एजेन्सी– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त युरोपेली युद्धक विमान परियोजनामा प्रगति गर्न आग्रह गरिरहेका बेला जर्मनीको सबैभन्दा ठूलो श्रमिक युनियनले स्वदेशमै लडाकू जेट विकास गर्न सरकारलाई आह्वान गरेको छ। यसले समस्याग्रस्त संयुक्त परियोजनामा थप दबाब सिर्जना गरेको छ।
आइजी मेटाल युनियनका उप–प्रमुख जुर्गेन कर्नर र जर्मन एयरोस्पेस इन्डस्ट्रिज एसोसिएसनकी प्रमुख मेरी–क्रिस्टिन भोन हानले फ्रान्सेली विमान निर्माता डसाल्ट एभिएसनले फ्युचर कम्ब्याट एयर सिस्टम (एफसिएएस) परियोजनामा एकतर्फी सर्त थोपर्न खोजेको आरोप लगाउँदै जर्मनीले आफ्नै लडाकू जेट निर्माण गर्नुपर्ने बताएका छन्।
ह्यान्डेल्सब्ल्याट पत्रिकामा प्रकाशित अभिमत लेखमा उनीहरूले एफसिएएस सुरुमा समान साझेदारहरूबीचको संयुक्त परियोजनाका रूपमा योजना गरिएको र लामो समयसम्म त्यसैअनुसार अघि बढेको उल्लेख गरेका छन्। तर हाल परियोजनामा पूर्ण नियन्त्रणको माग उठिरहेको भन्दै त्यसले नकारात्मक परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन्।
उनीहरूले परियोजनाभित्र दुई फरक लडाकू विमान विकास गर्ने प्रतिबद्धताका लागि आह्वान गर्दै यसले साझेदारीलाई थप व्यवहारिक बनाउने तर्क गरेका छन्। सन् २०१७ मा सुरु गरिएको एफसिएएस परियोजनाको उद्देश्य फ्रान्सको ‘राफेल’ जेट तथा जर्मनी र स्पेनले प्रयोग गर्दै आएका ‘युरोफाइटर’ विमानलाई प्रतिस्थापन गर्नु हो। तर डसाल्ट र एयरबसबीच अधिकार र नेतृत्वसम्बन्धी विवादका कारण परियोजना लामो समयदेखि अवरुद्ध छ।
राष्ट्रपति म्याक्रोनले गत नोभेम्बरमा पेरिस र बर्लिनले परियोजनामा परिणाम दिनुपर्ने दायित्व रहेको बताउँदै यसलाई युरोपको विश्वसनीयताको परीक्षा भनेका थिए। यद्यपि जर्मन सरकारका प्रवक्ताले डिसेम्बरमा परियोजनाको गतिरोध तोड्ने प्रयास असफल भएको जानकारी दिएका थिए।
कर्नर र भोन हानले परियोजना असफल भएमा जर्मनी र युरोपको सुरक्षा, सहकार्य, नवप्रवर्तन क्षमता र उद्योगमा उपलब्ध राम्रो तलबका रोजगारी कमजोर पर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार दुई फरक जेट विकास गर्नु एफसिएएस परियोजनाको परिपक्वताको संकेत हुनेछ।
उनीहरूले राजनीतिक प्रतीकवादभन्दा वास्तविक आवश्यकता र सम्भावनाका आधारमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका छन्।













प्रतिक्रिया