पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा : कांग्रेस एकजुट, एमालेको संगठन चुस्त, नेकपा उत्साहित « Khabarhub

पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा : कांग्रेस एकजुट, एमालेको संगठन चुस्त, नेकपा उत्साहित

पार्टीको मत काट्दै साना दल



काठमाडौं- एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ, नेकपा एमालेका उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङ र नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार हर्कबहादुर नेम्वाङ मिक्सोबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । संगठनको हिसाबले यहाँ नेकपा एमाले बलियो छ । चर्चाको हिसाबले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार उत्साहित हुँदा नयाँ दलहरूले तीनै वटा पार्टीको मत काट्ने अवस्था छ।

तीन उम्मेदवारहरूको कडा प्रतिस्पर्धा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङ र श्रम संस्कृति पार्टीका उम्मेदवार ब्रबिन शेर्मा आफ्ना एजेण्डा लिएर मतदातासमक्ष पुगिसकेका छन् ।

यता, पदमसुन्दर लावतीका जेठा छोरा महेन्द्र लावतीलेको गृह जिल्ला भएकाले यहाँ राष्ट्रिय परिवर्तन पार्टीबाट टेकबहादुर सुब्बाको चर्चा पनि उतिकै छ । केही मतदाताले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तेज प्रकाश कुरुम्वाङको पनि नाम लिइरहेको देखिन्छ । तर मुख्य प्रतिस्पर्धा भने यहाँका तीन ठूला पार्टीबीच हुने पाँचथरका प्राध्यापक डा. मधु केरुङ बताउँछन् ।

पुराना दलका पुराना अनुहारहरु गाउँ पस्दा नयाँ दलका नयाँ अनुहारहरु पनि परिस्थिति बदलिएको र आफूलाई निर्वाचित गराउनुपर्ने मागसहित गाउँमा छन् । पहाडी इलाका भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति यहाँका जनताको खासै उत्साह देखिँदैन । तर हर्क साम्पाङको श्रम संस्कृति पार्टीप्रति भने जनताहरु उत्साहित देखिन्छन् । योसँगै राष्ट्रिय परिवर्तन पार्टीमा पनि आदिवासी जनजाति लगायतका समुदायहरू जोडिएका छन् । परिवर्तन पार्टीको बाँसुरी चुनाव चिन्हमा विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेसको असन्तुष्ट पक्ष प्रवेश गरिरहेको छ ।

सबै परिपेक्षलाई आँकलन गर्दा यहाँ नयाँ दलले विजय हासिल गर्ने सम्भावना ज्यादै न्यून छ । तर ठूला दलहरूको भोट काटेको अवस्थामा तेस्रो दल नेकपाले पनि जित हासिल पार्न सक्ने संकेत भने देखिन्छ । पुराना दलमध्ये नेपाली कांग्रेस एक भएको खण्डमा केरुङको पल्लाभारी हुनेछ ।

हुन त एमाले उम्मेदवार रहेका नेम्वाङमाथि विभिन्न प्रश्न उठ्दै आएको छ । देशभर एमालेप्रति जनताको वितृष्णा रहेको र नेम्वाङमा परिपक्वता नदेखिएको भन्दै एमाले मतदाताहरू उनलाई मत दिने या नदिने भन्ने विषयमा निर्णय गर्ने अवस्थामा छैनन् ।

नेकपाका मिक्सोलाई जनतामा राम्रो छवि भएका र लोकप्रिय उम्मेदवारको रुपमा लिइन्छ तर संगठनको हिसाबले नेकपा यहाँ तेस्रो पार्टी हो । हुन त कांग्रेसका उम्मेदवार केरुङलाई २०७९ को निर्वाचनमा तत्कालीन लोकतान्त्रिक बाम गठबन्धनबाट कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेलाई हराउन लागेको आरोप छ । यसकारण ईमान्दारिपूर्वक मत पाउने सम्भावना कम रहेको स्थानीयहरू बताउँछन् ।

