काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका सञ्चारमन्त्रीबीच दोहामा द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनका क्रममा कतारको दोहामा भएको भेटमा डिजिटल रूपान्तरण, दूरसञ्चार पूर्वाधार विकास तथा प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने सहमति भएको छ।
सौहार्दपूर्ण वातावरणमा भएको छलफलमा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै फाइभजी, स्याटेलाइट सञ्चार, डिजिटल साक्षरता र साइबर सुरक्षाका क्षेत्रमा अनुभव आदानप्रदान गर्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो।
भेटका क्रममा मलेसियाली मन्त्रीले आफ्नो देशको डिजिटल प्राथमिकता प्रस्तुत गर्दै व्यक्तिगत डेटा संरक्षण, सुलभ इन्टरनेट, विद्युतीय व्यापार र स्थानीय उद्यमशीलता प्रवर्द्धनमा हासिल गरेका अनुभव साझा गरेका थिए।
जवाफमा मन्त्री तिमिल्सिनाले मलेसियाका प्राथमिकताहरू नेपालको राष्ट्रिय प्राथमिकतासँग मेल खाने उल्लेख गर्दै सुरक्षित, विश्वसनीय र समावेशी डिजिटल वातावरण निर्माणमा नेपाल सरकार प्रतिबद्ध रहेको बताए। उनले दुई देशबीच प्राविधिक तथा संस्थागत क्षमता विकासमा सहकार्य बढाउन नेपाल उत्सुक रहेको स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले त्यहाँको अर्थतन्त्रमा पुर्याएको योगदानको स्मरण गर्दै नेपाली नागरिकप्रति मलेसिया सरकारले देखाएको आतिथ्य र सद्भावका लागि आभार व्यक्त गरे।
भेटवार्तामा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता थियो। दुवै पक्षले आगामी दिनमा डिजिटल कनेक्टिभिटी र क्षमता विकासका ठोस क्षेत्र पहिचान गरी संवादलाई निरन्तरता दिने निर्णय गरेका छन्।














प्रतिक्रिया