वीरगञ्ज- तिहार तथा छठ पर्व नजिकिएसँगै पटाका पड्काउने क्रम बढ्न थालेपछि पर्सा प्रहरीले पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा कडाइ गरेको छ ।
पटाका पड्काउने क्रममा निस्किएको छर्रा लागेर पाँच वर्षीय बालकको मृत्यु भएपछि प्रहरीले नियन्त्रण तथा निगरानीलाई थप प्रभावकारी बनाएको हो ।
गत सोमबार पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाकाको छर्रा लागेर पाँच वर्षीय कुन्दन सहनीको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्न विशेष गस्ती तथा निगरानी बढाइएको जानकारी दिए ।
उनका अनुसार चाडपर्वका बेला ग्रामीण बस्ती र बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था रहेकाले प्रहरी प्रशासनले नियन्त्रणका लागि सक्रियता बढाएको छ । प्रहरीले सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी गरिरहेको छ ।
प्रहरीले यसअघि पनि चाडपर्वका समयमा पटाका तथा विस्फोटकजन्य सामग्री प्रयोग नगर्न सर्वसाधारणलाई पटक–पटक आग्रह गर्दै आएको थियो ।














प्रतिक्रिया