काठमाडौं- भारतका इलेक्ट्रोनिक्स तथा आईटीमन्त्री अश्विनी वैष्णवले चार वटा कारखानाबाट सन् २०२६ देखि सेमिकण्डक्टरको उत्पादन थाल्ने जनाएका छन् । तेस्रो चरणको इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किमको उद्घाटन गर्दै वैष्णवले यस्तो बताएका हुन् ।
टाटा समूह, माइक्रोन र एसजी सेमीजस्ता कम्पनीले स्थापना गरेका कारखानाबाट सेमिकण्डक्टरको उत्पादन सन् २०२६ बाट शुरु हुने उनको भनाइ छ । हाल तीमध्ये केही कारखानाले प्रारम्भीक चरणको परीक्षण उत्पादन गरिरहेका छन् ।
ती कारखानाले उत्पादन गरेका सेमिकण्डक्टरले भारतको घरेलु बजारको माग धान्दै विदेश पनि निर्यात गर्नसक्ने जनाइएको छ । यसलाई उनले भारतका लागि महत्वपूर्ण कोशेढुङ्गाको संज्ञा दिएका छन् ।
मन्त्रालयले हाल १२ हजार ७ सय ४ करोड भारु बराबरका २४ वटा परियोजना स्वीकृत गरेको छ । त्यसबाहेक उक्त स्किमअन्तर्गत अरु २२ टा वटा प्रस्ताव पनि स्वीकृत गरेको जनाइएको छ । यसको लगानी ४१ हजार ८ सय ६३ करोड भारु रहेको ।
यसले २ लाख ५८ हजार १ सय ५२ करोड रुपैयाँ बराबर उत्पादन दिनेछ । त्यसबाहेक यी परियोजनाबाट ३३ हजार ७ सय ९१ प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएकोे छ ।













प्रतिक्रिया