काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका भ्रमणको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यममा फैलाइएका अफवाह, अनर्गल आरोपप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विज्ञप्ति सार्वजनिक गर्दै मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका हुन् ।
मन्त्री गुप्ताले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा नक्कली निम्तो, दलबलसहित विदेश यात्रा, राज्यको ढुकुटी तथा जनताको पैसाको दुरुपयोग, मानव तस्करीजस्ता गम्भीर आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् ।
‘राजनीतिमा आएपछि आलोचना सहनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ, त्यसैले केही समय मौन बसेँ,’ मन्त्री गुप्ताले उल्लेख गरेका छन्, ‘अनर्गल आरोप, तथ्य नजाँचीकन तोडमोड गरेर फैलाइने समाचारले समाज र देशको भलो गर्दैन।’
लोकतन्त्र र वाक स्वतन्त्रताको मर्म आलोचनात्मक चेतना र जवाफदेहिताको खोजीमा रहेको भन्दै उनले अपुष्ट, नियतवश फैलाइने आरोपहरू कुरूप र अनैतिक हुने बताएका छन् ।













प्रतिक्रिया