काठमाडौं- चीनले तिब्बतमा बग्ने यार्लुङ साङ्पो नदीमा अतिविशाल बाँध निर्माण थालेपछि त्यसले क्षेत्रीय चिन्ता पैदा गरेको छ । फायुलले जनाएअनुसार चीनले यार्लुङ साङ्पो नदीमा बाँध निर्माण शुरु गरेपछि त्यसबाट उत्पन्न हुने वातावारणीय प्रभाव, तल्लो तटीय क्षेत्रको जलसुरक्षा र तिब्बतमा चिनियाँ नियन्त्रणलाई लिएर क्षेत्रीय चिन्ता पैदा भएको हो ।
फायुलका अनुसार नयाँ वर्षको सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङले तिब्बत स्वशासित क्षेत्रको मेडोङ काउन्टीमा उक्त बाँध निर्माणको काम शुरु भएको जानकारी दिएका थिए । उक्त बाँध चीन र भारत सीमानजिक अत्यन्त संवेदनशील क्षेत्रमा निर्माण भइरहेको जनाइएको छ ।
तिब्बतमा यार्लुङ साङ्पो भनिने यस नदीलाई भारतमा ब्रम्हपुत्र भन्ने गरिएको छ । यो नदी एशियाको निकै महत्वपूर्ण मानिन्छ । दक्षिण एशियाका करोडौँ मानिसहरु यस नदीमा आश्रित छन् ।
वातावरणविदहरुले ठूलो स्तरको परियोजना निर्माणले प्राकृतिक प्रकोपको जोखिम बढाउने चेतावनी दिएका छन् । उसैपनि भूकम्पीय क्षेत्रमा निर्माणधीन बाँधले विनाश निम्त्याउनसक्ने चिन्ता पनि रहेको जनाइएको छ ।
त्यसबाहेक परियोजना निर्माण गर्दा पारदर्शीता नअपनाइएको र स्थानीयहरुसँग पनि समन्वय नगरिएको तिब्बती अधिकारका लागि क्रियाशील संस्थाहरु बताउँछन् ।













प्रतिक्रिया