काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभालले उनीसँग शिष्टाचार भेट गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
बुधबार राजदूत कोर्टेभालले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको विशेष सन्देश हस्तान्तरण गर्दै शाहलाई सफल कार्यकालको शुभकामना हस्तान्तरण गरेकी हुन्। भेटमा फ्रान्सले नेपालको नयाँ सरकारसँग निकट रहेर काम गर्न र द्विपक्षीय हितका मुद्दाहरूमा सहकार्य बढाउन चाहेको सन्देश प्रवाह गरिएको छ।
नेपालस्थित फ्रान्सेली दूतावासले सामाजिक सञ्जालमार्फत उक्त भेटबारे जानकारी दिँदै भनेको छ, ‘सम्माननीय प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेको अवसरमा उनीसँग भेट गर्न पाउनु हाम्रा लागि सम्मानको विषय हो। हामीले उनलाई राष्ट्रपति इमानुएल म्याक्रोनको सन्देश हस्तान्तरण गरेका छौँ। आगामी दिनमा नेपाल सरकारसँगको सम्बन्धलाई थप सुदृढ बनाउन फ्रान्स उत्सुक छ।’
यो भेटलाई केवल शिष्टाचारमा मात्र सीमित नभई नेपालको फेरिएको राजनीतिक परिदृश्यमा पश्चिमा शक्ति राष्ट्रहरूको चासो र समर्थनका रूपमा हेरिएको छ। विशेषगरी जलवायु परिवर्तन, शहरी विकास र सांस्कृतिक सम्पदा संरक्षणमा फ्रान्सले नेपाललाई निरन्तर सहयोग गर्दै आएको पृष्ठभूमिमा यो भेटले विशेष अर्थ राख्छ।













प्रतिक्रिया