विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै « Khabarhub

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु हुँदैछ । पहिलो क्वार्टरफाइनल खेलमा उपाधिको प्रमुख दावेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को बोस्टन रंगशालामा आमनेसामने हुँदैछन् । यस प्रतियोगितामा फ्रान्स अहिलेसम्मकै सबैभन्दा सन्तुलित टोलीको रूपमा देखिएको छ । अहिलेसम्मका पाँचै खेलमा जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको फ्रान्सले विपक्षी विरुद्ध १४ गोल गरिसकेको छ भने मात्र २ गोल ब्यहोरेको छ।

जारी विश्वकपमा गोल्डेन बुटका दावेदार केलियन एम्बाप्पेले ५ खेलमा ७ गोल गर्दै टोलीलाई नेतृत्व गरिरहेका छन् । एम्बाप्पेसँगै ओस्मान डेम्बेले, माइकल ओलिसे र ब्राडली बारकोला जस्ता खेलाडीको साथ पाएको फ्रान्सेली टोलीको अग्रपंक्ति यस प्रतियोगिताकै सबैभन्दा घातक मानिएको छ । फ्रान्सले समूह ‘आई’ मा नर्वे, सेनेगल र इराकलाई हराउँदै ९ अंकका साथ शीर्ष स्थान हासिल गरेको थियो ।

त्यसपछि नकआउट चरण अन्तर्गत अन्तिम ३२ मा स्विडेनलाई ३-० ले सहजै पाखा लगाएको फ्रान्सले अन्तिम १६ को खेलमा पराग्वेलाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पराग्वे विरुद्धको खेल कठिन भए पनि टोलीले संयमता र परिपक्वता देखाउँदै जित निकालेको फ्रान्सका सहायक प्रशिक्षक गुई स्टेफानले बताएका छन् । उनले मोरक्को एक सुव्यवस्थित, संरचित र काउन्टर अट्याकमा उत्कृष्ट टोली भएकोले आजको खेल निकै चुनौतीपूर्ण हुने स्वीकार गरेका छन् । तेस्रो पटक विश्वकप उपाधि जित्ने दाउमा रहेको फ्रान्सका लागि आजको खेल सहज भने हुनेछैन ।

यता, चार वर्षअघि कतार विश्वकपमा स्पेन र पोर्चुगल जस्ता हेभीवेट टोलीलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी र अरब राष्ट्र बनेको मोरक्को अब केवल ‘अन्डरडग’ मात्र होइन । मोरक्को विश्व फुटबलकै बलियो सम्भावना बोकेको टिमका रुपमा उदाइरहेको छ । सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकोन) विजेता मोरक्को हाल लगातार ३४ खेलमा अपराजित रहँदै फिफा वरीयताको छैटौँ स्थानमा छ ।

मोरक्कोका प्रशिक्षक मोहम्मद ओवाबीले आफ्नो टोली अब कसैका लागि सरप्राइज नभएको र यो यात्राको सुरुवात मात्र भएको बताएका छन् । जारी विश्वकपमा स्कटल्याण्ड र हाइटीलाई हराउँदै तथा ब्राजिलसँग बराबरी खेल्दै मोरक्को ७ अंकका साथ को समूह ‘सी’ मा दोस्रो भएको थियो । नकआउट चरणको अन्तिम ३२ मा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३-२ ले स्तब्ध पारेको मोरक्कोले अन्तिम १६ मा क्यानाडालाई ३-० को सहज नतिजाले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। मोरक्कोका लागि विङ्गर ब्राहिम डियाजले ४ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने सुफियान राहिमी र अजेदिन उनाहीले दुई-दुई गोल गरेका छन् ।

ऐतिहासिक रूपमा यी दुई टोली हालसम्म ६ पटक आमनेसामने भएका छन्, जसमा फ्रान्सले ४ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन् । यी दुई टोलीबीचको पछिल्लो भेट सन् २०२२ को कतार विश्वकपको सेमिफाइनलमा भएको थियो, जहाँ मोरक्को फ्रान्ससँग २-० ले पराजित भएको थियो । आज राति हुने खेलमा मोरक्को सोही पराजयको बदला लिँदै लगातार दोस्रो पटक सेमिफाइनल पुग्ने दाउमा हुनेछ भने फ्रान्स आफ्नो अपराजित यात्रा कायमै राख्दै उपाधि नजिक पुग्न मैदान उत्रनेछ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ८ : १६ बजे

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन