आर्थिक उपार्जनका लागि कफीखेती अभियान « Khabarhub

आर्थिक उपार्जनका लागि कफीखेती अभियान


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै कफीको बोट रोप्नका लागि खाल्डो खन्ने काममा व्यस्त छन्। 

उनले आफ्ना बारीका पाटाभरि कफीका बिरुवा रोप्न ज्यालामा पाँच जना खेताला लगाएर खाल्डो खनिरहेका छन् । अन्य अन्नबाली खेतीभन्दा कफीबाट बढी आम्दानी हुने भएपछि मगरले केही वर्षदेखि कफी खेतीलाई प्राथमिकता दिएका हुन् । 

मकै खेती गर्दा उत्पादन कम हुने र भएको अन्नबाली जंगली जनावर बाँदरले नोक्सान गर्न थालेपछि कफी खेतीतर्फ आकर्षण बढेको उनले बताए। यस वर्ष मात्रै करिब ८०० खाल्डो खनिसकिएको र अझै खन्ने काम बाँकी रहेको मगरको भनाइ छ ।

यस्तै महाभारत–५ चौडिक भोर्लेनीका हिराबहादुर राना मगरले पनि कफीको बिरुवा रोप्न यस वर्ष करिब तीन रोपनी क्षेत्रफलमा खाल्डो  खनिसकेका छन् । धेरै वर्षअघि रोपेका बोटबाट उत्पादन आउन थालेको उनले बताए। 

यसअघि काठमाडौँमा व्यवसाय गर्दै आएका उनी विगत दुई वर्षदेखि गाउँमै बसेर कफी खेतीमा लागेका हुन् । अन्य अन्नबालीभन्दा कफीबाट बढी आम्दानी हुने भएकाले यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।

यसैगरी रामकुमार लुङ्गेली मगरले पनि यस वर्ष २०० भन्दा बढी खाल्डो खनिसकेका छन् । उचित स्याहार र सिँचाइको व्यवस्था गर्न सके रोपेको दुई वर्षदेखि नै उत्पादन दिन थाल्ने उनले बताए। महाभारत गाउँपालिकाका कफी उत्पादन हुने बस्तीमा व्यापारी घर–घरमै कफी खोज्न आउन थालेपछि यहाँका किसान कफी खेतीतर्फ थप आकर्षित भएका छन् । 

बागमती प्रदेश सरकार र महाभारत गाउँपालिकाको सहयोगमा कफी खेती प्रवर्द्धन हुँदै आएको छ । महाभारत साना किसान तथा कृषि सहकारी संस्थाका प्रबन्धक चन्द्रकुमार लुङ्गेली मगरका अनुसार प्रदेश सरकारको ६०, गाउँपालिकाको २० र किसानको २० प्रतिशत लागत साझेदारीमा व्यावसायिक कफी खेती भइरहेको छ । गत वर्षदेखि सुरु भएको अभियानअन्तर्गत यस वर्ष ३० हजार कफीका बिरुवा रोप्ने लक्ष्य रहेको उनले बताए।

महाभारत–५ का किल्ला, भलडाँडा, भोर्लेनी र चौडिकलगायत बस्तीका किसान बिरुवा रोप्न बारीमा खाल्डो खन्ने क्रममा छन् । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार वडा नं १, २, ४, ५ र ८ लाई कफी उत्पादन क्षेत्रका रूपमा पहिचान गरिएको छ । विगत करिब चार वर्षदेखि बिरुवा वितरण तथा आवश्यक औजार–उपकरण उपलब्ध गराएर किसानलाई सहयोग गर्दै आएको उनले बताए।

पालिकाले वडा नं ५ मा ‘एक वडा एक उत्पादन’ कार्यक्रम र ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २०’ कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्दै आएको छ । गत वर्ष ३८ हजार बिरुवा वितरण गरिएकामा यस वर्ष वडा नं ५ लाई कफी हबका रूपमा विकास गर्न करिब ३० हजार बिरुवा वितरण गर्ने योजना रहेको छ । समग्रमा यस वर्ष एक लाख बिरुवा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष जिम्बाले जानकारी दिए । 

उत्पादन र गुणस्तर राम्रो भएको महाभारत गाउँपालिकामा कफीको बजारीकरण पनि सन्तोषजनक छ । गाउँपालिकाका अनुसार यस वर्ष मात्रै ८० टनभन्दा बढी कफी उत्पादन तथा निर्यात भएको छ ।
 

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १२ : ३१ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त