कांग्रेसमा मध्यस्थकर्ता नेताको खाँचो भयो : सञ्जीव हुमागाईँ (अन्तर्वार्ता) « Khabarhub

कांग्रेसमा मध्यस्थकर्ता नेताको खाँचो भयो : सञ्जीव हुमागाईँ (अन्तर्वार्ता)

'कांग्रेस विभाजन हुन्छ भनेर व्याख्या गर्नु उचित हुँदैन'



काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्ष, सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले असहमति जनाउँदा जनाउँदै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनको तयारी गरिरहेका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा यही पौष २७ र २८ गते विशेष महाधिवेशनमा हुँदैछ । महाधिवेशनमा सहभागी हुन थुप्रै जिल्लाहरूबाट काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी छ । तर, अहिले पनि संस्थापन पक्षले भने विशेष महाधिवेशन रोक्ने तयारी गरेको देखिन्छ ।

पार्टी विभाजनको भय देखाएर संस्थापनले भेला रोक्ने तयारी गरिरहेका बेला महामन्त्री थापा भने पार्टी विभाजन हुने स्थिति आए विष पिउन तयार रहेको बताइरहेका छन् । अर्का महामन्त्री शर्मा भने विभाजनको अवस्था आए आफू नै सुरुमा हलबाट बाहिरिने उद्घोष गरिरहेका छन् ।

यस्तै तर्कका कारण कांग्रेस विभाजन नहुने अवस्थामा रहेको र विभाजन हुन्छ भनेर प्रचार गरिनु गलत रहेको राजनीतिक विश्लेषक सञ्जीव हुमागाईँ बताउँछन् ।

हुमागाईँ कांग्रेसमा मध्यस्थकर्ता नेताको अभाव खड्केको बताउँदै विशेष महाधिवेशन पक्षधर र महाधिवेशन गर्न नहुने पक्षधरलाई वार्ता गराउनका लागि नेताहरूको खोजी यसबेला भएको बताउँछन् । उनी कांग्रेसका पूर्वपदाधिकारी र नेताहरूले मध्यस्थकर्ताको भूमिका खेल्न नसक्नु आश्चर्यजनक र चिन्ताको विषय रहेको बताउँछन् ।

‘कांग्रेसमा दुई पक्षको क्राइसिस म्यानेजमेन्ट गर्ने नेताको खाँचो भयो,’ उनले भने, ‘संस्थापनले पेलेरै जाने र इतरले शेरबहादुरजी विशेषमा आउनैपर्छ भन्नुभन्दा पनि दुवैले फराकिलो भएर सोच्नुपर्छ ।’

उनी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशनको अडानबाट पछि हट्नु ती हस्ताक्षरकर्तालाई अपमान गर्नु रहेको उल्लेख गर्छन् । यसबारे उनी भन्छन्, ‘५४ प्रतिशतले साइन गरेपछि त अब भइहाल्यो । तपाईँहरुले पहिला साइन गर्नुभयो, पार्टीमा शेरबहादुर देउवाले मिल्दैन भन्नुभयो, कुरो मिलेन, त्यसैले विशेष महाधिवेशन नगरौँ भन्न महामन्त्रीहरूलाई पनि त नैतिक रूपमा मिल्दैन ।’

शेरबहादुर देउवाले नै रोकेको भन्ने विषयमा शङ्का रहेको बताउँदै हुमागाईँ भन्छन्, ‘उहाँले विशेष महाधिवेशन रोक्न चाहनुभएको हो कि अरु नेताले रोक्न चाहेका हुन् त्यो खोजीको विषय छ ।’ उनी पार्टीको राजनीतिक गतिविधिलाई राजनीतिक तरिकाले नै सल्टाउनुपर्ने बताउँदै २७ गतेसम्ममा कांग्रेसका सबै नेताहरू एक भएर अगाडि बढ्ने दाबी गर्छन् ।

हामीले राजनीतिक विश्लेषक हुमगाईसँग कांग्रेस विशेष महाधिवेशनको आवश्यकता, औचित्य र अबको संकटमोचनका विषयमा छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र महाधिवेशन हुनु हुँदैन भन्ने पक्षबीच लडाइँ भइरहेको छ, यसलाई निकास दिन के गर्नुपर्ला ?

