पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास « Khabarhub

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँतर्फ खाद्यान्न बोकेर हिँडेका मालवाहक गाडी र यात्रुवाहक बस अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध हुँदा चालक तथा सहचालकहरू भरतपुरको केन्द्रीय बसपार्क अगाडिको मुख्य सडकमै खाना पकाएर बस्न र रात बिताउन बाध्य भएका छन् ।

बडादसैँ नजिकिँदै गर्दा चामललगायत अत्यावश्यक खाद्य सामग्री बोकेका गाडी लामो समयदेखि रोकिएका छन् । भरतपुरको मुख्य सडकमा मालवाहक गाडीको लामो लस्कर लागेको छ ।

शुक्रबार रातिदेखि रोकिएका चालक विशाल राजपुतका अनुसार सडक अवरुद्ध हुँदा खाद्यान्न समयमै गन्तव्यमा पुर्‍याउन समस्या भएको छ । चालक तथा सहचालकले सडकछेउमै चुल्हो बालेर खाना पकाउने र रात बिताउने गरेका छन् ।

‘हामीलाई दसैँ र चाडपर्व भनेको केही हुँदैन । यसरी बाटोमा अलपत्र पर्दा महँगो खर्च, खानेकुराको जोहो र सार्वजनिक शौचालयको अभावले सबैभन्दा ठूलो सास्ती हुन्छ,’ राजपुतले भने । उनले नजिकैको धाराबाट पानी ल्याएर सडकमा खाना पकाएर खाने गरेको बताए ।

यसअघि पनि काठमाडौँतर्फ जाँदा कृष्णभीरलगायत स्थानमा लामो समयसम्म अलपत्र पर्नुपरेको स्मरण गर्दै उनले अवरुद्ध राजमार्ग चाँडै सञ्चालनमा आउने अपेक्षा व्यक्त गरे । चाडपर्वका लागि खाद्यान्न समयमै गन्तव्यमा पुर्‍याउने र दसैँअघि परिवारसँग भेटघाट गर्ने चालकहरूको चाहना छ ।

राजमार्ग अवरुद्ध हुँदा चितवन र धादिङ हुँदै काठमाडौँ जाने यात्रु पनि प्रभावित भएका छन् । भरतपुर बसपार्कमा अलपत्र परेका यात्रुलाई ट्राफिक प्रहरीले हेटौँडाको वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ जान सहजीकरण गरेको छ । प्रहरीले यात्रुले तिरेको भाडा फिर्ता गराउने व्यवस्था मिलाउँदै उनीहरूलाई वैकल्पिक मार्गबाट पठाएको छ ।

नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार गजुरीबाट काठमाडौँतर्फ करिब पाँच किलोमिटरको दूरीमा रहेको गलौँदीमा ७० मिटर लम्बाइ र चार मिटर चौडाइको सडक भासिएको छ ।

सडकको भित्तासम्मै चिरा परेकाले तत्काल मर्मत गरी राजमार्ग सञ्चालनमा ल्याउन पाँच वटा एक्साभेटर, दुई वटा लोडर र छ वटा टिप्पर प्रयोग गरेर ब्याक कटिङको काम भइरहेको उनले बताए । राजमार्गमाथि गाउँ जाने शाखा सडक रहेकाले सबै भित्ता काट्न सम्भव नभएको उनको भनाइ छ ।

शनिबार साँझसम्म राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ५ : १६ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि