नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ ।
जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार निर्वाचन आयोग नेपालको स्वीकृत कार्यक्रमअनुसार जिल्लाभरि गरिएको नामावली छानबिनका क्रममा दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाएको हो ।
“यही असोज १ गते नामावली प्रकाशन गरी २ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम, २०८३ बमोजिम स्थानीय तहबाट मृत्यु भएका व्यक्तिको विवरण र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता त्यागसम्बन्धी विवरण माग गरी मतदाता नामावलीबाट नाम हटाइएको हो,ुु उनले भने ।
कार्कीका अनुसार दोहोरो दर्ता भएका एक हजार ९४३, मृत्यु भएका एक हजार ३८० र नागरिकता परित्याग गरेका ३९ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
हटाइएका मतदाताको नाम, ठेगाना र मतदाता परिचयपत्र नम्बरसहितको विस्तृत विवरण कार्यालयले सार्वजनिक गरेको उनले बताए । हटाइएका नामका सम्बन्धमा कुनै दाबी विरोध वा जिज्ञासा भए आवश्यक प्रमाणसहित कार्यालय समयमा जिल्ला निर्वाचन कार्यालय, चितवनमा सम्पर्क गर्न अनुरोध गरिएको उनले बताए ।














प्रतिक्रिया