काठमाडौं- हङकङको प्रजातन्त्रवादी आन्दोलनका चर्चित अभियन्ता जोसुवा वोङलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत ‘विदेशी शक्तिसँग साँठगाँठ’ गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।
अदालतले बिहीबार ३० वर्षीय वोङलाई उक्त सजाय सुनाएको हो । राज्यद्रोहको पुरानो मुद्दामा विगत ६ वर्षदेखि जेल जीवन बिताइरहेका उनी आगामी जनवरीमा रिहा हुने तयारीमा थिए । तर, गत सेप्टेम्बरमा आफूविरुद्धको नयाँ अभियोग स्वीकार गरेपछि उनले अब थप एक दशक जेलमै बिताउनुपर्ने भएको छ । न्यायाधीशका अनुसार १० वर्षको सजायमध्ये २ महिना २ दिन हाल चलिरहेकै सजायसँगै गणना हुनेछ ।
सन् २०२० को जुलाईदेखि नोभेम्बरको अन्त्यसम्ममा वोङले निर्वासनमा रहेका अर्का अभियन्ता नाथन ल लगायतसँग मिलेर बेइजिङविरुद्ध विदेशी प्रतिबन्ध र नाकाबन्दी लगाउन लबिङ गरेको अभियोजकहरूको दाबी छ। वोङ र ल विघटित प्रजातन्त्रवादी दल ‘डेमोसिस्टो’ का सह-संस्थापक हुन्।
सन् २०११ मा १४ वर्षकै उमेरमा विद्यार्थी संगठन ‘स्कलरिजम’ स्थापना गरी ‘अम्ब्रेला मुभमेन्ट’ मार्फत चर्चामा आएका वोङ सन् २०२० मा बेइजिङले कडा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि पक्राउ पर्ने सयौँ अभियन्तामध्ये एक हुन्।
फैसलापछि हङकङका प्रमुख कार्यकारी जोन लीले वोङ र ललाई हङकङको समृद्धि र स्थिरता खल्बल्याउने मुख्य दोषीको संज्ञा दिएका छन् भने बेइजिङले राष्ट्रिय सुरक्षा जोगाउने हङकङको कदमको दृढ समर्थन गरेको छ।
तर, बेलायत, अमेरिका र मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले भने यो फैसलालाई राजनीतिक अभिव्यक्ति दबाउने क्रूर र अन्यायपूर्ण कदम भन्दै आलोचना गरेका छन्। यस कानुनअन्तर्गत हालसम्म सबैभन्दा बढी २० वर्षको जेल सजाय पूर्वमिडिया व्यवसायी जिम्मी लाइलाई सुनाइएको छ।














प्रतिक्रिया