काठमाडौँ– सरकारले सिफारिस गरेका दुईवटा अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन् । गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेपछि ती राष्ट्रपति कार्यालय पठाइएको हो ।
सरकारले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश सिफारिस गरेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार दुवै अध्यादेश प्राप्त भइसकेका छन् । हाल ती अध्यादेश अध्ययनको क्रममा रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा पत्रकारिताजन्य गतिविधि सञ्चालन गरिरहेका सामाजिक सञ्जालका पेजलाई समेत पत्रकार आचारसंहिताको दायरामा ल्याउने प्रावधान समेटिएको बताइएको छ ।
संविधानको धारा ११४ अनुसार संसद्को अधिवेशन नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।
जारी भएको अध्यादेश संसद्मा पेस गर्नुपर्ने र संसद्बाट स्वीकृत नभएमा वा प्रतिस्थापन विधेयकमार्फत ऐनमा परिणत नभएमा ६० दिनपछि निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । सरकारले भने अध्यादेश ल्याउनुपर्ने कारण र समेटिएका अन्य विषयबारे औपचारिक जानकारी दिएको छैन ।














प्रतिक्रिया