ढोरपाटनमा पर्यटकको चहलपहल बढ्यो, विदेशी सिकारी सिकारमा व्यस्त « Khabarhub

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्यो, विदेशी सिकारी सिकारमा व्यस्त


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ ।

ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ ।

नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार याम चलिरहेको छ । असोजदेखि मङ्सिरसम्म रहने पहिलो याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन् ।

ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा हालसम्म १० नाउर र सात झारलको सिकार चलिरहेको छ । यस याममा ११ जना विदेशी सिकारी ढोरपाटन आइसकेका छन् भने थप छ जना आउने तयारीमा छन् ।

विश्वका धनाढ्य सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् । रसिया, अमेरिका, स्पेन, डेनमार्क, अफ्रिकी मुलुक र फ्रान्सलगायत देशबाट सिकारी आउने गरेको सुवेदीले बताए।

विदेशी सिकारीको चहलपहल उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित रहँदा ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा भने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विशेषगरी चाडपर्वको समय र अनुकूल मौसममा प्रकृतिसँग रमाउन तथा पदयात्रा गर्न पर्यटक ढोरपाटन पुग्ने गरेका छन् ।

कुनै समय विदेशी पर्यटक र सिकारीमाझ मात्रै परिचित ढोरपाटन पछिल्लो समय पदयात्राका लागि नेपाली पर्यटकको रोजाइमा पनि पर्न थालेको छ । काठमाडौँ, चितवनलगायत देशका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् ।

स्थानीय पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढामगरका अनुसार विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्ने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्ग हुँदै ढोरपाटन आउने र त्यहाँबाट पदयात्रा गरी बुकीपाटनसम्म पुग्ने गरेका छन् । विदेशी सिकारी सिकारमा रमाउने र स्वदेशी पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको उनले बताए।

ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन् । सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी र आरक्षका कर्मचारी पनि खटाइने गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ ।

ढोरपाटन क्षेत्रमा प्रत्येक बर्ष दुई ‘सिजन’मा सिकार खेलाउने गरिएको छ । पहिलो सिकार याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि वैशाखसम्म सञ्चालन हुन्छ । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको सिकार ब्लकमा सिकार सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

गत आर्थिक वर्षको दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट चार करोड १७ लाख राजस्व संकलन भयो । सोही अवधिमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा पनि गत वर्षको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको पाइएको छ । 

पछिल्लो समय पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा होटल तथा घरबास सञ्चालन पनि विस्तार हुँदै गएको छ । सिकार पर्यटनसँगै पदयात्रा, प्राकृतिक दृश्यावलोकन र स्थानीय संस्कृति ढोरपाटनको पर्यटनका थप आकर्षण हुन् । विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  १ : ०२ बजे

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ – टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्यो, विदेशी सिकारी सिकारमा व्यस्त

बागलुङ– प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले

चारलेन सडक निर्माणसँगै खजुराबजारका फेरिएको मुहार

राँझा– विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण

जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान

एजेन्सी– नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको

नेपाल संवत् मौलिक इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको छ : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल