बागमती– हेटौँडा नगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य हो ।
औद्यागिक शहर हेटौँडाबाट करिब डेढ किलोमिटर उत्तरपूर्वमा अवस्थित यो मन्दिर पहाडको फेदी र हराभरा बनजङ्गलको बीचमा रहेको छ ।
पछिल्ला समयमा यो मन्दिर क्षेत्र बनभोजका साथै विभिन्न सार्वजनिक कार्यक्रम गर्ने स्थल बनेको छ नै युवायुवतीको टिकटक बनाउने गन्तव्य पनि बनेको छ ।
मन्दिरमा विशेषतः सार्वजनिक विदा, बिहान तथा साँझको समयका साथै महत्त्वपूर्ण तिथिमिति र पर्वमा दर्शनार्थीको आगमन हुने गरेको मन्दिरका पूजारी विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।
मन्दिर परिसरमा लेखिएको ठूलो ओमकार (ॐ) अक्षर, विन्ध्यवासिनी मन्दिर, शिवालय, भीमसेन मन्दिर, साइबाबा मन्दिर, हनुमान मन्दिर, भैरव मन्दिर, तिलेश्वर महादेव मन्दिर, राधाकृष्ण मन्दिर आदि रहेका छन् ।
वनस्खण्डी सामुदायिक वन अन्तर्गतको क्षेत्रमा रहेको वनस्खण्डी मन्दिरसहित अन्य मन्दिर करिब चार विघा क्षेत्रमा समेटिएको वनस्खण्डी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भवसागर श्रेष्ठले जानकारी दिए ।
वन क्षेत्रभित्र गुम्बा, माता मन्दिर, जलेश्वर महादेव, ल क्याम्पस, नेवा सङ्ग्रहालय आदि रहेका छन् । वनस्खण्डी सामुदायिक बन करिब १०० हेक्टर क्षेत्रफलमा समेटिएको उनले जानकारी दिए ।
यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै हेटौँडाको पुग्नै पर्ने स्थलका रूपमा अघि बढाउने लक्ष्य राखिएको उनले बताए ।
पछिल्ला समयमा यहाँ निर्मित विभिन्न पूर्वाधारका कारण पनि यो क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको हो । मनले चिताएको पुग्ने विश्वासका कारण हेटौँडा र आसपासका क्षेत्रबाट यहाँ दर्शनार्थी आउने गरेका छन् ।
वनभोजसँगै विवाह, व्रतबन्धका लागि पनि रोजाइको ठाउँ
वनस्खण्डी मन्दिर क्षेत्र वनभोजका साथै विवाह र व्रतबन्ध एवम् अन्य विभिन्न कार्यका लागि आकर्षक गन्तव्य बनेको बन समूहका सदस्य राजनप्रसाद पौडेलले जानकारी दिए ।
सबैको एकतावद्ध प्रयासमा यस क्षेत्रको विकास गर्दै जानु अपरिहार्य भएको उनको भनाइ छ । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न धार्मिक पर्यटकीय स्थलमध्ये वनस्खण्डी मन्दिर पनि एक भएको उल्लेख गरेको छ ।
इतिहासअनुसार नेपाल एकीकरणका क्रममा राजा पृथ्वीनारायण शाहका गोरखाली सैनिकबाट विसं १८१९ भदौ ९ गते मकवानपुरका राजा (पृथ्वीनारायण शाहका जेठान) दिग्बन्धन सेन पराजित भएपछि बङ्गालका मिर कासिमसँग सहयोग लिई पुनः युद्ध लड्दा पनि विसं १८१९ माघ १० गते पृथ्वीनारायण शाहकै विजय भयो ।
एक किंवदन्तीका अनुसार राज्य सुरक्षाका लागि यस क्षेत्रको जङ्गलमा जोगीलाई गुप्तचर बनाएर राखिएकोमा ‘वनस्खण्डी’ नामका एक जोगीले ढुङ्गालाई देवी मानेर पूजा गर्ने गरेको र सो पूजा गर्ने ठाउँ खण्ड–खण्ड परेको वन क्षेत्रमा भएकाले यसको नाम वनस्खण्डी हुन गएको उल्लेख छ ।
विशेष गरी दसैँको समयमा यहाँ भित्राइने फूलपाति महत्त्वपूर्ण आकर्षण बनेको वनस्खण्डी मन्दिर पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।
उक्त दिन गोरेक्षश्वर धाम मन्दिरबाट निस्कने धार्मिक शोभायात्रामार्फत वनस्खण्डीमा ल्याएर फूलपाती भित्राइने प्रचलन रहेको उनले जानकारी दिए ।
‘मन्दिरमा करिब २० वर्ष यता फूलपाति भित्राउने गरिएकोमा १० वर्ष यता नेपाली सेना तथा सरकारी निकायका प्रतिनिधिसहित धुमधामका साथ फूलपाति भित्राउने गरिएको छ,’ उनले भने ।
हेटौँडाको व्यस्त बजारबाट नजिकै रहेको यो स्थानलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले मन्दिर परिसरलाई थप व्यवस्थित गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिएमा यसले आसपासका क्षेत्रको विकासमा पनि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताए ।
मन्दिरमा धार्मिक पर्यटकसँगै दर्शनार्थीको आगमन बढाउन सकेमा त्यसले यस आसपासमा बसोबास गर्नेका लागि पूजाआजाका लागि आवश्यक हुने टिका प्रसादको व्यापारसँगै चिया, खाजा आदिको व्यापार विस्तार हुने अपेक्षा गरिएको स्थानीयवासी बताउँछन् । रासस












प्रतिक्रिया