काठमाडौँ – तिहार सुन्नेबित्तिकै दिमागमा सेलरोटी, फिनी, अनरसा, खुर्मा र विभिन्न प्रकारका मिठाईका साथै भाइमसला र माछामासुको याद आउँछ। हरेक चाडपर्वका आ-आफ्नै महत्त्व र रमाइला पाटा हुन्छन्। हिन्दुको महान् पर्व तिहार विशेषत उज्यालो पर्व हो । धन-ऐश्वर्यकी देवी लक्ष्मीको पूजा, दियोबत्ती, सेलरोटी र देउसीभैलोको पर्व मात्र नभई खानपानसँग पनि उत्तिकै जोडिएको छ।
तिहारका परिकार प्रायः चिल्ला र गुलिया हुने गर्छन्। शुद्ध तेलमा मात्रा मिलाएर पकाइएका परिकार सीमित मात्रामा खानु राम्रो हुन्छ । हामीले विशेष अवसरमा बनाउने खानेकुरामा प्रयोग हुने अखाद्य रङ र रसायनयुक्त मिसावटले स्वास्थ्यमा गम्भीर असर पार्ने चिकित्सक बताउँछन्।
चाडपर्व सकिएलगत्तै खानपानको गडबडीका कारण मुटुसम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलाका बिरामीमा फस्फोरस र पोटासियमको मात्रा बढेर अस्पताल पुग्ने बिरामीको संख्या बढ्ने गरेको चिकित्सकको गुनासो छ।
खानपानमा कस्तो सतर्कता अपनाउने ?
चिकित्सकका अनुसार चिल्लो, गुलियो, पिरो र मसलेदार खानेकुरामा विशेष ख्याल पुर्याउनुपर्छ। बजारबाट ल्याइने मिठाई र अन्य परिकारभन्दा सकेसम्म घरमै तयार पार्नु उत्तम हुन्छ। घरमा बनाउँदा पनि चिल्लो, पिरो र मसला कम प्रयोग गर्नुपर्छ भने अनावश्यक रङ र रसायन मिसाउनु हुँदैन।
पटक-पटक एउटै तेल तताएर प्रयोग गर्दा ‘ट्रान्सफ्याट’ उत्पादन हुन्छ, जुन स्वास्थ्यका लागि विषसरह मानिन्छ। पोषणविद्का अनुसार यसले मुटुको समस्या निम्त्याउँछ। त्यस्तै, अत्यधिक चिनी र विषाक्त रङ मिसाइएका मिठाईले मधुमेहको जोखिम बढाउँछ। त्यसैले यी सबै खानेकुरा सन्तुलित रूपमा खानुपर्छ।
दाजुभाइलाई उपहारमा के दिने ?
तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भाइमसला र मौसमअनुसारका फलफूल दिने चलन छ। भाइमसलामा काजु, किसमिस, बदाम, पेस्ता, नरिवल र छोकडाजस्ता ड्राइफूड प्रयोग गरिन्छन्। यी मसलामा धेरै क्यालोरी र भिटामिन पाइने हुनाले ब्यालेन्स मिलाएर थोरै मात्रामा खानुपर्छ।
यदि दाजुभाइमा उच्च रक्तचाप वा मधुमेहजस्ता दीर्घकालीन रोग छन् भने गुलियो खानेकुराले रगतमा चिनीको मात्रा बढाउन सक्छ। त्यसैले पोषणविद्को सुझावअनुसार स्वास्थ्यमैत्री उपहारहरू छनौट गर्न सकिन्छ:
- मौसमी फलफूल: सुन्तला र मौसम दिनु लाभदायक हुन्छ, जसमा भिटामिन सी र फाइबर प्रशस्त पाइन्छ।
- अमला र हलुवावेद: अमला र हलुवावेदमा पाइने भिटामिन सीले छाला र कपालका लागि समेत फाइदा पुर्याउँछ।
स्वास्थ्य जोगाउन यी कुरामा ध्यान दिनुहोस्:
- प्रशस्त मात्रामा पानी पिउने,
- गुलियो खानासँगै भिटामिन सीयुक्त आहार सेवन गर्ने,
- फाइबरयुक्त सागसब्जी, सलाद, सुन्तला, भोगटे र मौसमलाई आहारमा समावेश गर्ने,
- मधुमेहका बिरामीले सेलरोटी खान मन लागेमा ठिक्क मात्रामा खाने र त्यसपछि नियमित व्यायाम गर्ने,
- नियमित रूपमा हिँडडुल गर्ने र कागती पानी सेवन गर्ने।
चाडपर्व सबैले हर्सोल्लासका साथ मनाउनुपर्छ, तर खानपानको असन्तुलनले स्वास्थ्यमा समस्या आउन दिनु हुँदैन। समयमै खाना खाने, शारीरिक व्यायाम गर्ने र स्वास्थ्यमा कुनै पनि जटिलता देखिए तुरुन्तै चिकित्सकको सल्लाह लिने गर्नुपर्छ।














प्रतिक्रिया