काठमाडौं- इरानसँगका दुई सीमा नाका बन्द भएसँगै पाकिस्तानमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्यमा भारी वृद्धि भएपछि हजारौँ अटो-रिक्सा चालकहरूको दैनिक आम्दानी आधाभन्दा कममा झरेको छ ।
गत फेब्रुअरीमा अमेरिका-इरान युद्ध सुरु भएयताको पछिल्लो ऊर्जा संकटका रूपमा अक्टोबर १७ मा इरानसँगका दुई नाका बन्द हुँदा दैनिक करिब ७ हजार मेट्रिक टन एलपीजी आयात ठप्प भएको थियो । पाकिस्तान एलपीजी एसोसिएसन र व्यापारीहरूका अनुसार नाका बन्द भएको केही दिनमै १२ केजीको सिलिन्डरको मूल्य ५६ प्रतिशतले बढेर खुला बजारमा ७ हजार पाकिस्तानी रुपैयाँ (करिब ५८३ रुपैयाँ प्रति केजी) पुगेको छ ।
सुरक्षा र तस्करीको कारण देखाउँदै बलुचिस्तान प्रान्तले नाका बन्द गरेको बताए पनि इरानले प्राविधिक समस्या र पाकिस्तानको आयात कागजी प्रक्रियामा भएको परिवर्तनलाई दोष दिएको छ। आवामी रिक्सा युनियनका अध्यक्ष मजिद घौरीका अनुसार युनियनमा आबद्ध ४३ हजार अटो-रिक्सामध्ये करिब ७० प्रतिशत र झन्डै ८ हजार ‘चिङ्ची’ (मोटरसाइकलमा आधारित तीनपांग्रे सवारी) एलपीजीबाटै चल्छन् ।
ग्यास महँगिएसँगै लाहोरमा १३ वर्षदेखि रिक्सा चलाउँदै आएका ३३ वर्षीय रसिद अलीको दैनिक आम्दानी साढे ६ डलरबाट घटेर मुस्किलले ३ डलर (७०० देखि ८०० रुपैयाँ) मा सीमित भएको छ। दैनिक ६०० रुपैयाँ रिक्सा भाडा तिर्ने अलीलाई दिनमा चार-पाँच पटक ३०० देखि ४०० रुपैयाँको ग्यास भर्नुपर्छ। यात्रुहरूले बढेको भाडा तिर्न नमान्ने र सस्तोमा मात्र जान खोज्ने गरेकाले खर्च धान्न कठिन भएको उनले बताए। मासिक ११ हजार रुपैयाँ घरभाडा र दुई सन्तानको लालनपालनको जिम्मेवारी बोकेका अलीको परिवारले अहिले छाक कटौती गरेर दिनमा दुई पटक मात्र खान थालेको छ।
ऊर्जा र गहुँको मूल्यवृद्धिका कारण अक्टोबरमा पाकिस्तानको मुद्रास्फीति ९.६ प्रतिशत पुगेको छ भने केन्द्रीय बैंकले ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको छ। गत अप्रिल ३ मा प्रतिलिटर ४५८ रुपैयाँको कीर्तिमानी उचाइमा पुगेको पेट्रोलको मूल्य अझै युद्धअघिको तुलनामा ४० प्रतिशत महँगो रहेकाले ग्यासको विकल्प खोज्नसमेत चालकहरूलाई असम्भव बनेको छ।














प्रतिक्रिया