भीर मौरीको मह काढ्ने सिजन : परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणको चर्चा « Khabarhub

भीर मौरीको मह काढ्ने सिजन : परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणको चर्चा


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मनाङ– विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भीर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भीर मौरीको सिकार गरेको पाइन्छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भीरमा झुन्डिएका भीर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गर्दछन् । यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ । गाउँको पुर्ख्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिनेगरी भीर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन् ।

स्थानीयले भीर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै आएको सिकारी टेकबहादुर गुरुङले बताए । विगतमा ज्येष्ठ नागरिकको मात्रै सहभागिता रहने मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

‘भीर मौरीको मह औषधिका रूपमा प्रयोग हुन्छ । औषधिका रूपमा उपयोग गर्न जोखिम मोलेर भीरबाट मह काढ्ने गरेका छौँ’, गुरुङ भन्छन्, ‘भीर मौरीको महको माग पनि बढी छ ।’ वर्षमा दुईपटक मह काढ्ने गरिएको उनको भनाइ छ ।

गुरुङ भन्छन्, ‘पहिलो चरणमा मह वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्नुपर्ने हुन्छ भने दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालिसक्नुपर्छ । विशेष गरी शुक्रबारमात्रै मह काढ्ने चलन छ ।’ मह धेरै भएको समयमा भने दुई दिन लगाएर मह निकाल्ने गरिएको उनी बताउँछन् ।

मौरीको सिकार गर्न तिथिमिति जुराएर जङ्गलबाट निगालो ल्याउने र चोया बनाई लठ्ठा बनाउने गरिन्छ । आगोमा तताउँदै लठ्ठाबाट गाउँले मिलेर भर्याङ बनाउने गर्दछन् । एकपटक बनाइएको भर्याङ तीनचार वर्षसम्म उपयोग गर्न सकिन्छ ।

यसरी बनाइएको भर्याङ मह निकाल्न (काढ्न) गाउँले एकसाथ भीरमा मह सिकारका लागि जाने गर्दछन् । विश्वकै साहसिक पेसाका रूपमा परिचय बनाएकाले मह सिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यस गाउँको आयआर्जनको माध्यम बनेको सिकारी मीनबहादुर गुरुङले बताए ।

‘पहिलापहिला त मुखमात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौँ’, उनी भन्छन्, ‘यसले जोखिमबाट जोगाएको छ ।’

मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ भने बढी चिलेमा मानिसको ज्यानै जानसक्ने जोखिम हुने गुरुङ बताउँछन् । पहिलेदेखि नै औषधिका रूपमा प्रयोग गरिँदै आएको भीर मौरीको मह स्थानीयकै घरमा सीमित हुने गर्दथ्यो । मानवीय विकाससँगै पहिरनमा परिवर्तन हुँदै जाँदा शरीरमा पूरा कपडाले ढाकिने चलन बढ्नुका साथै सुरक्षित तवरबाट मह सिकारमा पनि सहज हुँदै गएको स्थानीयको भनाइ छ । पहिले स्थानीयको सहभागितामा मात्रै निकालिने मह अहिले विदेशीको आकर्षण बढ्दै गएको गुरुङ बताउँछन् ।

हाल भीर मौरीको मह सिकार गरेको हेर्न विदेशी आउने गरेको स्थानीय बताउँछन् । पर्यटकलाई आकषित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताउँछन् । ‘यस्तो चिल्ने मौरीको मह सिकार जोखिमयुक्त छ । तर, यहाँका स्थानीयको साहसिकताले लोभ्यायो’, उनी भन्छन्, ‘प्राकृतिक जोखिम मोलेजस्तै यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ ।’

आश्चर्यचकित पार्नेगरी स्थानीयले मह निकालेको देख्दा डर लागेको केमल बताउँछन् ।

भीर मौरीको मह काढ्ने परम्परामात्रै नभएर मह औषधिजन्य भएकाले अझ माग बढी हुने गरेको छ । त्यसैले यसलाई निरन्तरता दिन आवश्यक छ । प्राकृतिक उपजका रूपमा विकास गर्दै आयआर्जनको माध्यम बनाउन संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अवस्था देखिन्छ ।

यस परम्परालाई जीवन्त राख्दै विदेशीको आकर्षणको केन्द्र बनाउने प्रयासमा सबैको ध्यान जानुपर्ने हुन्छ । 

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ६ : ४७ बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज