अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ? « Khabarhub

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएको छ। घटनासँग सम्बन्धित सीसीटीभी भिडियो बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि घटना बाहिर आएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोले सरकारमाथि पनि प्रश्न उठाएको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद खगेन्द्र कर्णले उक्त विषय उठाएका छन्। उनले अस्पतालमा पैसा तिर्न नसक्दा खुला ठाउँमा सुत्केरी गराउन बाध्य भएको घटनाबारे छानबिन हुनुपर्ने कुरा उठाएका छन्।

त्यसैगरी अर्की सांसद अंकिता ठाकुरले पनि पैसाले श्वास र आशको कुरा तय गरेपछि यस्तो घटना हुने बताएकी छन्।गजेन्द्रनारायण सिंह अस्पताललाई मन्दिर र डाक्टरलाई भगवान ठान्ने स्थानीयलाई उपचारको साटो निकालिएको उनले बताइन्।

प्रसूति गराउन पुगेकी बबितालाई पैसा नभएपछि अस्पतालबाट निकालिएको उनले दाबी गरिन् । त्यसपछि ती महिलाले अस्पतालको गेटबाहिर बच्चा जन्माउन बाध्य भएको बताइन् ।

सार्वजनिक विवरणअनुसार प्रसव व्यथाले च्यापेपछि राजविराज नगरपालिका-१४ की ३० वर्षीया बविता कुमारी पासवान अस्पताल पुगेकी थिइन्।

तर, स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक रकम तिर्न नसकेपछि उनलाई अस्पतालबाट बाहिर निकालिएको दाबी परिवारको छ। अस्पताल प्रशासनले भर्ना नलिएपछि उनले गेटबाहिरै बच्चा जन्माउन बाध्य भएको आरोप परिवारजन र सांसदले पनि लगााएका छन्।

ती महिलाका आफन्तले उपचारका लागि अस्पताल पुगेपछि सामान्य रकम तिर्न नसकेको भन्दै अस्पतालबाट बाहिर निकालिएको दाबी गरेका छन्।

घटना बुधबार राति भएको हो । तर, घटनाको समयबारे फरक विवरण सार्वजनिक भएका छन्। कतिपयले राति करिब २ बजे र कतिपयले बिहान ४ बजेको बताएका छन्।

घटनाबारे अस्पताल प्रशासनले भने पैसा तिर्न नसकेकै कारण महिलालाई अस्पतालबाट निकालिएको आरोप अस्वीकार गरेको छ। अस्पतालका निमित्त प्रमुख जितेन्द्र कँडेलले सुत्केरी व्यथा लागेर आएकी महिला पासवान नै भएको पुष्टि गर्दै उनलाई बाहिर ननिकालिएको बताए।

पासवानसँग आएका आफन्तलाई रगत, पिसाबलगायतका आवश्यक स्वास्थ्य परीक्षण गराउन भनिएको उनलले बताए। तर, आफन्तहरूले परीक्षण नगराई आफैं अस्पतालबाट बाहिरिएको कँडेलको भनाइ छ।

‘अस्पतालले उहाँलाई बाहिर निकालेको होइन। आवश्यक स्वास्थ्य परीक्षण गराउन भनेका थियौँ। तर, उहाँका आफन्तले परीक्षण नगराई आफैं बाहिरिनुभएको हो,’ कँडेलले भने।

अस्पतालको गेटबाहिरै बच्चा जन्माएको जानकारी पाएपछि महिलालाई भित्र ल्याएर सालनालसहित आवश्यक उपचार गरिएको कँडेलले बताए। उपचारपछि उनलाई डिस्चार्ज गरिसकिएको उनले बताए ।

पासवानले चौथो सन्तानका रूपमा उक्त शिशुलाई जन्म दिएकी कँडेलले बताए । घटनाको सीसीटीभी भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अस्पताल प्रशासनको चर्को आलोचना भइरहेको छ।

गरिब तथा विपन्न नागरिकले उपचार पाउने सरकारी अस्पतालमै आर्थिक अभावका कारण गर्भवती महिलाले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आएको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिएको छ।

यद्यपि, अस्पताल प्रशासनले भने घटनाबारे सामाजिक सञ्जालमा गरिएको दाबीभन्दा फरक अवस्था रहेको जनाएको छ। घटनाको वास्तविकताबारे छानबिनका लागि संसद्मा पनि सरकारमाथि दबाब परेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  १ : ५८ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा