काठमाडौं– नेपाल संवत् ११४७ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम, र्याली तथा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत्को पहिलो दिन आज म्हः पूजा पनि गरिँदैछ।

नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थान तथा विदेशमा रहेका नेवार समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन्। काठमाडौंको वसन्तपुरबाट सांस्कृतिक झाँकी, बाजागाजा र विभिन्न परम्परागत भेषभूषासहित र्याली निकालिएको छ। र्यालीमा नेवार समुदायका विभिन्न संघसंस्था, सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागिता रहेको छ।
नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋणमोचन गरी यस संवत्को सुरुआत गराएको ऐतिहासिक मान्यता छ। त्यसयता नेवार समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ।

नेपाल संवत्ले नेपालको मौलिक इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रतिनिधित्व गर्दै आएको छ। यसको संरक्षण र प्रवर्द्धनका लागि हरेक वर्ष विभिन्न सांस्कृतिक गतिविधि आयोजना गरिन्छन्।
नेपाल संवत्को पहिलो दिन मनाइने म्हः पूजामा नेवार समुदायले आफ्नै शरीर तथा आत्माको पूजा गर्ने परम्परा छ। परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर मण्डप बनाई पूजा गर्ने र सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्ने चलन छ।























प्रतिक्रिया