काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा प्रवेश गरेको छ । गुह्येश्वरीस्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले पशुपति क्षेत्रसम्मको वाग्मतीलाई स्नानयोग्य बनाउने गरी काम गर्न माग गरेका छन् ।
कार्यक्रममा सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले सफाइ अभियान सुरु भएको ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरिएको स्मरण गर्दै त्यसलाई स्थायित्व दिन नसकिएको बताए। त्यसबेला पानी परीक्षण गरेर स्नान गरिएको स्मरण पनि उनले गरे। तत्कालीन राष्ट्रपति डा रामवरण यादवले पनि गुह्येश्वरीमा जल आचमन गरेका थिए ।
समितिका अध्यक्ष डा आनन्दसिंह भाटले नदीको भएको धारलाई व्यवस्थापन गरी नदी सफाइ गर्ने अभियानलाई पूर्णता दिइने बताउनुभयो । नदी क्षेत्रको रिचार्जका लागि विभिन्न स्थानमा ताल बनाउने योजना रहेको उनले जानकारी दिए ।
कार्यक्रममा समितिका आयोजना प्रमुख मचाकाजी महर्जन, सफाइ अभियानकर्मी डा माला खरेलले वाग्मती सफाइसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । अन्तरक्रियाअघि गुह्येश्वरी क्षेत्रको वाग्मती सफाइ गरिएको थियो ।
विसं २०७० जेठ ५ गतेदेखि सफाइ महाअभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ हुँदै आएको छ । महाअभियानबाट प्रभावित भई राजधानीमा वाग्मतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदास्थलमा सफाइ भइरहेको छ ।
राजधानी बाहिरका मुख्य सहर, नदी र सम्पदास्थलमा पनि सफाइ भएको छ । हाल देशभर करिब १११ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।














प्रतिक्रिया