काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताएका छन्।
हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उनले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आमनागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेकोबारे जोड दिए ।
हुलाक सेवाको ऐतिहासिक महत्त्वलाई कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भने, ‘हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ । अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ ।’
आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै उनले देशभर फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा यसलाई विकास गर्न सकिने बताए ।














प्रतिक्रिया