षतिपूर्तिभन्दा अघि बढेर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन धार्मिक समुदायबीच आपसी सम्मान, संवाद र सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ।

प्रशासन र धर्मगुरुहरूबीच भएको यो सहमति देवानगञ्ज घटनापछि बढेको साम्प्रदायिक तनावलाई नियन्त्रणमा लिने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ७ : २१ बजे

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४