काठमाडौं- बङ्गलादेश सरकारले प्राध्यापक मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका पालामा दादुरा खोपको खरिद तथा वितरणमा भएका अनियमितता र व्यवस्थापकीय कमजोरीबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
जारी सूचनाअनुसार सन् १९५६ को जाँचबुझ आयोग ऐनबमोजिम उच्च अदालतका पूर्वन्यायाधीश मामुन रहमानको अध्यक्षतामा उक्त आयोग गठन गरिएको हो। आयोगको सदस्यमा बङ्गलादेश कलेज अफ फिजिसियन्स एन्ड सर्जन्स (बीसीपीएस) का अध्यक्ष प्रा. डा. मौदुद होसेन आलमगीर र स्वास्थ्य सेवा विभागका अतिरिक्त सचिव एएनएम मोइनुल इस्लाम रहेका छन्।
सन् २०२४ अगस्ट ८ देखि २०२६ फेब्रुअरी १७ सम्मको अवधिमा खोप खरिद तथा वितरणमा भएको ढिलासुस्ती, अनियमितता र प्रशासनिक असफलताका कारण जनस्वास्थ्यमा परेको प्रतिकूल असरको जिम्मेवारी पहिचान गरी ६० दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउन आयोगलाई कार्यादेश दिइएको छ। आयोगले भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा अन्य आवश्यक सुझावहरूसमेत पेश गर्नेछ।
छानबिनका क्रममा आयोगले देशको जुनसुकै स्थानको निरीक्षण गर्न र जोसुकै व्यक्तिलाई झिकाएर सोधपुछ गर्न सक्ने अधिकार पाएको छ। आयोगलाई आवश्यक सचिवालय सहयोग, खर्च र जनशक्ति स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने सूचनामा उल्लेख छ।














प्रतिक्रिया