काठमाडौं- नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक यम बराल यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् । केही महिनादेखि लगातार ढाड दुख्ने समस्याले सताएपछि विभिन्न अस्पतालमा जाँच गराउँदा अन्ततः उनलाई मल्टिपल माइलोमा नामक रक्त क्यान्सर भएको पुष्टि भएको हो ।
परिवारका अनुसार वैशाखको अन्तिम सातातिर एक्कासी ढाड दुख्ने समस्या देखिएपछि उनले नर्भिकलगायत विभिन्न अस्पतालमा परीक्षण गराएका थिए ।
स्वास्थ्यमा असहजता हुँदाहुँदै पनि उनी सार्वजनिक कार्यक्रमहरूमा सहभागी भइरहेका थिए । तर पछिल्लो समय दुखाइ बढ्दै गएपछि शिक्षण अस्पताल पुगेका उनलाई चिकित्सकहरूले मल्टिपल माइलोमा भएको पुष्टि गरेका हुन् ।
हाल उनी अस्पतालको गणेशमान सिंह भवनअन्तर्गतको अर्थोपेडिक वार्डमा चिकित्सकहरूको निगरानीमा उपचाररत छन् ।
के हो मल्टिपल माइलोमा ?
मल्टिपल माइलोमा रगतसँग सम्बन्धित एक प्रकारको क्यान्सर हो, जसलाई सामान्य भाषामा ‘ब्लड क्यान्सर’ पनि भनिन्छ ।
वीर अस्पतालका रक्तरोग विशेषज्ञ निरज कुमार सिंहका अनुसार यो रोग हाडभित्र रहेको बोनक्यारोमा पाइने प्लाज्मा सेल नामक सेतो रक्तकोषहरू अनियन्त्रित रूपमा बढेपछि हुन्छ ।
सामान्य अवस्थामा प्लाज्मा सेलहरूले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् । तर यिनै कोषहरू असामान्य रूपमा बढ्न थालेपछि स्वस्थ रक्तकोष उत्पादनमा असर पर्छ । यसले हड्डी, मिर्गौला तथा शरीरका अन्य अंगहरूमा समस्या देखिन थाल्छ ।
ढाड दुखाइलाई सामान्य नठान्न चिकित्सकको सुझाव
पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट अरुण शाहीका अनुसार मल्टिपल माइलोमाको सुरुआती चरणमा खासै लक्षण नदेखिन सक्छ ।
त्यसैले धेरै बिरामीहरू ढाड वा कम्मर दुखाइलाई सामान्य समस्या ठानेर बेवास्ता गर्ने गर्छन् । रोग बढ्दै जाँदा भने विशेषगरी ढाड, कम्मर र छातीका हड्डीमा लगातार दुखाइ हुने, शरीरमा रगतको कमी भएर अत्यधिक थकान महसुस हुने, पटक–पटक संक्रमण बढ्ने तथा मिर्गौलामा समस्या देखिने जस्ता लक्षणहरू देखा पर्न सक्छन् , उनले भने ।
कतिपय बिरामीमा सामान्य चोटपटकबिना नै हड्डी भाँचिने जोखिमसमेत रहने डा. शाहीको भनाइ छ ।
नेपालमै सम्भव छ आधुनिक उपचार
विज्ञहरूका अनुसार मल्टिपल माइलोमा पूर्ण रूपमा निको पार्न कठिन भए पनि आधुनिक उपचार पद्धतिबाट रोगलाई लामो समयसम्म नियन्त्रणमा राख्न सकिन्छ ।
अहिले नेपालमै किमोथेरापी, इम्युनोथेरापी तथा बोन म्यारो ट्रान्सप्लान्टजस्ता अत्याधुनिक उपचार सेवा उपलब्ध छन् ।
विशेषगरी अटोलोगस बोन म्यारो ट्रान्सप्लान्ट (बिरामीकै स्टेम सेल प्रयोग गरेर गरिने प्रत्यारोपण) मल्टिपल माइलोमाका बिरामीका लागि प्रभावकारी उपचार विधिका रूपमा प्रयोग भइरहेको डा. सिंहले बताए ।
उनका अनुसार विगतमा यस्ता उपचारका लागि विदेश जानुपर्ने अवस्था भए पनि अहिले नेपालका प्रमुख अस्पतालहरूले सफलतापूर्वक सेवा दिइरहेका छन् ।
कहाँ हुन्छ उपचार ?
नेपालमा मल्टिपल माइलोमाको उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल तथा सिभिल सर्भिस अस्पताल लगायतका अस्पतालमा उपलब्ध छ ।
यी सबै सरकारी तथा सामुदायिक अस्पतालहरूमा उपचार गराउँदा बिरामीले नेपाल सरकारले क्यान्सरका बिरामीलाई दिने १ लाख रुपैयाँ बराबरको विपन्न नागरिक उपचार सहायता प्राप्त गर्न सक्ने व्यवस्था रहेको विज्ञहरु बताउँछन् ।
अस्पतालमा उपचाररत गायक यम बरालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै चिकित्सकहरूले रोग समयमै पत्ता लागेकाले सही उपचारबाट उनी चाँडै नै निको भएर पुनः सांगीतिक क्षेत्रमा फर्किने विश्वास व्यक्त गरेका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार विशेषगरी ५० वर्षभन्दा माथिका व्यक्तिमा लामो समयसम्म ढाड वा हड्डी दुख्ने, अत्यधिक थकान हुने वा पटक–पटक संक्रमण भइरहने समस्या देखिएमा त्यसलाई सामान्य उमेरजन्य समस्या ठानेर बस्नुभन्दा समयमै परीक्षण गराउनु आवश्यक छ ।
प्रारम्भिक पहिचानले उपचारलाई प्रभावकारी बनाउन मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ ।












प्रतिक्रिया