हामीले निकास भन्ने भन्दा पनि पार्टीले लोकतान्त्रिक विधिलाई फलो गर्नुपर्छ । राजनीतिमा नेगोसेसन भनेको सधैँ हुने कुरा हो । नेपाली समाजमा अहिले नेगोसेसन हुनुहुँदैन, एक जनाले भन्ने बित्तिकै मान्नुपर्छ, एकैचोटिमा निष्कर्ष निक्लिनुपर्छ भन्ने टाइपको कुरा छ ।

यो चाहिँ लोकतान्त्रिक विधि होइन । लोकतन्त्र सबैभन्दा राम्रो भएको देश अमेरिकामा पनि प्राइमरी इलेक्सन गरेर उम्मेदवारी छनोट गर्ने चलन छ । लोकतन्त्रमा दलभित्र फरक मत हुनु सामान्य कुरा हो ।

धनी देशहरूमा पनि हेर्‍यो भने दलको नेता छान्न तीन चार ठाउँमा सम्भावित प्रेसिडेन्टहरूले पब्लिक डिस्कसनमा पार्टीहरूबारे छलफल हुने कुरा छ । अहिले गुटको बहानामा जसले बढी गुट बनाउँछ उसैले जित्ने भएको कारणले कांग्रेसले अलि बढी झगडा परेजस्तो गरेर अतिरञ्जित भएजस्तो लागेको हो धेरैलाई ।

यसलाई एक हिसाबले स्वभाविक पनि मान्नुपर्छ । लोकतन्त्रमा मेरो पक्षमा बहुमत छ मेरो भनाइलाई बहुमत साथीहरुले मान्छन् भनेर प्रमाणित गर्नुलाई अतिरञ्जित भन्न पनि मिल्दैन । त्यति हुँदाहुँदै पनि कांग्रेसमा मध्यम तहका नेताहरूको भूमिका कमजोर हुनु चाहिँ आश्चर्यजनक छ ।

को नेताहरू भनेर इङ्गित गर्न खोज्नुभएको हो ?

पार्टीमा कि शेरबहादुरजी मेन लिडरको मात्रै कुरा आयो कि गगन–विश्व सेकेन्ड लिडरको कुरा आयो । तर नेपाली कांग्रेसमा त पदाधिकारी भइसक्नुभएका र पूर्वपदाधिकारी नेताहरू पनि हुनुहुन्छ । पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधि, डा. शेखर कोइराला लगायतको ठूलो टिम छ ।

क्राइसिस भएको बेलामा उहाँले त्यो दुई समूहलाई एक ठाउँमा ल्याएर छलफल गराउन सक्नुपर्ने थियो । कांग्रेस पार्टी भनेको एउटै विचारधारा भएको मान्छेहरूको क्लब हो । यी नेताहरूको भूमिका नहुनु भनेको चाहिँ नेपाली राजनीतिमा एकदमै नराम्रो संकेत हो । जो नेताहरू पार्टीमा हुनुहुन्छ उहाँहरु मन मिलेर त्यहाँ बस्या हो । मन मिलेका मान्छेहरू अप्ठ्यारो पर्दा त त्यहीँ बसेर समाधान गर्नुपर्यो नि, खोइ त मध्यस्थकर्ता ?

अहिले कांग्रेसको मिलनविन्दु चाहिँ के हो उसो भए ?

अस्ति कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकमा प्रवक्ता प्रकाश चरण महतले दिएको जानकारी अनुसार नियमित या विशेष भनिएकोमा नियमित महाधिवेशन घोषणा भइसकेपछि विशेषको औचित्य सकियो भन्ने उहाँहरूको राय थियो । गगनजीहरू जसले विशेष महाधिवेशनको वकालत गरिरहनुभएको छ, उहाँहरूको भनाइ चाहिँ विधानले विशेषको बारेमा प्रस्ताव दर्ता गरेको तीन महिनाभित्र गर्न सकिनेछ । विधानमा गर्नुपर्छ भनेर कानुनी किटान गरिएको अवस्था छ । त्यसलाई मान्नु भनेको नेपालको दलसम्बन्धी कानुन, संविधान सबैलाई मान्नुपर्छ भन्ने आधार पनि हो । कानुनी रूपमा उहाँहरुले वकालत गरेको कुरा पनि ठिकै हो ।

तर यो कानुनीभन्दा पनि राजनीतिक कुरा हो । जस्तो, संस्थापनले पनि विशेष महाधिवेशन गर्न सकिँदैन भन्यो भने विशेष महाधिवेशन गर्नुपर्छ भन्ने पक्षका ५४ प्रतिशत नेताहरूलाई ‘तपाईँहरूको धारणाको सम्मान भयो । तर यो यो कारणले विशेष गर्न सम्भव भएन यसको बारेमा छलफल गरौं’ भन्न सक्नुपर्यो । पेलेरै जाने अवस्थामा त निकास आउँदैन । विशेष महाधिवेशन मागेका साथीहरूले पनि ‘हामी विशेष महाधिवेशन माग्छौं शेरबहादुरजी आउनुपर्छ अरु पनि आउँछन्’ भन्नुभन्दा पनि फराकिलो डायलगमा लानु चाहिँ अहिलेको आवश्यकता हो ।

कानुनले के भन्छ भन्दापनि राजनीतिक मुद्दालाई राजनीतिक रुपमै सल्टाएको राम्रो हुन्छ । राजनीतिक रूपमा निकास निस्किनका लागि चाहिँ कहिलेकाहीँ यसको एक्स्ट्रिम भोइसमा सहभागी नभएको तर पार्टीको मेन स्ट्रिममा भएको मान्छेले मध्यमार्गी बाटो निकाल्न मध्यमार्गी वार्ता गर्नुपर्छ । अहिले कांग्रेस एक्सट्रिम देखिन्छ ।

कृष्ण सिटौला लगायतका नेताहरूको भूमिका के भन्ने प्रश्न पनि यहाँ आउला । ‘कहाँ त्यसो गर्न पाइन्छ मी यो यो तरिकाले कांग्रेस अगाडि बढेको हो यसो गर्न पाइँदैन’ भनेर मिलाउने मध्यस्थकर्ता नै छैन। कोही कांग्रेसमा मध्यस्थकर्ता नेता भइदिएको भए निकास चाँडो निस्किने थियो ।

वर्तमान अवस्थाले कांग्रेस नै विभाजन हुने अवस्था छ ?

विभाजन हुने अवस्था छैन । अहिले कांग्रेस विभाजन हुन्छ भनेर व्याख्या गर्नु उचित छैन । एकजना महामन्त्रीले कांग्रेस विभाजन हुने स्थिति आयो भने हलबाट निस्केर भाग्छु भन्नुभएको छ । अर्को महामन्त्रीज्यूले विभाजन हुने अवस्था आए म विष पिउँछु भन्नुभएको छ । त्यसकारण बहुसङ्ख्याक महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा आउँछन् ।  उहाँहरू आइसकेपछि त्यो महाधिवेशन नै संस्थागत हुन्छ भन्ने उहाँहरूको पोलिटिकल एग्रिमेन्ट हो ।

अहिलेको विशेष महाधिवेशन पक्षधरका नेताहरू छुट्टै चुनाव लड्ने होइन उहाँहरुले रुखलाई नै प्रमोट गरेर निर्वाचन लड्ने हो । महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशन गर्न जोड दिइसकेका छन् । महाधिवेशनमा त्योभन्दा धेरै महाधिवेशन सदस्यहरू उपस्थित हुन्छन् र केही प्रतिनिधि नआए पनि सफलतापूर्वक सम्पन्न हुन्छ भन्नुभएको हुनाले मिडियाले फुट्दैछ अथवा फुट्यो भन्नु चाहिँ राजनीतिक प्रक्रियाभित्रको गम्भीर त्रुटि हो ।

नेतृत्व नै एक नभएको विशेष महाधिवेशन कसरी सम्भव होला ?

यसको अन्तर्यमा हेर्ने हो भने अझै धेरै दिन बाँकी छ । रुख चिन्हमार्फत निर्वाचनमा जाँदा शेरबहादुर देउवाजीले अबको महाधिवेशनमा आफू उम्मेदवार हुन्न भनिसकेको अवस्थामा नेतृत्व फेरेर ए, बी, सी, डी जो भएको अवस्थामा पनि त्यसले कांग्रेसलाई माइलेज दिन्छ भन्ने विशेष महाधिवेशन पक्षधरहरूको मुद्दा हो ।

स्थिति फेरियो, पुरानो अनुहारहरूलाई लिएर कांग्रेसले निर्वाचन फेस गर्ने अवस्था छैन । प्रत्यक्षतर्फ र समानुपातिकमा पनि कम सिट आउने भएको हुनाले धेरै सिट ल्याउनका लागि नेतृत्व फेरौँ । किन भन्दा एक हिसाबले महाधिवेशन गर्ने समय पनि भएको र अर्को कुरा अहिलेको सभापतिले पद पनि छोडेको अवस्था छ । उहाँको फेरि उठ्ने रहर पनि छैन र उहाँले उठ्दिन पनि भनिसक्नुभएको छ। त्यसकारण हामीले थोरै मेहनत गर्दा र छिटो गर्दा पार्टीलाई बहुमत ल्याउँदा फाइदा हुन्छ भने किन नगर्ने भन्ने हो ।

तर देउवा नै महाधिवेशन गर्न तयार नहुनुभएको रे ?

त्यो चाहिँ हामी पनि खोजिनीति गरिरहेका छौं । हामीले बाहिर आएका तथ्यहरु हेर्दा सामान्य कुरा नै छ तर उहाँको भित्री मनभित्र पसेर हेर्ने कुरा भएन । म पनि आधारहरू नभएको कारण खोजी नीति गर्दैछु । सायद आफू कमजोर हुन्छु भन्ने हिसाबले नै उहाँले रोक्न खोज्नुभएको होला । अथवा उहाँको बहाना बनाएर त्यसभित्र अरु नेताले पनि खेलेको हुनसक्छ ।

संस्थापन पक्ष कमजोर भएको हो र कांग्रेसमा ?

कांग्रेस संस्थापन पक्ष कमजोर छैन भनेर त उहाँहरूको कार्यसम्पादन समिति बैठकको निर्णय अन्य गतिविधिले नै देखाइहाल्छ । केन्द्रीय समितिलगायतमा पनि संस्थापनकै बहुमत हुँदा पनि उहाँहरु किन यो बाटो रोज्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ आश्चर्य छ ।

बरु संस्थापन इतरमा गगनजी र शेखरजी बीच चाहिँ फाटो आको बेलामा त संस्थापनले त्यहाँबाट पनि फाइदा लिने अवस्था छ । उहाँहरू कमजोरै भएर नगर्न खोजेको चाहिँ मलाई लाग्दैन । तर काङ्ग्रेस चाहिँ पुरानो पार्टी भएको हुनाले निर्वाचन अगाडि चाहिँ जिल्ला जिल्लाको महाधिवेशन भयो भने त्यहाँ प्रतिनिधि सभा निर्वाचनमा नेताहरू हार्न सक्ने वातावरण हुन्छ ।

किन भन्दा महाधिवेशनमा हारेका मान्छेहरू चाहिँ फागुनको चुनावमा कांग्रेसमा अन्तर्घाततिर लाग्न सक्छन् भन्ने हिसाबले रोकेको हुनसक्छ । त्यो अवस्था आउन नदिनका लागि बुझाइले ढिलो गरौं भनेको हुनसक्छ । पार्टीलाई के फाइदा हुन्छ भन्ने बारेमा विशेष महाधिवेशन पक्षधरहरूको नेतृत्व फेरेर नयाँ भन्ने न्यारेटिभ बस्छ भन्ने कुरा हो ।

अहिलेको संस्थापनको चाहिँ होइन जिल्ला जिल्लामा निर्वाचन हुँदाखेरि एउटा टिमले हार्छ हारेको टिमले अर्को आम निर्वाचनमा पार्टी अन्तर्घातमा लाग्छ र त्यसो गर्दा पार्टीलाई झन् घाटा हुन्छ । यो पोलिटिकल इसु भएको हुनाले २७ गते अगावै उहाँहरुले मिलनबिन्दु निकाल्नुहुन्छ भन्ने हामीलाई लागेको छ ।

विशेष महाधिवेशन पक्षधर दुई हामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको भूमिकालाई कसरी हेर्ने ?

महामन्त्रीहरूलाई बाध्यकारी भएको छ । उहाँहरुले नै पहिला ‘कांग्रेसको विशेष या नियमित महाधिवेशन गर्नुपर्छ भदौ २३ गतेपछिको घटनाले विशेष सन्देश दिएको छ’ भनेर बोल्नुभएको हो । गगन–विश्वले नै कठिन मोडमा ‘कांग्रेसले विशेष महाधिवेशन अथवा नियमित महाधिवेशन गरेर जान्छ कार्यकर्ताहरु निराश नहुनुहोला, मन नबिगार्नुहोला’ भनेर मिडियामा विभिन्न वार्ताहरुमा भन्नुभएको हो ।

आम कार्यकर्ता र कांग्रेस गएपछि ल नियमित सकिँदैन भने विशेष महाधिवेशन गरौं भन्ने निर्णय भएको हो । ५४ प्रतिशतले साइन गरेपछि त ‘अब भइगो यार, तपाईहरुले पहिला साइन गर्नुभयो, पार्टीमा शेरबहादुर देउवाले मिल्दैन भन्नुभयो, कुरो मिलेन, विशेष महाधिवेशन नगरौँ’ भन्न त महामन्त्रीहरूलाई पनि नैतिक रूपमा मिल्दैन । यो त नैतिक संकटको विषय पनि त आउँछ नि, पार्टीमा पनि प्रश्न उठ्छ ।

शेखर कोइरालाको भूमिका चाहिँ यहाँ के हुन सक्थ्यो?

शेखर कोइराला अहिले कुनै पनि पदमा हुनुहुन्न र पदीय जिम्मेवारीमा नभइसकेपछि उहाँले यसलाई पोलिटिकल संवादमार्फत दुवै पक्ष बोलाएर निकास निकाल्न सक्नुहुन्थ्यो ।

उहाँले यसलाई राजनीतिक मुद्दा बनाएर अघि बढ्नुभयो तर उहाँ पनि सफल हुने अवस्था त हुँदैन । उहाँ मध्यमार्गी बाटोमा जानुभएको भए अझ सहज हुने थियो ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : ५७ बजे

प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक