काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आइतबार राति बालुवाटार पुगे । प्रधानमन्त्री बालेनसँग रविले विभिन्न विषयमा छलफल गरेपनि सहमति भने जुट्न सकेन । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको काम सकिएपछि रवि र बालेनबीच भेटवार्ता भएको रविको सचिवालय बताउँछ ।
बालुवाटार स्रोतले दिएको जानकारी अनुसार दुई नेताहरूबीच पार्टीका पदाधिकारी सचिवालय र केन्द्रीय सदस्य टुंग्याउने विषय, अन्तर्राष्ट्रिय सम्बन्ध, राजदूत नियुक्ति, उच्च तहका कर्मचारी नियुक्ति र मन्त्रिपरिषद् सदस्यका विषयमा छलफल भएको थियो । तर, नियुक्ति र पदाधिकारीसहित सचिवालय टुङ्ग्याउने विषयमा सहमति जुटिसकेको छैन ।
‘सबै विषयहरूमा छलफल भएको छ सहमति जुटेको छैन। छलफलहरू अगाडि बढाउँदै जाने कुरा भएको छ ।’ रवि निकट एक नेताले भने, ‘दुई नेताको भेटवार्ता राजनीतिक र पार्टीका विभिन्न आयामहरूको विषयमा छलफल गर्न भएको हो ।’ पार्टीका वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच बालुवाटारमा यो दोस्रो भेट हो ।
शुक्रबार राति ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो पटक होइन’ भनेर स्टाटस लेखेका प्रधानमन्त्री बालेनलाई आइतबार रविले निवासमै पुगेर भेटेको घटनाक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ । शुक्रबार बेलुका एक्लै लड्ने स्टाटस लेखेका प्रधानमन्त्रीले शनिबार बिहान भने राष्ट्रिय उद्योग र संस्थानमा सुधार आएको दाबी गर्दै अर्को स्टाटस लेखेका थिए । रविले शनिबार नै प्रधानमन्त्रीलाई भेट्न खोजेका थिए । शनिबार रविले राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु बीचको सम्बन्धमा कुनै किसिमको दरार नआएको दाबी गरेका थिए ।
पछिल्लो समय पार्टी सभापति रविसँगको सम्बन्धमा खटपट भएपछि प्रधानमन्त्री बालेनले शुक्रबार अबेर फेसबुकमा त्यस्तो स्टाटस लेखेको हुन सक्ने बताइन्छ । तर दुबै नेताको सचिवालयले यस्तो हल्लाको खण्डन गरेको छ । तर, बालेनको कोर टिमका नेताले दिएको जानकारी अनुसार रविले आफू पक्षका केही नेताहरूलाई बालेनको विरोधमा खटाएको सूचना पुगेको छ । यही कुराको पुष्टि शुक्रबार प्रतिनिधिसभामा नेताहरूले दिएको अभिव्यक्तिलाई मान्न सकिने ती नेताको आरोप छ ।
सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने विषयमा जुटेन सहमति
भेटवार्ताका क्रममा पार्टीमा केन्द्रीय सदस्य, सचिवालय र पदाधिकारी टुंग्याउने विषयमा समेत दुई नेताहरूबीच छलफल भएको थियो । छलफलमा रविले बालेनलाई मनोनयन गर्नुपर्ने नेताहरुको नाम बुझाउन आग्रह गरेका थिए । बालेनले ३० जना जति केन्द्रीय सदस्य समेट्न आग्रह गर्दै पहिले नै पठाएको सूची सम्झाएका थिए । बालेनले तयारी नभएको भन्दै फाइनल लिस्ट भने बुझाएनन् ।
रास्वपाले गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गरेको थियो । महाधिवेशनमा पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुंग्याउने जिम्मा विधानले पार्टी सभापति रवि लामिछानेलाई दिएको छ । प्रधानमन्त्री शाह पक्ष र रवि लामिछाने पक्षबीच सहमति नजुट्दा महाधिवेशन सम्पन्न भएको ४३ दिन कटिसक्दा पनि उनले उनीहरुको नाम टुंग्याउन सकेका छैनन् ।
पार्टी विधानले सभापतिले ५१ केन्द्रीय सदस्य, ११ जना पार्टी पदाधिकारी र १८ भन्दा बढी सचिवालय सदस्य टुंग्याउने जिम्मेवारी दिएको छ । असारको अन्तिमसम्ममा बाँकी कुराहरु टुंग्याउँदै जाने भनिए पनि हालसम्म फाइनल हुन सकेको छैन । साउन १३ गते बसेको केन्द्रीय कमिटी बैठकबाट प्रधानमन्त्री शाह वरिष्ठ नेतामा मनोनित भएपनि अरु नाम टुंग्याउन बाँकी रहेको छ ।
‘१३ गते प्रधानमन्त्री वरिष्ठ नेतामा मनोनित हुँदा एक सातापछि पुनः केन्द्रीय कमिटी बैठक बस्ने र पार्टीलाई अत्यावश्यक पद टुंग्याउने कुराकानी भएको थियो । तर अहिलेसम्म टुंगिन सकेन आजभोलि नै टुंगिने जानकारी समेत आएको छैन । हिजो दुई नेताहरुबीच यसबारे पनि छलफल भएको थियो । तर, निष्कर्ष निस्किएको बुझेको छैन ।’ पार्टीका एक नेताले भने, ‘प्रवक्ता, कोषाध्यक्ष लगायत धेरै पदहरू अत्यावश्यक छन् । तर नेताहरूले त्यतातिर ध्यान दिनुभएको छैन ।’
कतिपय नेताहरु भने महाधिवेशन सकिएको दुई चार दिनदेखि नै सभापति रविले पदाधिकारी केन्द्रीय सदस्य र सचिवालय सदस्यको नाम टुंग्याउन छलफल गरिरहेको दाबी गर्छन् । १३ गते प्रधानमन्त्री वरिष्ठ नेतामा मनोनित हुँदा सभापति रविले नेताहरूलाई सचिवालय केन्द्रीय कमिटी र पदाधिकारी आफूले टुंग्याउँदै जाने भएकाले अनावश्यक हल्ला नगर्न आग्रह गरेका थिए । उनले अर्को एक सातापछि केन्द्रीय कमिटी बैठक राख्ने दाबी समेत गरे । तर १० दिन बितिसक्दा पनि उनले केन्द्रीय कमिटी बैठक राख्न सकेका छैनन् ।

यसबारे प्रश्न गर्दा पार्टी महामन्त्री विपिनकुमार आचार्य नेताहरु पछिल्लो समय विभिन्न जिल्लामा देखिएको घटना र पार्टीको क्यान्डिडेट क्लबको काममा व्यस्त भएकाले टुंगिन नसकेको जानकारी दिन्छन् । प्रधानमन्त्री पनि सरकारको काममा अघि बढेकाले दुई नेताहरूबीच लामो समय कुराकानी हुन नसकेको उनको भनाइ छ ।
नेताहरूले यसो भनेपनि प्रधानमन्त्री बालेन्द्रले आफू पक्षका नेताहरू धेरै समेटिनुपर्ने माग राखेका छन् । बालेन पक्षले उपसभापतिसहित महामन्त्री र सहममन्त्रीमा पनि आफ्ना नेताहरू राख्नुपर्ने अडान राखिरहेको बुझिन्छ । महाधिवेशनमा एक उपसभापति, एक महामन्त्री र एक सहप्रवक्तालगायत पाउने भनिए पनि अहिले बालेन पक्षले सहममन्त्री पनि मागेको बताइन्छ । यद्यपि बालेन पक्षले उपसभापति, महामन्त्री लगायतमा पठाउने व्यक्तिहरूको नाम पनि टुंगो लगाएको छैन ।
‘उताबाट नाम नआएपछि रोकिएको बुझेका छौँ । प्रधानमन्त्रीज्यूले पनि आफ्नो पक्षबाट लाने नेताहरूको नाम फाइनल गरिसक्नुभएको छैन क्यारे ।’ पार्टीको शीर्ष स्रोतले भन्यो, ‘सभापतिज्यूले पदाधिकारी, केन्द्रीय सदस्य र सचिवालय एकैचोटी टुंग्याउँ भनेर रोक्नुभएको हो ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य र पदाधिकारीमा हारेका नेताहरुलाई पनि समेट्ने प्रयत्न गरेको छ। अहिले पदाधिकारी र सचिवालयमा आउने नेताहरू केन्द्रीय सदस्य जितेका बाहेक पनि हुने भएकाले रविले पहिला केन्द्रीय सदस्य टुंग्याउँदै सचिवालय र पदाधिकारी मनोनित गर्दै जानेछन् ।
‘सभापतिज्यूले आफ्नो ढङ्गले काम गरिरहनुभएको होला क्यान्डिडेट क्लब लगायतको कामले गर्दा हामी त्यसबारे चासो राख्न पाएका छैनौँ । महामन्त्रीज्यूलाई त नेताहरुले भेटेर चाँडो गर्नुपर्यो भन्ने सुझाव दिइरहनु भएको छ रे ।’ पार्टी सहमहामन्त्री निशा डाँगी भन्छिन्, ‘सभापतिज्यूले चाँडै टुंग्याउनुहोला । सहमतिको महाधिवेशन र एकताको सन्देश दिने किसिमको हुनुपर्ने भएकाले गृहकार्य गरिरहनुभएको बुझेका छौँ ।’
पार्टी सभापति लामिछानेले सहमति र एकताको महाधिवेशन बनाउनका लागि समावेशिता र प्रतिनिधिमूलक टिम निर्माण गर्न लागेको नेताहरु बताउँछन् । पार्टी पदाधिकारी सहममन्त्री कोषाध्यक्ष लगायतमा रविले आफ्ना निकट नेताहरूलाई ठाउँ दिनेछन् । रविले बालेनलाई लिस्ट पठाउन भनेपछि छलफल र सल्लाह गरेर पठाउने जानकारी दिएका छन् ।
रविसँगको भेटपछि कालो चस्मा खोलियो…
स्रोतले दिएको जानकारी अनुसार दुई नेताहरूबीच शिष्टाचार र शैलीको विषयमा पनि कुराकानी भएको बुझिन्छ । सदनमा आफ्नै पक्षका सांसद र विपक्षीले समेत आलोचना गरेपछि रविले प्रधानमन्त्रीलाई थप जिम्मेवार हुन र परिपक्व बन्न आग्रह गरेको स्रोतको दाबी छ ।
‘मर्यादाको पनि ख्याल गर्नुपर्ने जस्तो बुझिन्छ चौतर्फी रूपमा प्रहार भइरहेको छ हामीले गरेको सानो गल्तीलाई पनि कोट्याई कोट्याई प्रहार गरिन्छ ।’ रविले भनेको दाबी गर्दै स्रोतले जानकारी दियो, ‘नेपाली जनता र राष्ट्रले हामीलाई राम्रो भन्छन् भने सुधार गर्नुपर्ला ।’
उसो त शुक्रबार प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, रमेश प्रसाईँ, रिमा विश्वकर्मा, ‘टीका’ ज्वाला संग्रौला, पारसमणि गोलाल र बदन भण्डारीले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ग्यास अभाव, कृत्रिम संकट, सुशासन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । मनिषले त प्रधानमन्त्री बालेनलाई गाडीको कालो सिसा हटायौँ, अब कालो चस्मा पनि हटाउनु पर्छ भन्दै व्यङ्ग्या गरे ।
रवि लामिछानेले कतिपय नेताहरूलाई उक्साएर प्रधानमन्त्रीमाथि आक्षेप लगाउने गरेको बालेन पक्षको आशङ्का छ । पार्टीभित्र पनि बालेन र रवि पक्षबीच ठ्याकठुक परेको गाईँगुईँ चलेपछि दुई नेताहरूले भेट गरेका थिए । प्रधानमन्त्री वालेन्द्र शाह असार २८ गते रवि लामिछानेलाई भेट्न रविनिवास बुढानीलकण्ठ नै पुगेका थिए । त्यस भेटमा पनि दुई नेताहरुबीच पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुंग्याउने विषयमा छलफल चलेको थियो । तर त्यसबेला पनि सहमति जुटेन । त्यसपछि औपचारिक रुपमा उनीहरूबीच आइतबार बल्ल भेटवार्ता भएको हो ।
राजदूत नियुक्ति र उच्च पदस्थमा पनि भागबण्डाको हल्ला
राजदूत र उच्च पदस्थ कर्मचारी नियुक्तिमा पनि बालेन र रवि पक्षबीच भागबण्डा हुने दाबी गरिएको छ । यसबारे रवि र बालनबीच प्रारम्भिक रूपमै छलफल चलेको भएपनि कुनै सहमति भने जुटेको छैन । को-को व्यक्तिलाई राजदूत बनाउने र कुन व्यक्तिलाई नियुक्ति दिने भन्ने विषयमा दुई नेताहरुबीच छलफल मात्रै भएको र आवेदनहरूलाई प्रक्रियामा अगाडि बढाउने निष्कर्ष निक्लिएको छ ।

‘आएका आवेदनहरूलाई प्रक्रियामा अगाडि बढाउने हो । यसबारे कुनै पनि भागबण्डा हुँदैन ।’ बालेनको सचिवालयका एक सदस्यले भने, ‘दुई नेताहरूबीच कसरी काम गर्ने भन्ने विषयमा छलफल होला तर यो व्यक्तिलाई यहाँ पठाउँ भनेर कसरी भागबण्डा हुनु र ? हामीले प्रक्रिया अगाडि बढाएका छौँ आएका आवेदनहरुलाई हेर्ने काम गरिन्छ ।’
यसको जलन्त उदाहरण सिद्धिलक्ष्मी व्यञ्जनकार नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति सदस्य छिन । उनी प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) की दिदी हुन । सिद्धि व्यञ्जनकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको प्रमुख सल्लाहकार छन् । उनी पनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनका भाइ हुन ।
आस्था भट्ट राष्ट्रिय वाणिज्य बैंक सञ्चालक हुन् । उनी अर्थमन्त्री स्वर्णिम वाग्ले ‘एमेरिटस चेयर’ रहेको संस्था आईआईडीएसमा कार्यरत छिन् । सन्तोषकुमार थापा नेपाल स्काउट प्रमुख आयुक्त छन् । उनले प्रधानमन्त्री शाह काठमाडौं महानगरको मेयर छँदा उनको टोलीमा काम गरेका थिए । यस्ता उदाहरणहरू धेरै रहेकाले महत्वपूर्ण निकायमा नियुक्ति र राजदूतको विषयमा पनि राजनीतिक गन्ध आउने चर्चा गरिन्छ ।
प्रधानमन्त्रीको भारत भ्रमण र रविको चीन भ्रमणबारे छलफल
दुई नेताबीच प्रधानमन्त्रीको भारत भ्रमणबारे सामान्य छलफल भएको छ । तर मितिको विषय पनि टुंगिएको छैन । उसो त छलफलपछि आजबाट प्रधानमन्त्री बालेन्द्रले भारत चीनका राजदूतसँग भेटवार्ता गरेका छन् । उनले बुधबार अमेरिकाका कार्यवाहक राजदूतसँग पनि भेट्ने कार्यक्रम छ । यस्तै, भदौको दोस्रो सातासम्म पार्टी सभापति लामिछानेले चीन भ्रमण गर्न लागेको विषयमा पनि दुई नेताहरूबीच छलफल भएको थियो । रवि भदौको दोस्रो सातासम्ममा चीन भ्रमण निस्किसक्ने परराष्ट्र स्रोत बताउँछ ।
मन्त्रीहरूको भूमिकाबारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ । मन्त्रीहरूको भूमिका पारदर्शी र जनअपेक्षाकृत हुनुपर्ने विषयमा दुई नेताहरूबीच छलफल भएको थियो । बजारमा देखिएको ग्यासको कृत्रिम अभावमा मन्त्रीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा पनि कुराकानी भएको थियो ।












प्रतिक्रिया