एमाले र कांग्रेसको मत काटिँदा नेकपालाई फाइदा

मतको हिसाबले तेस्रो भएपनि लोकप्रियताको हिसाबले नेकपाका उम्मेदवार नेम्वाङ चर्चित छन् । हुन त नेपाली कांग्रेसका केरुङ पनि तल्लो तहसम्म भिजेको नेता हुन । गुटगत राजनीति गरेर विगतमा आफ्नै उम्मेदवार हराउन लागिपरेको आरोप उनीमाथि छ।

यता तर नेकपा एमालेका उम्मेदवार आइन्द्रमाथि पनि आरोपहरू छन् । पूर्वमाले पृष्ठभूमि भएकाले उनीमाथि एमालेहरूले प्रश्न गर्छन् । हुन त २०७० सालको संविधानसभा सदस्य भएका आइन्द्रलाई एमालेका पूर्वसांसद वसन्तकुमार नेम्वाङजति मत नआउने आँकलन पनि गरिन्छ ।

परिस्थिति विश्लेषण गर्दा यहाँ एमालेको मत बाँसुरी चुनाव चिन्हमा बढी जाने अवस्था छ । किनकि मिक्लाजुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष उर्मिला राई सहित याङवरक गाउँपालिकाका एमालेका धेरै पुराना नेताहरू अहिले बाँसुरीतर्फ लागेका छन् । राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले यहाँ नेकपा एमाले र नेपाली कांग्रेसको असन्तुष्ट पक्षको मत काट्ने अवस्था छ ।

हुन त हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवार ब्रबिन शेर्माले पनि नेपाली कांग्रेस र नेकपा एमालेकै असन्तुष्ट पक्षको मत काट्ने देखिन्छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र विक्रम थम्सुहाङलाई पनि एमाले र कांग्रेसकै असन्तुष्ट मत जाने अवस्था छ ।

जिल्लागत नेताहरूको अवस्था हेर्दा नेकपामा पूर्वमाओवादी र एकीकृत समाजवादीले इमान्दारपूर्वक मत हालेको खण्डमा नेकपाको मत यताउता नहुने अवस्था छ । अहिलेसम्म कुनै पनि निर्वाचन फेस नगरेको उम्मेदवार भएकाले मतदाताले नयाँ हेर्ने रणनीति अपनाएमा नेकपा उम्मेदवार मिक्सोलाई चिट्ठा पर्ने अवस्था छ ।

जिल्लामा हेर्दा कांग्रेस अहिलेसम्म एक ढिक्क भएर निर्वाचनमा होमिएको देखिन्छ। २०७९ को निर्वाचनमा कांग्रेसमै अन्तर्घातका कारण पराजित भएका पार्टीका पूर्वसहममन्त्री भीष्मराज आङ्देमे समानुपातिक परेकाले केरुङलाई जिताउन लागिरहेका छन् ।

‘अहिलेको अवस्थामा कांग्रेस पाँचथरमा एक ढिक्का छ । सबै नेताहरू नरेन्द्र सरलाई जिताउन लाग्नुभएको छ’, जिल्ला सचिव दीपक नेपाल भन्छन, ‘कांग्रेसको संगठन तलसम्म पुगेको छ । अहिले पाँचथरमा यो या त्यो भन्ने गुटको खेल नभएका कारण कांग्रेसले बाजी मार्छ ।’

एमालेका उम्मेदवार नेमाङले पनि जित्ने निष्कर्ष कार्यकर्ताहरू सुनाउँदै हिँडेका छन्। ‘०७९ र २०७४ को निर्वाचनमा पनि अत्यधिक मतकासाथ एमाले विजयी भएको हो । योपटक पनि हाम्रो पक्षमा परिणाम आउँछ’, पार्टीको समानुपातिक सूचीमा रहेकी पूर्वमन्त्री वसन्त नेम्बाङ पत्नी भूमिका सुब्बा भन्छिन, ‘एमालेमा कुनै विवाद छैन । यस पटक आइन्द्र सुन्दरजीको विजय सुनिश्चित छ।’

नेकपा भने आफ्नो उम्मेदवार अहिलेसम्म परीक्षण नभएका कारण जनताले नयाँ खोजेकाले मिक्सोलाई जिताउने बताइरहेको छ। उँ

पाँचथरबाट प्रदेश सभा सांसद एवम् नेकपाका नेता इन्द्रबहादुर आङ्बो भन्छन, ‘स्वच्छ छवि भएको र जनताका हरेक समस्यामा हातेमालो गर्दै हिँडेको नेतृत्व भएकाले यसपटक मिक्सोलाई पाँचथरले जिताउँछ । हाम्रो पार्टीको मत अरुमा जाने सम्भावना न्यून छ। एमाले र कांग्रेसमा जस्तो असन्तुष्टि छैन।’

संगठनले एमाले बलियो, छविमा प्रश्न

पाँचथरमा संगठनका हिसाबले एमाले परम्परागत रूपमै बलियो शक्ति हो। अहिले बिरामी परेपछि नेता वसन्तको विकल्प खोजिएको छ। नेम्वाङले २०५१, २०५६, २०७४ र २०७९ मा जितेका थिए।

२०७९ को निर्वाचनमा विजयी नेम्बाङ एक वर्ष नबित्दै २०८० माघ १७ गते ताप्लेजुङमा बिरामी भए। उनी अहिलेसम्म तंग्रिएका छैनन्। त्यसकारण प्रतिनिधिसभामा पाँचथरको आवाज ओझेल परेको मतदाता बताउँछन् ।

काङ्ग्रेसमा अन्तर्घातका कारण २०७९ को निर्वाचनमा ४६ मतले भीष्मराज आङ्देम्बे पराजित भए । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेम्बाङलाई विकासवादी नेताका रूपमा चिनिने गरिन्छ।

तर जेन-जी आन्दोलनपछि फेरिएको परिस्थितिले यसपटक एमाले उम्मेदवार आइन्द्रसुन्दरलाई चुनौती रहेको विश्लेषण गर्न थालिएको छ।

२०७९ को निर्वाचनमा एमाले उम्मेदवार नेम्बाङले ३२ हजार १३५ मत ल्याए । कांग्रेसका भीष्मराज आङ्देमेले ३२ हजार ८९ मत ल्याए। त्यसबेला समानुपातिकमा पनि एमाले पहिलो दल थियो २६ हजार ५९२ एमालेको मत हुँदा कांग्रेसको १९४४ मात्रै थियो।

२०७४ सालको निर्वाचनमा पनि समानुपातिक मतमा एमाले पहिलो दल थियो। तर यो पटक एमालेमाथि विभिन्न प्रश्न उठेका कारण जित्न हम्मेहम्मे पर्ने अवस्था छ ।

त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रविक्रम थाम्सुवाङ पनि एमाले परित्याग गरेर उठेका छन् । उनीसँगै थुप्रै नेताहरु एमालेबाट असन्तुष्ट छन्।

पूर्वमाले पृष्ठभूमिका आइन्द्रलाई एमालेका शीर्ष र पुराना नेताहरूले पनि राम्रोसँग नस्वीकारेको अवस्था यहाँ छ। २०७४ को निर्वाचनमा प्रदेश सभा क बाट निर्वाचित डमरसिंह सम्बाहाम्फे लगायतका नेताहरू आइन्द्रलाई टिकट दिएकामा असन्तुष्ट छन् ।

प्रदेश सचिव तथा २०७९ को निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार राजकुमार भण्डारीको समूह पनि आइन्द्रसँग असन्तुष्ट छ। पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका श्री जवेगु पनि आइन्द्रलाई टिकट दिएको विषयमा असन्तुष्ट छन्। एमालेका धेरै नेताहरूले पाँचथरमा जवेगुले टिकट पाउनुपर्ने माग गरेका थिए ।

यसकारण बलियो संगठन हुँदाहुँदै पनि एमालेले योपटक अप्रत्याशित हार व्यहोर्न सक्ने अवस्था रहेको फिदिमका व्यवसायी भद्रमान राई बताउँछन्।

