काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने सम्झौताको घोषणा गरेका छन् । इन्धनको बढ्दो मूल्य घटाउन दबाब बढेपछि यो घोषणा गरिएको हो ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउने जानकारी दिएका थिए ।
ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकी र विश्वव्यापी बजारका लागि तत्काल ३ लाख टन डिजेल उपलब्ध गराउन सहमत भएका छन् । त्यसपछि नोभेम्बरमा ५ लाख टन र त्यसपछि थप १० लाख टन डिजेल आपूर्ति गरिनेछ।
पुटिनले एक वक्तव्य जारी गर्दै शुक्रबार ट्रम्पसँग विश्वव्यापी ऊर्जा अवस्थाबारे कुराकानी भएको पुष्टि गरेका छन् । उनले भनेका छन्– ‘रुसी पक्षले अमेरिकी बजार र समग्र विश्वव्यापी बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने आफ्नो इच्छा पुष्टि गरेको छ।’
शुक्रबार गरिएको यो निर्णयको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कडा विरोध गरेका छन् । उनले यसलाई पुटिनका लागि एउटा उपहार भन्दै यो निर्णय युद्ध अन्त्य गर्नका लागि नभई युद्धलाई अझ लम्ब्याउन गरिएको लगानी सरह भएको बताएका छन् ।
यस सम्झौताअन्तर्गत अमेरिकी अर्थ मन्त्रालयले अप्रिल ७ सम्मका लागि रुसी डिजेल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा (निलम्बन) गर्ने बुझिएको छ। यद्यपि, अमेरिकी बैंकहरूमा रहेका अन्य रुसी सम्पत्तिहरू भने अझै रोक्का नै रहनेछन् ।
ट्रम्पले युक्रेनी आक्रमणबाट प्रभावित रुसी रिफाइनरीहरूको अवस्थालाई हेरेर थप ३० लाख टन रुसी डिजेल पनि छोटो समयभित्रै डेलिभरी गरिने दाबी गरेका छन् ।
यसै वर्षको सुरुमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको रुसका राष्ट्रपति पुटिनले पछि अमेरिका र विश्वव्यापी बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार रहेको बताए, तर उनले परिमाण भने खुलाएनन् ।
ट्रम्पको घोषणालगत्तै अमेरिकी अर्थ मन्त्रालयले औपचारिक रूपमा अस्थायी इजाजतपत्र (लाइसेन्स) जारी गर्दै रुसी डिजेललाई बजारमा प्रवेश गर्न अनुमति दिएको छ ।














प्रतिक्रिया