‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’ « Khabarhub

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट गगन थापालाई पार्टी सभापतिको मान्यता दिने निर्णयविरुद्ध सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा प्राप्त भइसकेकाले आफूहरूलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली कांग्रेस भक्तपुरले बुधबार १३३औँ बीपी जयन्तीका अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशन बोलाउँदा प्रतिनिधिहरूको सनाखत नगरिएको दाबी गरे।

उनले भने, ‘गत २०८२ पुस अन्तिममा भएको दोस्रो विशेष अधिवेशनको कुरा गर्नु जरुरी देखेको छु मैले। कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान छ। तर त्यो विशेष महाधिवेशन पार्टीले बोलाउने हो। सुवर्ण शमशेर पार्टी सभापति हुँदाखेरि पहिलो पटक विशेष महाधिवेशन बोलाइएको हो।’

त्यसबेला बीपी कोइराला पनि पार्टी नेतृत्वमा रहेको उल्लेख गर्दै देउवाले सबै एकजुट र एकमत भएर विशेष महाधिवेशन बोलाइएको बताए। उनका अनुसार त्यतिबेला प्रतिनिधिहरूको पूर्ण सनाखत गरेर मात्रै महाधिवेशनमा सहभागी गराइएको थियो।

तर, पछिल्लो विशेष महाधिवेशनमा आफूले प्रतिनिधिहरूको सनाखत आवश्यक रहेको बताउँदा पनि त्यसको बेवास्ता गरिएको देउवाको आरोप छ।

‘गगन थापाजीले दोस्रो विशेष महाधिवेशन बोलाउनुपर्‍यो भन्नुभयो। मैले विशेष अधिवेशन बोलाउन पाइन्छ, अधिकार छ पार्टीमा, त्यसका लागि को–को भाग लिने हो, उसको सनाखत हुनुपर्‍यो भनेँ। कुन जिल्लाको, कुन क्षेत्रको, कुन गाउँपालिकाको हो, त्यसको नाम सबै चाहियो, सनाखत हुनुपर्‍यो। बिनासनाखत गर्न पाइन्छ ? भनेको थिएँ,’ उनले भने।

देउवाले आफू पार्टी सभापति हुँदाहुँदै आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन बोलाइएको आरोप लगाए।

‘पहिले सनाखत गराउन सनाखत भनेको थिएँ। त्यो प्रतिनिधि सही हो कि होइन ? त्यो पार्टीको सदस्य छ कि छैन ? खल्तीबाट नाम राखेर धमाधम राखिदियो विशेष महाधिवेशन प्रतिनिधि भनेर। त्यसो गरेर विशेष अधिवेशन बोलाए गगनले,’ उनले भने।

विशेष महाधिवेशनविरुद्ध निर्वाचन आयोगमा मुद्दा हालेको र त्यसपछि सर्वोच्च अदालत पुगेको पनि उनले बताए। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले ज्यानको खतरा रहेको भन्दै निर्वाचनसम्बन्धी निर्णय गरेको आफूले सुनेको देउवाको दाबी थियो।

सर्वोच्च अदालतले निर्वाचन भइसकेको भन्दै तत्काल हस्तक्षेप नगरे पनि आफूहरूले पुनरावलोकनका लागि निवेदन दिएको उनले बताए। गगन थापालाई कांग्रेस सभापतिको मान्यता दिने निर्णयविरुद्ध पुनरावलोकनमा जान सर्वोच्चले निस्सा दिएको उल्लेख गर्दै देउवाले यसलाई आफ्नो पक्षको ठूलो सफलता भएको बताए।

‘निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसकेको छ,’ उनले भने।

उनले अहिले पनि पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता आफूहरूले पाउने प्रक्रिया रोक्ने प्रयास भइरहेको आरोप लगाए। तर, आफूहरू कुनै हालतमा पछि नहट्ने उनको भनाइ छ।

‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, यसलाई कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ। तर, हामी कुनै हालतमा मान्दैनौँ,’ देउवाले भने।

देउवाले सर्वोच्च अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको पनि बताए। पञ्चायतकालदेखि नै अदालतले आफूहरूलाई न्याय दिएको स्मरण गर्दै उनले राजा ज्ञानेन्द्र शाहको शासनकालमा समेत सर्वोच्च अदालतले आफूलाई बचाएको दाबी गरे।

‘त्यसकारण सर्वोच्च अदालतप्रति मलाई विश्वास छ। सर्वोच्च अदालतले मलाई न्याय दिन्छ भन्ने विश्वास छ,’ उनले भने।

देउवाले अन्ततः नेपाली कांग्रेसको रुख चिन्ह र चारतारे झण्डा आफूहरूले नै पाउने विश्वास व्यक्त गरे।

‘सर्वोच्च अदालतप्रति मलाई विश्वास छ। यिनीहरूले जतिसुकै धाए पनि सर्वोच्च अदालतको मलाई विश्वास छ। जसरी निष्पक्ष रूपमा हामीलाई निस्सा दिएको छ, त्यस्तै रुख चिन्ह, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौँ भन्ने विश्वास लिएको छु। मलाई विश्वास छ, जतिसुकै जे गरे पनि सर्वोच्चले न्याय दिनेछ,’ उनले भने।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ५ : २१ बजे

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले