बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ठूलो भौतिक क्षति भएको छ।
भूकम्पबाट कोलम्बियाको पेरेइरा सहर सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गर्दै काराकोल रेडियोले पेरेइरामा मात्रै कम्तीमा १८ जनाको मृत्यु भएको जनाएको छ। उनले सहरको अवस्था ‘गम्भीर’ रहेको बताए।
अमेरिकी भूगर्भशास्त्रीहरूका अनुसार भूकम्प ७।४ म्याग्निच्युडको थियो। यसको केन्द्रबिन्दु कोलम्बियाको पश्चिमी क्षेत्रमा जमिनको सतहबाट करिब १०० किलोमिटर गहिराइमा रहेको उनीहरूले जनाएका छन्।
भूकम्पलगत्तै उद्धार तथा सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन्। भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारका साथै घाइतेलाई उपचारका लागि अस्पताल पुर्याउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।
भूकम्पको धक्का कोलम्बियासहित इक्वेडर, पानामा र भेनेजुएलासम्म महसुस गरिएको थियो। भूकम्पका कारण कोलम्बियाको पश्चिमी क्षेत्रमा रहेका केही भवनमा ठूलो क्षति पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि अधिकारीहरूले सुनामीको जोखिम नरहेको बताएका छन्।
चोको प्रान्तका गभर्नरले सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रान्तीय राजधानी किब्दोमा गम्भीर क्षति पुगेको बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा किब्दोका केही भवनहरू भत्किएको देखिएको उनले जनाएका छन्।
भूकम्पको केन्द्रबिन्दु चोकोमै रहे पनि त्यहाँ भएको मानवीय क्षतिको यकिन विवरण तत्काल सार्वजनिक नभएको अधिकारीहरूले बताएका छन्।
कोलम्बियाको तेस्रो ठूलो सहर कालीका नगरप्रमुख एलेहान्द्रो एडरले सहरमा कम्तीमा २० वटा भवन भत्किएको र केही मानिस भग्नावशेषमा फसेको जानकारी दिएका छन्। उनले भूकम्पबाट ठूलो क्षति भएको बताए। क्षतिको विवरण संकलन गर्न ड्रोनको प्रयोग भइरहेको उनले जनाए।
मानिजालेसलगायत अन्य सहरमा समेत भवनहरू क्षतिग्रस्त भएका तस्बिर तथा भिडियो स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।
कफी उत्पादनका लागि प्रसिद्ध एजे क्याफेटेरो क्षेत्रकी ६६ वर्षीया मार्था एस्ट्राडाले भूकम्प अत्यन्त शक्तिशाली भएको बताइन्। उनका अनुसार भूकम्पका बेला घरभित्र रहेका सामानहरू भुइँमा खसेका थिए भने कतिपय क्षेत्रमा विद्युत् र मोबाइल नेटवर्कसमेत अवरुद्ध भएको थियो।
त्यस्तै, राजधानी बोगोटाकी २९ वर्षीया कन्टेन्ट क्रिएटर भलेरिया पोलोले पनि भूकम्प निकै शक्तिशाली रहेको बताइन्।
भूकम्पपछि पश्चिमी कोलम्बियाका छ वटा साना विमानस्थलको सञ्चालन अस्थायी रूपमा रोकिएको नागरिक उड्डयन निकायले जनाएको छ।
बोगोटाका नगरप्रमुख कार्लोस गालानले राजधानीमा केही घर तथा भवनका बाहिरी भागमा क्षति पुगे पनि प्रारम्भिक रूपमा क्षतिको अवस्था सीमित देखिएको बताए। उनले प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाए।
राष्ट्रपति आबेलार्दो दे ला एस्प्रिएल्लाले भूकम्प प्रभावित क्षेत्रको तत्काल भ्रमण गर्ने घोषणा गरेका छन्। राजधानी बोगोटामा आपत्कालीन साइरन बज्दा त्रसित बनेका मानिसहरू घरबाट बाहिर निस्किएका थिए।
यसैबीच, भेनेजुएलामा गत जुन २४ मा गएको ७।२ र ७।५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पमा ठूलो जनधनको क्षति भएको थियो। उक्त घटनामा हजारौँ मानिस प्रभावित भएको र व्यापक भौतिक क्षति पुगेको बताइएको छ।












प्रतिक्रिया