काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गरेको पत्रमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ मुख्य नारा अघि सारिएको छ ।
पत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायलाई प्राथमिकता दिइएको छ ।
पार्टीले संविधान संशोधनमार्फत शासकीय स्वरूप परिमार्जन, सांसद संख्या घटाएर सानो मन्त्रिपरिषद् गठन र संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
‘व्यवस्था बदलेका हामीले हो, अब अवस्था पनि हामीले नै बदल्छौं’ भन्ने सन्देशसहित नेकपाले युवा पुस्ताको भावनालाई समेटेर संविधान संशोधनको प्रस्ताव गरेको छ ।
संविधान संशोधन र स्थिर सरकार
नेकपाले प्रतिबद्धता पत्रमा राजनीतिक अस्थिरताको अन्त्यका लागि संविधान संशोधन प्रस्ताव गरेको छ । बहुदलीय व्यवस्थापछि ३५ वर्षमा देखिएको अस्थिरताबाट देशले फड्को मार्न नसकेको निष्कर्षसहित शासकीय स्वरूपमा नयाँ सन्तुलन, खर्चिलो निर्वाचन प्रणाली परिवर्तन र सानो मन्त्रिपरिषद्को व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संघीयताको रक्षा’ लाई मुख्य नारा बनाउँदै पार्टीले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने, शिक्षा-स्वास्थ्यमा ६० प्रतिशत बजेट प्रदेश-स्थानीय तहबाट खर्च गर्ने र राष्ट्रिय सभालाई विशेष प्रतिनिधित्वको संस्था बनाउने प्रतिबद्धता गरेको छ ।
भ्रष्टाचारविरुद्ध कठोर नीति
नेकपाले भ्रष्टाचारलाई ‘क्यान्सर’ को संज्ञा दिँदै शून्य सहनशीलता नीति लागू गर्ने घोषणा गरेको छ । सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिनका लागि स्वतन्त्र उच्चस्तरीय आयोग गठन, लोकपाल गठन र खैरो सूचीबाट देशलाई छिट्टै निकाल्ने योजना सार्वजनिक गरेको छ ।
‘मुहाररहित, कागजरहित र नगदरहित प्रशासन’ लाई मुख्य नारा बनाउँदै ई-गभर्नेन्स ब्लुप्रिन्ट लागू गर्ने, मेरिट र परफर्मेन्समा आधारित कर्मचारी व्यवस्था र ५ वर्षभित्र सरकारी सेवामा ३० प्रतिशत नयाँ जनशक्ति भित्र्याउने प्रतिबद्धता जनाएको छ ।
१० प्रतिशत वृद्धि र ५ लाख रोजगारीको लक्ष्य
नेकपाले ‘आर्थिक सुधारको नयाँ चरण’ मार्फत समाजवादका आधार निर्माण गर्ने लक्ष्य राखेको छ । आगामी ५ वर्षभित्र दोहोरो अंक (१० प्रतिशतभन्दा माथि) आर्थिक वृद्धिदर हासिल गर्ने, बहुआयामिक गरिबी २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने र प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।
‘उत्पादनमूलक रोजगारी, आत्मनिर्भर अर्थतन्त्र’ नारासहित कृषि, उद्योग, पर्यटन, ऊर्जा र डिजिटल क्षेत्रमा जोड दिइएको छ । बाँझो जग्गा, नदी-वन-खानीको उत्पादनमूलक उपयोग, रिटर्नी उद्यमशीलता कार्यक्रम र सहकारीलाई चौथो खम्बा बनाउने योजना समेटिएको छ ।
कृषि क्रान्ति र भोकमुक्त नेपाल
नेकपाले कृषिलाई मुख्य प्राथमिकता दिँदै २ वर्षभित्र देशलाई भोकमुक्त घोषणा गर्ने लक्ष्य राखेको छ । धान, गहुँ, मकै, तरकारी, दूध, मासुमा २ वर्षभित्र आत्मनिर्भरता हासिल गर्ने, किसान परिचयपत्र वितरण, न्यूनतम समर्थन मूल्य र डिजिटल बजार प्रणाली लागू गर्ने योजना सार्वजनिक गरेको छ ।
‘खाद्य सम्प्रभुता र पोषण सुरक्षा’ लाई मुख्य नारा बनाउँदै प्राङ्गारिक कृषि, जलवायु अनुकूल प्रविधि, महिला-युवा किसान लक्षित कार्यक्रम र सिँचाइ विस्तार (५ वर्षमा ८० प्रतिशत सिँचाइयोग्य भूमिमा पुग्ने) मा जोड दिइएको छ ।
पार्टीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई २ वर्षभित्र लालपूर्जा वितरण गरी नेपाललाई भूमिहीनता र सुकुम्बासीमुक्त बनाउने प्रतिबद्धता गरेको छ ।
यी प्रतिबद्धताहरूले नेकपाले क्रान्तिकारी शक्ति र समाजवादी दृष्टिकोण बोकेको दाबी गरेको छ । पार्टीले मतदातालाई ‘व्यवस्था बदलेका हामी, अवस्था पनि हामीले नै बदल्छौं’ भन्दै तारा चिन्हमा भोट माग्ने तयारी गरेको छ ।













प्रतिक्रिया