काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विख्यात अमेरिकी पत्रिका ‘टाइम’ को यो वर्ष (२०२६) का १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। टाइमको ‘जलवायु मुद्दा: विश्वका १०० प्रभावशाली व्यक्तित्व’ शीर्षकमा उनी सूचीकृत भएका हुन्।
विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्येता, नीति निर्माता तथा निर्वाचित राजनीतिज्ञका रूपमा कार्यरत डा. वाग्लेलाई जलवायु न्याय, जलवायु वित्त व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका क्षेत्रमा गरेको योगदानका आधारमा उक्त सूचीमा समावेश गरिएको हो।
विशेष गरी रसुवा-भोटेकोशी बाढीपश्चात् उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको सशक्त पैरवी, जलवायु वित्त का लागि गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे राखेका विचारहरूलाई टाइमले उल्लेखनीय उपलब्धिका रूपमा रेखाङ्कन गरेको छ।
१०३ वर्षको विरासत बोकेको टाइम पत्रिकाको यस सूचीमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डार लेयन लगायतका विश्वविख्यात नेताहरूसँगै अर्थमन्त्री वाग्ले पनि परेका हुन्।














प्रतिक्रिया