शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज « Khabarhub

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यहाँका किसानले परम्परागत खेती प्रणालीलाई व्यावसायिक स्वरूप दिँदै उत्पादन बढाउन थालेपछि शैलुङबाट काठमाडौं लगायतका बजारमा वार्षिक ५० करोड रुपैयाँभन्दा बढी मूल्यको कृषि उपज निर्यात हुने गरेको छ ।

किसानको निरन्तर मेहनत, सक्रियता र कृषि व्यवसायप्रतिको आकर्षणले शैलुङलाई जिल्लाकै प्रमुख तरकारी उत्पादन क्षेत्रका रूपमा चिनाउन मद्दत गरेको छ । शैलुङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को तथ्यांकअनुसार यहाँबाट उत्पादित आलु, गाजर, मुला, काउली, बन्दा, किवी र सुन्तलालगायतका कृषि उपज काठमाडौं बजारमा पुग्ने गरेका छन् । गाउँपालिकाको कृषि शाखाले उपलब्ध गराएको विवरणअनुसार उक्त अवधिमा शैलुङबाट पाँच हजार मेट्रिक टन आलु काठमाडौं निर्यात भएको छ ।

हालको बजार मूल्यका आधारमा मात्रै आलुको निर्यातबाट करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख रोहित न्यौपानेका अनुसार शैलुङका वडा नम्बर ३, ४, ६ र ८ मा उत्पादित आलु काठमाडौं पठाइएको हो । आलु उत्पादनमा किसानको सक्रियता बढ्दै जाँदा शैलुङका विभिन्न बस्तीमा व्यावसायिक खेती विस्तार भएको छ ।

किसानले आफ्नो खेतबारीमा आलु उत्पादन गरी बजारसम्म पुर्‍याउने गरेका छन् । आलुसँगै शैलुङका किसानले अन्य तरकारी तथा फलफूल खेतीबाट पनि राम्रो आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको तथ्यांकअनुसार गाजरबाट करिब १३ करोड रुपैयाँ, काउलीबाट १० करोड रुपैयाँ, मुलाबाट १० करोड रुपैयाँ र बन्दाबाट एक करोड ५० लाख रुपैयाँ बराबरको कृषि उपज निर्यात भएको छ । त्यसैगरी, २५० मेट्रिक टन किवीबाट करिब तीन करोड ५० लाख रुपैयाँ तथा ३०० मेट्रिक टन सुन्तलाबाट एक करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको गाउँपालिकाले जनाएको छ ।

यी तथ्यांकले शैलुङको कृषि उत्पादनमा विविधता बढ्दै गएको देखाउँछन् । एउटै बालीमा निर्भर नभई किसानले मौसम, जमिनको अवस्था र बजारको मागअनुसार विभिन्न जातका तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् । आलु, गाजर, मुला र काउलीजस्ता तरकारीसँगै किवी तथा सुन्तलाको उत्पादनले पनि स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउन योगदान पुर्‍याएको छ ।

एक हजारभन्दा बढी किसान व्यावसायिक खेतीमा सक्रिय शैलुङमा कृषि व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको गाउँपालिकाको तथ्यांकले देखाएको छ । गाउँपालिकामा हाल २५० वटा कृषि फार्म र ५५ वटा कृषक समूह विधिवत् रूपमा दर्ता भएका छन् । यिनै फार्म तथा समूहमा आबद्ध र अन्य रूपमा कृषि व्यवसायमा संलग्न गरी करिब एक हजारभन्दा बढी किसान सक्रिय रूपमा तरकारी तथा फलफूल खेतीमा लागिरहेको गाउँपालिकाले जनाएको छ ।

किसानले आफ्नै जमिनमा मात्रै सीमित नभई खेतीलाई आम्दानीको नियमित स्रोत बनाउने उद्देश्यले व्यावसायिक उत्पादनमा जोड दिँदै आएका छन् । उत्पादनलाई बजारसँग जोड्ने र मागअनुसार खेती गर्ने अभ्यासले शैलुङको कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको छ । गाउँमा उत्पादन भएका तरकारी तथा फलफूल काठमाडौंसम्म पुग्नुले स्थानीय उत्पादनको बजार विस्तार भएको संकेत गर्छ । कृषि व्यवसायले किसानको आम्दानी बढाउनुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न र ग्रामीण अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुर्‍याएको छ ।

व्यावसायिक खेतीमा किसानको सहभागिता बढ्दै जाँदा कृषि उत्पादन, संकलन, ढुवानी र बजारीकरणसँग सम्बन्धित गतिविधिमा समेत अवसर विस्तार हुने सम्भावना छ । किसानलाई प्रोत्साहन गर्दै गाउँपालिका कृषि उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले गाउँपालिकाले किसानलाई विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । गाउँपालिकाका अनुसार किसानलाई बीउबिजन, प्राविधिक सहयोग तथा अनुदान उपलब्ध गराउनुका साथै मसला जातका खेतीमा प्रतिकेजीका आधारमा प्रोत्साहन अनुदान दिने कार्यक्रमसमेत सञ्चालनमा रहेको छ ।

कृषिमा आधुनिक प्रविधिको प्रयोग, उत्पादन लागत न्यूनीकरण, गुणस्तरीय बीउबिजनको उपलब्धता र बजारको सुनिश्चितता किसानका लागि महत्त्वपूर्ण विषय हुन् । किसानले उत्पादन गरेको कृषि उपजले उचित मूल्य पाउने वातावरण बनेमा व्यावसायिक खेतीप्रतिको आकर्षण अझ बढ्न सक्ने देखिन्छ । शैलुङमा उत्पादन बढेसँगै कृषि उपजको भण्डारण, संकलन केन्द्र, ढुवानी व्यवस्थापन र बजार मूल्यमा स्थिरता कायम गर्ने विषयमा पनि थप ध्यान दिनुपर्ने आवश्यकता छ।

विशेषगरी तरकारी छिटो बिग्रिने कृषि उपज भएकाले किसानले समयमै बजार पाउने र बिचौलियाको प्रभाव कम हुने व्यवस्था महत्त्वपूर्ण हुन्छ । एक हजारभन्दा बढी किसानको सक्रियता र वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको कृषि उपज बजारमा पुग्ने अवस्थाले शैलुङको कृषि क्षेत्रको आर्थिक महत्त्व उजागर गरेको छ ।

किसानको मेहनत, व्यावसायिक सोच र स्थानीय तहको सहयोगलाई थप प्रभावकारी बनाउन सके शैलुङले दोलखाको मात्र नभई बागमती प्रदेशकै प्रमुख कृषि उत्पादन क्षेत्रका रूपमा आफ्नो पहिचान अझ बलियो बनाउन सक्ने सम्भावना देखिएको छ।

-सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ५ : ३३ बजे

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो