प्रकृति र संस्कृतिको सङ्गम लमजुङको लामागाउँ « Khabarhub

प्रकृति र संस्कृतिको सङ्गम लमजुङको लामागाउँ


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ । परम्परागत रूपमा सजिएका गाउँका प्राचीन मौलिकता झल्काउने घरसँगै सफा चोक तथा बाटाहरू ढुङ्गाले छपक्क छापिएका छन् । पर्यटकीय राजधानी पोखराबाट डुम्रे, मध्यनेपाल, भोर्लेटार, सुन्दरबजार, भोटेओढार हुँदै बेलघारी पुल तरेर लामाबगर र थापाखेत हुँदै यो गाउँ पुग्न सकिन्छ । पोखराबाट सवारीसाधनमा करिब चार घण्टा र बेंसीसहरबाट दुई घण्टामा यहाँ पुगिन्छ ।

बौद्ध धर्मावलम्बीहरूका दुईवटा गुम्बासँगै चारवटा छोर्तेनले यहाँको गरिमा बढाएको म्हाँजा नासो तमु समाजका अध्यक्ष इन्द्रजित गुरुङले बताए । गाउँको प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक एवं धार्मिक महत्त्वलाई पर्यटनसँग जोड्न आफूहरूले पहल थालेको उनले जानकारी दिए ।

गाउँ पर्यटनका माध्यमबाट समृद्धि खोज्नकै लागि यहाँका १२ वटा घरमा घरवास (होमस्टे) समेत सञ्चालन भइरहेका छन् । “हामीले २०७६ सालमा पहिलोपटक सातवटा घरबाट होमस्टे सुरु गरेका हौँ,” अध्यक्ष गुरुङले भने, “हाल १२ वटा घरमा यो सुविधा छ । पर्यटकको आगमन पनि विस्तारै बढ्दै गएको छ ।” होमस्टेमा एकै दिन ६० जनासम्म पर्यटक राख्न सकिने उनले बताए ।

पर्यटकीय रूपमा धेरै सम्भावना भएर पनि ओझेलमा परेको यस गाउँमा पर्यटक भित्र्याउने लक्ष्य राखिएको दोर्दी गाउँपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताए । गाउँमा आइपुग्नका लागि सडक प्रमुख समस्या रहेको बताउँदै उनले लामाबगरदेखि थापाखेत र लक्ष्मी मावि हुँदै लामागाउँसम्मको आठ किलोमिटर सडक तत्काल स्तरोन्नति गर्नुपर्ने औंल्याए । हाडीखोलाबाट लामाबगर हुँदै गाउँपालिकाको कार्यालयसम्म आउने सडक भने कालोपत्रे हुने क्रममा छ ।

यस गाउँलाई अन्नपूर्ण चक्रीय पदमार्गसँगै मनास्लु पदमार्गसँग जोड्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्नकै लागि यस वर्षको ७६ औँ अन्नपूर्ण आरोहण दिवस यही गाउँमा मनाइएको उनले जानकारी दिए ।

विभिन्न कारणले पुराना पदमार्गहरू छोटिँदै र हराउँदै गइरहेको अवस्थामा सरकारले अघि सारेको दोर्दी पदमार्ग उपयुक्त विकल्प हुनसक्ने र यसलाई ‘क्याम्पिङ ट्रेल’का रूपमा विकास गर्न सकिने आचार्यको भनाइ छ । पछिल्लो समय नौथर सेराबाट श्रीमञ्ज्याङ, जोर्ने, इलमपोखरी, लिपेलेक र दाम्राङ हुँदै पुनः नौथर सेरा पुग्ने पाँचदिने पदमार्ग दोर्दी गाउँपालिकाको सहयोगमा टान गण्डकीले प्रवर्द्धन गरिरहेको छ ।

त्यस्तै लिपेलेकबाट दाम्राङ, नोटाचे, उखण्ड, मेमेपोखरी, कोम्रोडाँडा र बाह्रपोखरी हुँदै हिलेटक्सार पुग्ने १० दिने पदमार्ग तथा पिसहिल हुँदै भुलभुले निस्कने आठदिने पदमार्ग पनि पहिचान गरिएको छ । यसैगरी गोरखाको बारपाक–सुलिकोट, अजिरकोट, दूधपोखरी, दोर्दी र ठुलागी हुँदै लमजुङको घेर्मुसम्म जोडिने नयाँ पदमार्ग केन्द्रीय टानको सक्रियतामा पहिचान गरिएको छ ।

(सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लासेनालले विश्वमै आठ हजार मिटरभन्दा अग्ला हिमालमध्येको अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको सम्झनामा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ । अन्नपूर्ण प्रथमको सफल आरोहणपछि मात्रै सगरमाथा आरोहण भएकाले यसलाई हिमाल आरोहणको जेठो हिमालका रूपमा लिइन्छ ।)

प्रचुर पर्यटकीय सम्भावना भएर पनि प्रचारप्रसार नहुँदा लामागाउँ बसाइँसराइको चपेटामा परेको छ । अब पर्यटनकै माध्यमबाट पुनः गाउँ भरिभराउ गराउने स्थानीयको लक्ष्य छ । गाउँको सिरानमा पर्यटकलाई लक्षित गरी भ्यु टावर निर्माण गरिएको मौलिकोट अर्गानिक एग्रो फर्मका व्यवस्थापक रञ्जित चौधरीले बताए ।

यहाँ आउने पर्यटक एग्रो फर्मअन्तर्गत रहेको चियाबारीमा पनि रमाउने गरेका छन् । करिब १४ रोपनी क्षेत्रफलमा सात वर्षयता चियाखेती भइरहेको छ । गाउँ आसपासमा रहेका मौलाकोट, भ्यु टावर, देवीस्थान मन्दिर, स्याङ्गे छ्योलिङ बौद्ध गुम्बा, ‘आई लभ मञ्ज्याङ’ उद्यान, लभ छोर्तेन, पेबोङ छोर्तेन, रि छोर्तेन, फुर्ब सन्दुप ढोनाक छ्योलिङ गुम्बा र भ्याङ्गसुक छोर्तेन आदिले गाउँको धार्मिक एवं सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको वडाध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १० : ५१ बजे

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख