सूर्यमुखी बगानले बढायो कृषि पर्यटन « Khabarhub

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ ।

यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही अध्ययन–अवलोकन गर्दै र कोही फोटो खिच्दै रमाइरहेका देखिन्छन् । फूलमा मौरीले रस सङ्कलन गर्दै बगानभरि घुमिरहेको दृश्य र बाली जोगाउन सुगालगायत चरालाई भगाउन राखिएका ‘डमी’ले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ । बगानको बीच भागमा निर्माण गरिएका मचानमा बसेर चारैतिर फैलिएको सूर्यमुखी बारी अवलोकन गर्दा निकै रमाइलो अनुभव गर्न सकिन्छ ।

भरतपुर–३ बाट अवलोकन गर्न आएका पवन अधिकारी र उल्झना अधिकारीले यहाँको वातावरण निकै रमाइलो लागेको बताए । उनीहरूले अन्यलाई पनि यहाँ आएर फूलको सौन्दर्य अवलोकन गर्न र केही समय मन प्रफुल्लित बनाउन आग्रह गरे ।

त्यसैगरी, समूहमा यहाँ घुम्न आएका गीता खड्का, आस्मा गुरुङ, जेनी चौधरी,  सानु चौधरी र साना चौधरीले पनि बगान निकै आकर्षक रहेको बताए  । नारायणगढबाट आएका उनीहरूले अघिल्लो वर्ष आउने योजना भए पनि फूल सुकेको हुँदा आउन नपाएको र यस वर्ष भने फूल फुलेको समयमा आएको बताए । टिकटकमा देखेर यहाँ आउन प्रेरणा मिलेको उनीहरूको भनाइ छ ।

एग्रो–इको टुरिजम प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यस बगानले यस क्षेत्रलाई चहलपहल बनाउनुका साथै युवाहरूलाई कृषि क्षेत्रमा लाग्न प्रेरणा पनि दिएको छ । हाल यहाँ दैनिक चारदेखि पाँच सयसम्म मानिस विभिन्न स्थानबाट अवलोकन गर्न आउने गरेका छन् । फूल फुल्ने समय सीमित हुने भएकाले यस अवधिमा आगन्तुकको भीड बढी हुने गरेको छ । 

अधिकारीले भने, ‘धेरैजसो रमाउन, फोटो खिच्न र टिकटक बनाउन आउनुहुन्छ । कतिपय भने खेतीबारे बुझ्न पनि आउनुहुन्छ । बीउ कहाँ पाइन्छ ? ‘मेरो पनि जग्गा छ, म पनि लगाउँछु’ भन्दै सल्लाह लिन आउनुहुन्छ । सकेसम्म मैले जानेको कुरा सिकाएर पठाउने गरेको छु ।’ युवाहरूमा पनि यस खेतीप्रति आकर्षण बढ्दै गएको र कृषि पर्यटनको सम्भावना देखिएको उनको भनाइ छ ।

प्राङ्गारिक किसान अधिकारीले कुनै पनि रासायनिक मल वा विषादी प्रयोग नगरी खेती गर्न थालेको ३६ वर्ष भएको बताउँछन् । उनको अग्रसरतामा जिल्लाका केही स्थानमा प्राङ्गारिक कृषि प्रणाली पनि अपनाइएको छ । यहाँ उनले सूर्यमुखीसँगै गाजर, चुकन्दरलगायतका खेती पनि गर्दै आएका छन् ।

उनका अनुसार गत वर्ष यहाँ गाजर र चुकन्दरखेती गरिएको थियो भने अघिल्लो वर्ष पनि सूर्यमुखी लगाइएको थियो । यस वर्ष पुनः सूर्यमुखी खेती गरिएको उनले बताए । 

अघिल्लो वर्ष आगन्तुकबाट राम्रो प्रतिक्रिया प्राप्त भएपछि यस वर्ष पनि सूर्यमुखी लगाइएको र हालसम्म राम्रो भइरहेको उनको भनाइ छ । उनका अनुसार यस बगान स्थापना गर्न रोपाइँ, गोडमेल र व्यवस्थापनमा ठूलो लगानी गरिएको छ । 

उनले तेलबाली अनुसन्धान कार्यक्रम सर्लाहीबाट बीउ ल्याएर यहाँ सूर्यमुखीखेती गरेका हुन् । यहाँ उत्पादन हुने प्राङ्गारिक वस्तुको बजारको समस्या नभएको उनले बताए । काठमाडौँस्थित अर्ग्यानिक मार्टमा यहाँका उत्पादन जाने गरेका छन् । सूर्यमुखीको तेल प्रतिलिटर रु ८०० मा बिक्री हुने उनको भनाइ छ ।
 
उनका अनुसार मङ्सिरको सुरुमा रोपिएको सूर्यमुखी चैतमा उत्पादन दिन्छ । यही समयमा फूल फुल्ने भएकाले मानिसहरू अवलोकन गर्न आउने गरेका हुन् । ‘फूल फुल्ने समयमा कृषि पर्यटनसँग जोडिएको छ’, उनले भने, ‘मैले सुरुमा पर्यावरणमैत्री कृषि गरिरहेको थिएँ, पछि यससँग पर्यटन पनि जोडियो ।’ 

कृषिमा अत्यधिक नाफाको अपेक्षा गर्नु नहुने उनी बताउँछन् । ‘कृषि गर्नु आफैँमा आनन्दको विषय हो’, उनले भने । अवलोकनका लागि आउने आगन्तुकबाट आफूलाई पनि हौसला मिलेको उनको भनाइ छ ।

नेपालको भौगोलिक विविधताले फरकफरक स्थानमा फरक किसिमको कृषि प्रणाली अपनाउन सकिने सम्भावना रहेको उनले बताए । ‘हरेक भूगोलअनुसार उत्पादन गरेर देशलाई आवश्यक पर्ने वस्तु उपलब्ध गराई बाँकी निर्यात गर्न सकिन्छ’, उनले भने, ‘यसका लागि कृषि विज्ञको परामर्श र नीति निर्माताको सहयोग आवश्यक छ ।’ 

नेपालमा कृषिको सम्भावना राम्रो रहेको उल्लेख गर्दै उनले जानेर–बुझेर तथा विज्ञको सल्लाह लिएर फरकफरक प्रकारका कृषिबाली र कृषि पद्धति अपनाउन सके राम्रो हुने सुझाव दिए । रासस
 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ११ : २८ बजे

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, आरोपित चार जना पक्राउ

काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको

पर्साबाट दुई सय तेह्र किलो गाँजा बरामद

काठमाडौँ- प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौँ- हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु

तेल सङ्कटले एसियामा खैलाबैला

काठमाडौं- मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं- जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को