इस्लामावाद– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इजरायललाई पृथ्वीको ‘क्यान्सर’ र ‘मानवताको अभिशाप’ भनेका छन्।
पछिल्लो केही दिनयता लेबनानमा नरसंहार मच्चाइरहेको इजरायलबारे पाक रक्षामन्त्रीले अहिलेसम्मकै कडा टिप्पणीसहित आलोचना गरेका हुन्।
इजरायलले बिहीबार बिहान लेबनानमा बम वर्षा गरेर १० मिनेटमै ३०० भन्दा बढी मानिसको ज्यान लिएको छ । उक्त घटनामा करिब १२०० जना घाइते बनाएको एक दिनपछि उनले यस्तो कडा टिप्पणी गरेका हुन्। उक्त आक्रमण अमेरिका र इरानबीच अस्थायी युद्धविराममा सहमति भएको तुरुन्तपछि भएको थियो।
आसिफले बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘इजरायल दुष्ट र मानवताको अभिशाप हो। इस्लामाबादमा शान्ति वार्ता भइरहेका बेला लेबनानमा नरसंहार भइरहेको छ।’
उनले इजरायलले राक्षसी शैलीमा नरसंहार मच्चाइरहेको बताएका छन् । ‘निर्दोष नागरिकहरू मारिएका छन्, ‘पहिले गाजा, त्यसपछि इरान र अहिले लेबनान। रक्तपात निरन्तर जारी छ।’
आसिफले थप टिप्पणी गर्दै प्यालेस्टाइनको भूमिमा ‘क्यान्सरजस्तो राज्य’ बनाउनेहरू नर्कमा जलून् समेत भनेका छन् ।
‘युरोपेली यहूदीहरूबाट छुटकारा पाउन प्यालेस्टाइनको भूमिमा यो ‘क्यान्सरजस्तो राज्य’ बनाउनेहरू नर्कमा जलून् भन्ने कामना गर्छु’, उनले अझै कडा टिप्पणीसहित भनेका छन् ।
अमेरिका-इरान युद्धविराम र वार्ता
यस साता इरानले पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग दुई साताको अस्थायी युद्धविराममा सहमति जनाएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको धम्कीपछि सम्भावित वार्तातर्फ यो कदम अघि बढाइएको मानिएको छ।
शनिबार अमेरिका र इरानका अधिकारीहरू इस्लामाबादमा भेटेर वार्ता गर्ने भएका छन्। पाकिस्तानले यो युद्धविरामको मध्यस्थता गर्नुका साथै गोप्य वार्ताको समेत आयोजना गरिरहेको छ।
युद्धविरामपछि लेबनानमा आक्रमण
तर पाकिस्तानले युद्धविराम घोषणा गरेलगत्तै इजरायलले लेबनानका १०० भन्दा बढी स्थानमा बम आक्रमण गरेको बताइएको छ। यसलाई सन् १९९० मा गृहयुद्ध अन्त्य भएयताकै सबैभन्दा भीषण सामूहिक हत्यामध्ये एक मानिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यी आक्रमणमा अधिकांश सर्वसाधारण नागरिक मारिएका छन्। यसप्रति आक्रोशित पाकिस्तानले तुरुन्तै लेबनानमा आक्रमण रोक्न माग गर्दै अमेरिका–इरान वार्तालाई असफल बनाउन इजरायलले प्रयास गर्न सक्ने चेतावनी दिएको छ।
इस्लामाबाद र तेहरानले लेबनानलाई पनि अमेरिका–इरान युद्धविरामको भाग भएको बताएका छन् । इजरायल र अमेरिकाले त्यसलाई अस्वीकार गरेका छन्।
बेरुतले भने लेबनानलाई व्यापक युद्धविरामको दायरामा राख्न पाकिस्तानसँग आग्रह गरेको छ।
इजरायलको प्रतिक्रिया
उता बेन्जामिन नेतान्याहुको कार्यालयले आसिफको टिप्पणीको कडा आलोचना गर्दै ‘इजरायलको विनाशको आह्वान अस्वीकार्य’ भएको जनाएको छ।
उसले यस्तो अभिव्यक्ति कुनै पनि सरकारबाट स्वीकार्य हुन नसक्ने जनाएको छ । विशेषगरी आफूलाई शान्ति मध्यस्थकर्ता बताउने देशबाट आएको अभिव्यक्तिको उसले निन्दा गरेको छ।
इजरायलका विदेशमन्त्री जिडेवन साआरले ‘यहूदी राज्यलाई ‘क्यान्सर’ भन्नु वास्तवमा यसको विनाशको आह्वान गर्नु हो’ भनेका छन्।
उनले थपे, ‘इजरायलले आफूलाई नष्ट गर्न खोज्ने आतङ्ककारीहरूविरुद्ध आत्मरक्षा गर्नेछ।’













प्रतिक्रिया