पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक सामान्यजस्तै थियो। मानिसहरू आफ्नै काममा व्यस्त थिए। तर चैत २५ गतेको त्यो साँझ, केही मिनेटमै एक यस्तो घटना भयो, जसले सिंगो समाजलाई नै स्तब्ध बनायो।
४२ वर्षीया सिर्जना पौडेल केसी आफ्नो पसल बन्द गरेर पैदलै घर फर्किँदै थिइन्। सिर्जना पोखरा महानगरपालिका-५ जिरोकिलो घर भई हाल वडा नम्बर १८ सेदीमा बस्दै आएकी थिइन् ।
समय थियो साँझ ७ बजेर ६ मिनेटको। उनी जब पोखरा–बागलुङ सडक खण्डको शिवालय चोक नजिक पुगिन्, तब अचानक पछाडिबाट आएका एक व्यक्तिले धारिलो हतियारले हाने । आक्रमण यति आकस्मिक र क्रूर थियो कि सिर्जना गम्भीर घाइते भएर त्यहीँ ढलिन्।
सडकमै ढलेकी उनलाई रक्ताम्य र घाइते अवस्थामा तत्कालै गण्डकी मेडिकल कलेजमा लगियो। तर चिकित्सकले त्यही राति ८ बजेर १८ मिनेटमा उनलाई मृत घोषित गरे। पोखराको त्यो सडकको एक सामान्य दिन, एकाएक एउटा जीवनको दु:खद अन्त्यमा बदलियो।
घटनापछि कास्की प्रहरी तत्कालै सक्रिय भयो। अनुसन्धान क्रमशः अघि बढ्दै जाँदा रहस्यका पर्दा खुल्दै गए। केही दिनमै प्रहरीले दुईजना अभियुक्तलाई पक्राउ गर्न सफल भयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बाटोमा हिँडिरहेको अवस्थामा सिर्जनाको हत्या गर्ने कार्यमा संलग्न पर्वत कुश्मा नगरपालिका-११ सिल्मीका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखरा-१७, रातोपैह्रो बस्दै आएका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । सन्तोष पनि पोखरा-१६ मा बस्दै आएका थिए ।
सन्तोषलाई रुपन्देहीको बुटवलस्थित मनकामना टोलबाट प्रहरीले समात्यो । उता कुशललाई पोखराबाटै पक्राउ गरिएको हो। यी दुवैजनाको विगत पनि सामान्य थिएन। सन्तोष यसअघि अभद्र व्यवहार, चोरी र डाँकासम्बन्धी घटनामा संलग्न रहिसकेको खुलेको छ। उता कुशल लागुऔषध मुद्दामा जेल परिसकेका व्यक्ति थिए।
प्रहरी अनुसन्धानले यो कुनै आकस्मिक आक्रमण मात्रै नभएर योजनाबद्ध हत्या रहेको निष्कर्ष निकालेको छ। आक्रमणकारीले अनुहारमा मास्क र हेलमेट लगाएका थिए। स्कुटरको नम्बर प्लेटसमेत छोपेर सिर्जनामाथि आक्रमण भएको थियो । उनीहरूले योजनावद्ध रुपमा आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए ।
सिर्जनाको हत्यामा शिशिरलाई सघाएका ३२ वर्षीय कुशल परियारले स्कुटर हाँकेका थिए । उता स्कुटर पछाडि बसेका शिशिरले बत्ती नभएको अँध्यारो बाटोमा सिर्जनामाथि खुँडा बर्साए ।
नम्बर छोपे पनि सिर्जनाको हत्याका क्रममा उनीहरूले चढेको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा महानगरपालिका-७ मुस्ताङ चोकबाट बरामद गरिएको। सिर्जनाको हत्यामा प्रयोग गरेको धारिलो हतियार (खुँडा) पनि पोखरा–१६ बिरौटास्थित तितेपानी जंगलबाट प्रहरीले बरामद गरिसकेको छ।
प्रहरीको अनुसन्धानले अर्को गम्भीर पाटो पनि उजागर गरेको छ। उक्त हत्या पारिवारिक विवादसँग जोडिएको खुलेको छ। सम्पत्तिसम्बन्धी झगडा र बेमेलले स्थिति जटिल बनाएर हत्यासम्मको अवस्था निम्तिएको अनुसन्धानले खुलाएको छ।
व्यवसायी सिर्जना, पोखरामा ‘खसी किन्ने किस्ने’ नामले परिचित कृष्ण क्षेत्रीकी दोस्रो श्रीमती थिइन्। कृष्णकी पहिलो श्रीमतीबाट एक छोरा र दुई छोरी थिए। तीन वर्षअघि कृष्णको मृत्यु भइसकेको छ। त्यसपछि सिर्जना ४ वर्षीया छोरीसँग एक्लै बस्दै आएकी थिइन्।
सिर्जनामाथि खुँडा हान्ने काममा संलग्न शिशिर नातेदार नै हुन्। उनी कृष्ण क्षेत्रीकी जेठी श्रीमतीका भाञ्जा हुन्। साइनोले उनी सिर्जनाका पनि भाञ्जा नै हुन्। तर, सौताबीचको अंश विवादमा नातेदारकै प्रयोग गरेर सिर्जनाको ज्यान लिइएको खुलेको छ।
यसैबीच, बकसपत्रसम्बन्धी मुद्दामा अदालतले सिर्जनाको पक्षमा फैसला गरिदिएपछि परिवारभित्रको तनाव अझै बढेको कुरा प्रहरीको अनुसन्धानले खुलाएको छ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराई र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यस घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानबाट कृष्णका जेठी श्रीमतीतर्फका छोरा लागूऔषध मुद्दामा जिल्ला कारागार कास्कीमा थुनामा रहेको पनि प्रहरीले जनाएको छ।
अहिले प्रहरीले दुवै अभियुक्तमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रक्रिया अघि बढाएको छ।
यसका साथै घटनामा अन्यको संलग्नता भए नभएको विषयमा अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ। यो घटनाले ‘कहिलेकाहीँ सबैभन्दा खतरनाक संघर्ष बाहिर होइन, घरभित्रै लुकेको हुन्छ’, भन्ने उक्तिलाई फेरि प्रमाणित गरिदिएको छ।













प्रतिक्रिया