एमालेका उम्मेदवार आइन्द्र २०७९ को निर्वाचनमा प्रदेशसभा ख बाट पराजित भए । उनी जनतामा परीक्षण भइसकेका नेता हुन् । आइन्द्र पनि संगठन नबिग्रेको दाबी गर्छन्।

उनी मतदाताले आफूमाथि कुनै पनि प्रश्न नउठाइएकाले बाहिर नियतवश विवादित बनाइएको बताउँछन् । ‘एमालेमाथि र ममाथि मतदाताले कुनै रुपमा प्रश्न उठाउनुभएको छैन। संगठनका हिसाबले हामी ७ हजार मतले अगाडि छौं। त्यसकारण हाम्रो विजय सुनिश्चित छ’, भन्छन, ‘पाँचथरबासीको सिङ्गो मत नेकपा एमालेलाई जान्छ। हाम्रो पार्टीमा विवाद छैन । मतदाता पनि मप्रति उत्साहित हुनुहुन्छ। मेरो मुख्य प्रतिस्पर्धी सबैजना हो ।’

कांग्रेसका केरुङको दाउ

कांग्रेसका नरेन्द्र कुमार केरुङलाई पनि २०७९ मा आफ्नै पार्टीका नेता भीष्मराज आङ्देम्बालाई प्रतिनिधि सभा निर्वाचनमा हराउन लागेको आरोप छ ।
कांग्रेसमा गगन थापा पक्षीयउनी विशेष महाधिवेशनपछि केन्द्रीय सदस्य भएका छन्। दुई कार्यकाल जिल्ला सभापति सम्हालेका उनलाई पाँचथरमा गुटगत राजनीति फैल्याउने नायकसमेत भनिन्छ।

उनीसँग कांग्रेस संस्थापन पक्षका पुराना नेताहरू असन्तुष्ट छन्। २०७० मा संविधानसभाको निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर १ बाट नेकपाका गणेश काम्बाङसँग पराजित भएका उनी २०७४ मा प्रदेश सभा क मा पनि उनैसँग पराजित भए ।

२०७९ को निर्वाचनमा तत्कालीन लोकतान्त्रिक बाम गठबन्धन बनेका कारण उनले क बाट टिकट पाएनन् । टिकट नपाएकै कारण संघमा आङ्देम्बेलाई हराउन लागेको आरोप उनीमाथि कांग्रेसी नै लगाउँछन्।

२०७९ को निर्वाचनमा नियाल्दा कांग्रेसको समानुपातिक मत १९ हजार ४४ छ। २०७४ मा पनि नेकपा एमालेले पहिलो मत ल्याएको थियो । कांग्रेस दोस्रो स्थानमा थियो ।

एमालेमा चर्चित नेता उम्मेदवार नरहेको र असन्तुष्टि देखिएकाले कांग्रेसले इमान्दारपूर्वक मत लगाउँदा नरेन्द्रको जित सुनिश्चित रहेको जिल्लाका नेताहरू बताउँछन्।

तर २६ हजार मत कटाएको एमालेलाई १९ हजार समानुपातिक मत भएको कांग्रेसले जित्न ठूलै कायापलट गर्नुपर्ने अवस्था छ ।

केरुङ आफ्नो उम्मेदवारीलाई लिएर कांग्रेस एक ढिक्का भएकाले जित्न कुनै कठिन नभएको बताउँछन् । ‘जनताका हरेक समस्याहरूमा म घरघर पुगेर समाधान गर्दै आएको मान्छे हुँ। के चाहिन्छ त्यो सबै मलाई थाहा छ। यो पटक जसरी पनि मलाई जिताउन लागि पर्नुभएको छ’, नरेन्द्र भन्छन, ‘एमालेले २०७९ को निर्वाचनमा धाँधली गरेर जितेको हो यो पटक कांग्रेस जसरी पनि आउँछ।’

मिक्सोको एजेन्डा आफू नयाँ

यता नेकपाका उम्मेदवार हर्क नेमाङ मिक्सो जनतामा परीक्षण नभएको उम्मेदवार खोजेकाले आफूले जित्ने दाबी गर्छन्।

माओवादीको लहर चलेको बेला २०६४ मा पनि यहाँ माओवादी दोस्रो मात्रै भयो। प्रदेशमा माओवादीले जित्दै आए पनि प्रतिनिधिसभामा स्थान सुरक्षित राख्न सकेको छैन।

२०७९ को निर्वाचनमा पाँचथरमा माओवादीको १२,१६९ मत खसेको थियो । त्यसबेला तत्कालीन नेकपा एकीकृत समाजवादीलाई ३,३८६ मत आयो। नेकपाको सबै मत जोड्दा चानचुन १६००० मत छ। मतदाताले इमान्दारपूर्वक मत लगाएमा पनि एमालेलाई जित्न मिक्सोलाई कठिन छ।

साना दलहरूले एमाले र नेपाली कांग्रेसको मत काटेमा मिक्सोलाई चिट्ठा पर्ने अवस्था देखिन्छ। माओवादी आन्दोलनमा सहभागी मिक्सो अवसर नपाउने नेताको रुपमा चिनिन्छन् ।

इमान्दार छवि र जिल्लाका अप्ठ्यारोहरूमा जुधेका उनी जनार्दन शर्मानिकट नेता हुन् । तर जनार्दनले माओवादी छोडेर नयाँ पार्टी बनाएपछि उनी नेकपामै रहे ।

२०७९ र २०७४ को निर्वाचनमा तत्कालिन माओवादीबाट प्रदेशसभा ख मा इन्द्रबहादुर आङ्बो विजयी भएका छन्। ०७९ कै निर्वाचनमा प्रदेशसभा क बाट तत्कालीन नेकपा एकीकृत समाजवादीका कमल जबेगु विजयी भए । अहिले पाँचथरमा दुवै प्रदेशसभा सदस्य नेकपाका छन् त्यसकारण मसिनो गरी खटेको खण्डमा मिक्सोलाई चिठ्ठा पर्ने स्थानीयको आँकलन छ।

‘दुवै नेता नेकपाबाट निर्वाचित भएकाले उहाँहरुले राम्रो काम गरेकाले मिक्सोलाई चिट्ठा पर्न पनि सक्छ’, स्थानीय भगिराज आङ्देम्बे भन्छन, ‘प्रदेशमा ख बाट मिक्सोलाई कम भोट आए पनि क बाट बढी भोट आउने सम्भावना छ । ख बाट आइन्द्रसुन्दर नेम्बाङ उम्मेदवार भएकाले उनको पक्षमा बढी जान्छ। एमालेको असन्तुष्टले मिक्सोलाई भोट गरेमा चिठा पार्छन्।’

मिक्सो पनि यसपटक जनताले आफूलाई चुन्ने दाबी गर्छन्। ‘अहिलेसम्म जनताले मत लाउन नपाएको र म परीक्षण नभएकाले जनताको साथ मलाई छ’, मिक्सो भन्छन्, ‘घरदैलोमा हिँड्दा सहयोग र सम्मान पाइरहेको छु। उहाँहरू मप्रति उत्साहित हुनुहुन्छ।’

जातीय र पहिचान पक्षको मत तान्दै साना पार्टी

पाँचथरमा आदिवासी समुदायको लगभग आधाभन्दा बढी बसोबास छ । विशेषत लिम्बु समुदायको बसोबास रहेको यस क्षेत्रमा राई, मगर, तामाङलगायत समुदायहरू मिसमास छन् । पहिचान पक्षधर समूहबाट योपटक बाँसुरी चुनाव चिन्हका उम्मेदवार टेकबहादुर सुब्बालाई राम्रो मत आउने आँकलन गरिन्छ । सुब्बाको पक्षमा यहाँका पहिचानवादी नेता र आदिवासी जनजातिसँगै अन्य समुदायको पनि उत्साहपूर्ण भरोसा छ ।

उनले नेपाली कांग्रेस नेकपा एमाले र अन्य दलको मत काट्ने अवस्था छ । विगतमा आएको जनता समाजवादी पार्टी जसपा, संघीय लोकतान्त्रिक मञ्च लगायतका दलको मत पनि बाँसुरी चुनाव चिन्हमा जाने दाबी गरिन्छ । राष्ट्रिय परिवर्तन पार्टीका समानुपातिक उम्मेदवार डा. लावतीका अनुसार योपटक बाँसुरी चुनाव चिन्हमा पाँचथरे जनताहरू उत्साहित छन् ।

‘योपटक बाँसुरीलाई हेरौँ न त भन्ने धेरै मतदाताहरूको माग छ ।’ लावतीले भने, ‘आदिवासी जनजाति समुदाय मात्र होइन समग्र पाँचथरबासीले नै हामीलाई रुचाउनुभएको छ ।’ प्रत्यक्षसँगै परिवर्तन पार्टीलाई समानुपातिकमा पनि पाँचथरमा राम्रो मत झर्ने उनको दाबी छ । पाँचथरको याङवरक गाउँपालिका, फिदिम नगरपालिका, मिक्लाजुङ गाउँपालिका, कुम्मायक गाउँपालिका लगायतका क्षेत्रमा बाँसुरीका उम्मेदवार सुब्बा र समानुपातिकका उम्मेदवारहरूको चर्चा धेरै छ ।

यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार ब्रबिन शर्माको पनि उत्तिकै चर्चा देखिन्छ। गायक रहेका उनलाई पनि आदिवासी जनजाति समुदायले भोट दिने अवस्था छ । ब्रबिनको पनि हिलिहाङ गाउँपालिका, तुम्मेवा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फागुनन्द गाउँपालिकामा निकै चर्चा देखिन्छ । ब्रबिन पनि नेकपा एमाले नेपाली कांग्रेस र नेकपाको मत काट्ने अवस्था देखिन्छ ।

पाँचथरमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ को निर्वाचनमा समानुपातिक मत १९४८ ल्याएको थियो । यसपाली पनि रास्वपाले एमालेको ठूलो मत काट्ने अवस्था रहेको देखिन्छ । योसँगै थाम्सुहाङको पक्षमा पूर्वका कांग्रेस नेताहरू पनि छन् । कांग्रेसमा लामो समय राजनीति गरेका पाँचथरका प्रकाश गुरुङ लगायतको समूह पनि उनीसँग देखिन्छ । थाम्सुहाङलाई सहरी क्षेत्र फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिका, फालेलुङ गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका लगायतका क्षेत्रका मतदाताले भोट हाल्ने अवस्था रहेको देखिन्छ । थाम्सुहाङ आफू ढिलो प्रचारमा निस्केकाले घाटा लागेको बताउँछन् ।

‘अलि ढिलो गरी प्रचारमा निस्किएछ, अगाडि नै भएको भए हाम्रो जित सुनिश्चित थियो । अहिलेको अवस्था देख्दा पनि जितिन्छ भन्ने नै लागेको छ ।’ उम्मेदवार थाम्सुहाङ भन्छन, ‘हामीप्रति जनताहरू उत्साहित हुनुहुन्छ ।’

लामो समयदेखि पाँचथरमै रहेर विभिन्न अध्ययन अनुसन्धान गरिरहेका प्रोफेसर डा. मधु केरुङका अनुसार अहिले नै पाँचथरे जनताहरु मत परिवर्तन गरेर नयाँ पार्टी ल्याउने पक्षमा देखिएका छैनन् । उनी भन्छन, ‘नयाँ उम्मेदवारहरू पनि एक सय एक हुनुहुन्छ तर कम्पिटिसन तीन राजनीतिक दलहरूमा मात्रै हुने अवस्था छ। अन्य क्षेत्रमा जस्तो पाँचथरमा मतदाताहरू परिवर्तन भइहाल्ने पक्षमा छैनन् ।’

पाँचथरमा जम्मा १,४३,४०८ मतदाता छन् ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : २९ बजे

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ

पहिलोपटक आहा रारा पोखरा गोल्डकप फ्लडलाइटमा

पोखरा- पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइटमा फुटबल खेलाइएको छ । मोफसलको