काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन दिनसम्म चलेको उक्त बैठकले १३ जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ ।
मनोनयन हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडेरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङ्वा (तेह्रथुम), टंक आङ्बुहोङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) छन् ।
पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यअनुसार, बैठकले साङ्गठनिक सुदृढीकरण र विभिन्न तहका अधिवेशन तथा भेलाहरू आयोजना गर्ने तालिका समेत निर्धारण गरेको छ । जसअन्तर्गत पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन आगामी मङ्सीर २६ गते र नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस ४ गतेभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ । यसैगरी, आगामी मङ्सीरको पहिलो साता राष्ट्रिय भेला आयोजना गरिनेछ, जसमा प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।
पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेलाहरू समेत आयोजना गरिने जानकारी दिइएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका सभासद जैनब खातुनको निधन भएकाले समानुपातिकतर्फको उक्त रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस पठाउने निर्णय गरेको छ। त्यसैगरी, पार्टीको अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी सङ्गठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउने निर्णय समेत भएको छ।















प्रतिक्रिया