युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु « Khabarhub

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण भएको छ । आक्रमणमा तीन बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जापोरिजियामा आवासीय भवनहरूलाई लक्षित गरी रुसी हवाई बम खसालिएको क्षेत्रीय रक्षा परिषद्का सह–अध्यक्ष इभान फेडोरोभले शनिबार जानकारी दिएका छन् ।

रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्धमोर्चामा दुवै पक्षले उल्लेखनीय प्रगति गर्न सकेका छैनन् । दुवै देशबीच युद्ध गतिरोधमा रहे पनि लामो दूरीका हवाई आक्रमण भने निरन्तर भइरहेका छन् । पछिल्लो चार दिनमा रुसी बमबारीमा ५५ जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आपूर्ति गर्ने सम्झौता भएको घोषणा गरेको भोलिपल्टै युक्रेनमा पछिल्लो आक्रमण भएको हो । यो कदमलाई युक्रेन युद्धका कारण मस्कोमाथि अमेरिकाले वर्षौंदेखि अपनाउँदै आएको दबाबको नीतिमा आएको अप्रत्याशित परिवर्तनका रूपमा हेरिएको छ । साथै, अमेरिकी मध्यावधि निर्वाचनअघि बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने प्रयाससँग पनि यसलाई जोडेर हेरिएको छ ।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत पुटिनसँगको टेलिफोन वार्ताका क्रममा डिजेल आपूर्तिसम्बन्धी सहमति भएको जानकारी दिएका थिए । उक्त वार्तामा सुरुमा रुसमा देखिएको प्लेगको आशङ्कास्पद घटनाबारे छलफल हुने अपेक्षा गरिएको थियो ।

ट्रम्पका अनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल उपलब्ध गराउनेछ । त्यसपछि नोभेम्बरमा थप पाँच लाख टन र केही समयपछि १० लाख टन डिजेल आपूर्ति गरिनेछ । त्यसलगत्तै छोटो अवधिमा थप ३० लाख टन डिजेल उपलब्ध गराउने योजना रहेको पनि उनले बताएका छन् ।

ट्रम्पको घोषणाले गत महिना उनले नै हस्ताक्षर गरेको रुसमाथि व्यापक प्रतिबन्ध लगाउने कानुनसँग विरोधाभास सिर्जना गरेको छ । उक्त कानुनको उद्देश्य युक्रेनविरुद्धको युद्धमा आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने रुसी तेल तथा ग्यासबाट हुने आम्दानीमा रोक लगाउनु थियो ।

सम्झौताप्रति प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले यसको जवाफ थप आक्रमण र विश्वासघातबाट दिएको बताएका छन् । यस्तो सम्झौताले रुसको युद्ध खर्च बढाउने र युद्ध लम्ब्याउन सहयोग पुग्ने उनको चेतावनी छ ।

‘यसले रुसलाई थप हत्या गर्न, लामो समयसम्म युद्ध जारी राख्न, अमेरिकाप्रति अझ कम सम्मान देखाउन तथा विश्वमा थप क्षति र विनाश निम्त्याउन सक्षम बनाउँछ,’ जेलेन्स्कीले भनेका छन् ।

वासिङ्टनस्थित युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा उनले उक्त सम्झौतालाई ‘बलिया साझेदारहरूबाट भएको कमजोर निर्णय’ भन्दै आलोचना गरेका छन् ।

युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल गर्न ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ जारेड कुशनर मियामीमा युक्रेनी अधिकारीहरूसँग वार्तामा रहेका बेला डिजेल सम्झौताको घोषणा गरिएको थियो ।

यस घटनाप्रति असन्तुष्टि जनाउँदै जेलेन्स्कीले अमेरिकी टोलीलाई वार्तामा प्रयोग गरिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

‘मलाई लाग्छ, हाम्रो टोलीलाई केवल धुवाँको पर्दाका रूपमा प्रयोग गरिँदै छ । यो पक्कै पनि उचित होइन । साझेदारहरूले एकअर्कासँग गर्ने व्यवहार यस्तो हुनुहुँदैन,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ६ : ०० बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको