एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ? « Khabarhub

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?



काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिशोधको आधारमा पक्राउ गरेको भन्दै कार्यकर्ता र समर्थकले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरे । त्यही बेला माइतीघरमा न्यायका लागि धर्नामा बसेकी एक जना महिलामाथि एमालेका समर्थक एक्कासी जाइलागे । धर्ना बसेकी उनी थिइन्– कालीकोट शुभकालिका गाउँपालिका–६ की जमुना खत्री ।

कर्णालीका एमाले नेता कर्णबहादुर मल्लले आफूमाथि बलात्कार गरेको भन्दै उनी आमरण अनसनमा बसेकी थिइन् । उनले मल्लको तस्बिरमा एमालेको चिन्ह प्रयोग गरेको भन्दै कार्यकर्ताले लछारपछार पारेका थिए । पार्टीले नभइ व्यक्तिले बलात्कार गरेको एमाले कार्यकर्ताको तर्क थियो ।

सुरुमा जिल्ला प्रहरी परिसर ललितपुरमा भ्रुणहत्यासम्बन्धी जाहेरी दिएकी पीडितले पछि बलात्कारको जाहेरी दर्ता गराएकी थिइन् । नेता मल्ल मुगुको सोरु गाउँपालिका–१० का स्थायीबासी हुन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ बस्दै आएका उनलाई प्रहरीले चैत १४ गते पक्राउ गरिसकेको छ ।

तर धरौटीमा निस्कने सम्भावना देखेपछि जमुना पुनः माइतीघरमै धर्नामा छिन् । बलात्कारीले खुला आकाशमुनि हिँड्न पाउनुहुँदैन भन्दै उनी एक्लै सडकमा छिन् । उनलाई नेताको आवरणमा शक्ति लगाएर आरोपी छुट्ने डर छ । आफ्नो ज्यानको सुरक्षाको अनुभूति नभएका भन्दै उनले मल्लले आजीवन कारावास पाउनुपर्ने माग गरेकी छिन् ।

नागरिकको हक अधिकारको सुनिश्चितताको लागि ऐन कानून निर्माण गर्ने नेताबाटै बलात्कृत भएपछि आफू असुरक्षित भएको भन्दै उनी धर्नामा बसेकी हुन् । उनले आफ्नो पीडा खबरहबलाई सुनाएकी छिन् ।

मल्लसँगको भेट

मल्लसँग २०८० सालमा साथीमार्फत चिनजान भएको हो । उसकै गाउँको एक जना मेरी साथी थिइन् । उसले घुम्न जाउँ भनेपछि सँगै गएका थियौँ । चिनजान भएपछि फोन नम्बर आदान प्रदान भयो । उसले आफूलाई श्रीमतीले छाडेको भन्दै मसँग नजिक हुन थाल्यो । श्रीमती अर्कै केटासँग लागेर छाडेको भन्थ्यो । एक्लो भएँ, बुढेसकालमा मेरो सहारा कोही हुने भएन भनेर रुने गर्थ्यो । खाना पकाएर दिने मान्छे भएन, कहिले होटलमा खान्छु, कहिले भोकै सुत्छु भन्थ्यो ।

आफूलाई दुःखी देखाएर मेरो नजिक हुने प्रयास गर्थ्यो । सुरुमा मलाई मन परेको थिएन । उ उमेरले पनि मभन्दा २५ वर्षले जेठो मान्छे हो । मलाई प्रेम गरे पनि घरबार गर्ने साथी चाहिएको थियो । तर, उसले फकाउँदै गयो । केटी मान्छेको मन त हो, फेरि मायाले कसको मन पग्लिदैन ? म पनि पत्थरले बनेको मान्छे त होइन । उसको दुःख सुन्दै जाँदा माया लाग्दै गयो ।

मेरो भाग्यमा यस्तै लेखेको रहेछ भन्ने लाग्यो । नेता हो, म भन्दा ठूलो मान्छे हुँ भन्थ्यो । तर उमेरमा धेरै अन्तर थियो । मैले उसको पावर र पैसा हेरेर प्रेम गरेँ भन्ने आरोप लगाउनेहरुले हामीबीचको उमेर पनि हेर्नुपर्‍यो । उ मेरो जीवनमा नआएको भए मेरै स्तरको जीवनभरसाथ दिने साथी खोज्थेँ । जीवन बर्बाद हुँदैनथ्यो ।

तर, मैले उसको दुःखसँग प्रेम गरेको थिएँ । उसले सोझी केटीलाई फसाउने मनशायले सुरुदेखि नै निकट भएको थियो । यसको कोही छैन, केही गर्न सक्दिन भनेर सिकारीजस्तो पासो लगाएको थियो । त्यो मान्छेले प्रेम गर्‍यो भनेर कसरी भन्नु ? आज मलाई घर न घाटको स्थितिमा छोड्यो । अबोर्सन गरेर शरीर छियाछिया बनाइदियो । जसले सडकमा यो हालतमा छोडेर हिड्नसक्छ त्यो कसरी प्रेमी हुनसक्छ ? कलकलाउँदो मेरो जीवन पूरै बर्बाद बनाइदियो । हामीबीचको सम्बन्धलाई कसरी प्रेमको नाम दिने ?

बदनाम गर्ने प्रयास

मेरो अर्कै मान्छेसँग बिहे भएको भनेर एउटा पुरुषसँग फोटो जोडेर सञ्जालमा हालेका छन् । तर, मेरो कसैसँग बिहे भएको छैन । फोटो जोडेर मात्रै बिहे भएको प्रमाणित गर्न सकिँदैन । त्यसले अन्यायमा परेको नारीको चरित्रहत्या मात्रै गर्नसक्छ । त्यो हदसम्म निच व्यवहार गरेका छन् । यस्तो काम गर्ने उसैका कार्यकर्ता हुन् । बिहे गरेको भए सम्बन्धित निकायमा दर्ता हुन्छ । एमाले पार्टीले बलात्कारको अपराधीलाई सधै जोगाउँदै आएको कुरा सबैलाई जगजाहेर छ ।

मलाई चुप लगाउन त्यस्तो हर्कत गरेका हुन् । तर, म त्यति कमजोर पनि छैन । अन्यायमा परेको मान्छे कमजोर हुँदैन । घाइते बघिनी जति खतरनाक अरु हुँदैन । आफ्नो अधिकारको लागि लड्नसक्छु । कसैको साथ नहुँदा पनि एक्लै माइतीघरमा धर्ना बसेको छु । म कमजोर हुनलाई यहाँभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

बदनाम गर्ने प्रयास गरेकाविरुद्ध मैले साइबर ब्यूरोमा उजुरी दिएकी छु । ममाथि अन्याय गर्ने कर्णविरुद्धको लडाईँ हो । यो लडाईंले अरु कुनै व्यक्ति र संगठनसँग सरोकार राख्दैन । किन अरुले ममाथि प्रहार गर्नुपर्‍यो ? आरोप भनेको नभएको कुरा लगाएकालाई भनिन्छ ।

तर, उसले मलाई छोयो भन्ने आरोप हो । उसले अपराध गरेको मसँग प्रमाण छन् । त्यसकारण अपराधीलाई सजाय होस् भनेर न्याय माग्न माइतीघर आएकी हुँ । प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको कारण धर्नामा बस्न बाध्य भएकी हुँ ।

गायनयात्रा

म सुदूपश्चिमको मान्छे भएको कारण देउडा गीतमा रुचि छ । सानैदेखि गीत गाउथेँ । स्कुल र गाउँमा हुने सांस्कृतिक कार्यक्रममा गाउँथे । गायक बन्ने सपना थियो । तर, मैले आफ्नो कला देखाउने ठाउँ पाइरहेको थिइनँ । मैले दोहोरी गीत गाएर फेसुबकमै लाइभ हाल्थेँ । मलाई मेरो सपना साकार पार्नमा साथ दिने साथी खाजेकी थिएँ ।

तर, हेर्नु त देउडा गायनमा अब्बल गायिका हुनुपर्ने मान्छे, मलाई कुन अवस्थामा देख्नुभएको छ । अपराधिक मानसिकतालाई समयमै बुझ्न नसक्दा म कुन हालतमा छु । मेरो आफ्नौ यूट्युब च्यानल छ । त्यसमा लाइभ देउडा गीतहरु गाएको छु । गीतको एल्बम निकाल्ने ठूलो सपना थियो । देशभरकाले नचिनेपनि कलाकारको रुपमा कम्तिमा देउडा सुन्नेहरुबीच रहन चाहन्थेँ । तर आज सबै सपना ध्वस्त भयो ।

परिवार

मेरा आमाबुवा हुनुहुन्न । ६ जना दाजुभाइ दिदीबहिनीमध्ये म जेठी छोरी हुँ । सबै भाइबहिनी हुर्काएँ । अहिले सबैजना जागिरमा छन् । उनीहरु सबैको राम्रो छ । तर उनीहरुले दिदी अन्यायमा परिछे भनेर मेरो न्यायको लागि एक शब्द बोलेको थाहा छैन । न उनीहरु यहाँ मलाई भेट्न आएका छन् । परिवारको सदस्यकै साथ नभएकोलाई सबैले हेप्ने रहेछन् । तर म एक्लै काफी छु । सत्य सधैँ एक्लै हुन्छ भन्छन् नि, त्यस्तै छु ।

घटना के थियो ?

मलाई उसले बारम्बार गर्भनिरोधक पिल्स खुवाउदै आएको थियो । त्यही पिल्सको असरले मेरो अनुहार र शरीर कस्तो भयो, हेर्नुहोस् त । त्यो पिल्स कहिलेकाँही अकस्मातमा मात्रै खान मिल्ने रहेछ । तर उसले रेगुलर खुवायो । यसबारेमा मलाई पछिमात्रै थाहा भयो । माया गर्ने मान्छेले राम्रै औषधि खुवायो भन्ने लागेको थियो ।

अन्तिम समयमा पेटमा ६ हप्ताको बच्चा बसिसकेको रहेछ । म बच्चा फाल्न तयार थिइनँ । म आमा बन्न चाहन्थेँ । म रुँदा कराउँदा पनि उसले मानेन । जर्बजस्ती सातदोबाटोको किष्ट अस्पताल पुर्‍याएर अबोर्सन गरिदियो ।

अस्पतालबाट निस्केर सडकमा उसले मलाई छाडेर हिँडेको हो । बच्चा एबोर्सन गरेको महिला समय पुगेर सुत्केरी भएभन्दा कैयौँ गुणा कमजोर हुन्छ । त्यस्तो कमजोर महिलालाई उसले सडकमा छोडेर हिाडेको हो । बच्चा फालेको अशक्तलाई उसले सडकमा छाडेर हिँड्यो ।

बेवारिसे छोडेर हिडेपछि परिवार, आफन्त र सबैले थाहा पाए । त्यो थाहा पाएपछि परिवार पनि टाढा भए ।अरु साथीभाइहरु सबैसँग सम्बन्ध बिग्रियो । त्यसपछि झनै बेवारिसे हुन पुगेँ ।

आपराधिक मानसिकता

श्रीमतीले छोडेर बसेको भएपनि उसको सम्बन्धविच्छेद भएको थिएन । सम्बन्धविच्छेद नभइसकेको अवस्था भनेको उ विवाहित नै थियो । विवाहित पुरुषसँग सम्बन्ध बनाउन हुन्न भन्ने कुरा मलाई थाहा थियो । तर, अपराधिक मानसिकता भएको मान्छेसँग कसैगरी जोगिन नसकिने रहेछ । सुरुसुरुमा उसँग भाँगिरहे । तर, उसको दुख र एक्लोपनले कतिबेला र कसरी पग्लिएँ भन्ने थाहा भएन ।

घरपरिवार कमजोर भएको छोरीचेलीलाई धेरै अपराधीहरुले शोषण गर्दै आएका छन् । गरिबलाई शोषकबाट बच्नै गाह्रो हुन्छ । गरिबको छोरी उनीहरुको विस्तरामा आफैँ पुग्दैनन् । विभिन्न बहाना, प्रलोभन र वाचा गरेर ल्याइपुर्‍याइन्छ ।

घटना बाहिर आउँछ भनेर कतिको हत्या नै गरिदिन्छन् । तर म सडकमा लड्दै आएकी छु । गायिका नीतु पोडैल मेरै साथी हुन् । उनले प्रेमीको शोषण सहन नसकेर आत्मदाह गरिन् । उसको अपराधी खुलमखुल्ला हिँडिरहेको छ । के मैले पनि मर्नुपर्ने थियो ? तब समाजले विचरा भन्ने थियो ।

जन्मकैदको माग

मैले जन्मकैदको सजायको माग गरेकी छु । ताकि भोली अरु केटीको जिन्दगी बर्बाद गर्ने ठाउँ नपाओस् । यो मान्छेले पहिले पनि धेरै केटीहरुको जीवन बर्बाद गरेको छ । तर कसैले बोल्न सकेनन् । तिनीहरुमध्ये एक जनाले बालेको भए, सायद म सिकार हुने थिइनँ । त्यसकारण अब मेरो जिम्मेवारी हो, अबका दिनमा यो मान्छेबाट अर्को केटी बर्बाद हुनुहुँदैन ।

अपराधीले यो खुला आकाशमुनि हिड्न पाउनु हुँदैन । सुरुमा म मिडियामा आएको होइन । न्याय माग्न प्रहरीकहाँ पुगेँ । तर प्रहरीले कार्यालय उजुरी लिनै मानेन । त्यसपछि बाध्य भएर पत्रकार सम्मेलन गरेँ । मिडियामा आएपछि बल्ल उजुरी दर्ता भएको थियो । क्षतिपूर्ति केही चाहिँदैन । उ जेलमा हुनुपर्‍यो, मेरो माग त्यही हो ।

एउटा केटीको जीवन तहसनहस गरेको क्षतिपूर्ति के कुराले भर्नसक्छ ? पैसाले मेरो बर्बादी किन्न सकिन्छ ? पैसाको लागि सम्बन्ध बनाएको होइन । पैसाको लागि सम्बन्ध बनाउने भए बजारमा गएर बस्थेँ होला । म गायिका थिएँ । गीत गाएरै एउटा जीवन राम्रै बनाउन सक्थेँ । तर अपराधीको चङ्गुलमा फँसेपछि के हुनेरहेछ ? सडकमा बास हुने रहेछ ।

अधिकारकर्मी, महिला आयोग, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय कसैलेपनि सहयोग गरेको छैन । सात दिन आमरण अनसन बसेपछि बल्ल कर्ण मल्ललाई प्रहरीले पक्राउ गरेको थियो । आमरणमा धेरै कमजोर भएपनि आयोग र मन्त्रालयसँग ४ दिनको दिन सलाइनपानी मागेँ । तर, आयोगकी अध्यक्ष कमला पराजुली र नयाँ सरकारको मन्त्री सीता वादीले वास्ता गर्नुभएन ।

आखिर त्यो आयोग र मन्त्रालय कसको लागि हो ? उहाँहरु त्यो कुर्सीमा किन बस्नुभएको हो ? धरौटीमा बलात्कारीलाई छोड्ने प्रयास भएको छ । त्यसको विरुद्धमा म सडकमै हुनेछु । पूरा जीवन सडकमै बिताउन परेपनि अन्यायको खातिर लड्नेछु । किनकी म यहाँ भन्दा बढी बर्बाद हुन बाँकी छैन ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ५९ बजे

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज