सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी « Khabarhub

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा पुर्‍याइएका सुकुम्वासी परिवार यतिबेला बहुआयामिक सङ्कटमा परेका छन् । एकातिर उनीहरूलाई दैनिक गाँस, बास र कपासको चिन्ताले सताएको छ भने, अर्कोतिर सेन्टरभित्रै बढ्दो असुरक्षा र लागुऔषध दुर्व्यसनीको खुला बिगबिगी उनीहरूका लागि नयाँ र ठुलो चुनौती बनेको छ ।

एउटै ठुलो हलको छाना मुनि सिङ्गो बस्तीका सयौँ मानिस सामूहिक रूपमा बस्नुपर्दा आफूहरू सुरक्षित नरहेको आश्रित बताउँछन् । झ्याल–ढोका समेत नभएको प्लास्टिकको टेन्टमा चेनको भरमा बस्नुपर्ने बाध्यता छ ।

“महिला र पुरुष सबै एकै ठाउँमा छौँ । कसको नियत कस्तो छ, कसैलाई थाहा हुने कुरा भएन । त्यसैले रातभर ढुक्कले निदाउन पनि पाइँदैन,“ सेन्टरमा आश्रय लिइरहेकी एक महिलाले आफ्नो डर र पीडा पोखिन् ।

असुरक्षाकै कारण उनीहरूको दैनिक रोजगारी समेत खोसिएको छ । थापाथलीमा हुँदा छोराछोरीलाई स्कुल पठाएर श्रीमान्–श्रीमती दुवै काममा जाने गरेको स्मरण गर्दै अर्का एक आश्रितले भने, “यता त टेन्ट छोडेर एकैछिन कतै निस्कनै मिल्दैन, सामान हराइहाल्छ । एक जनाले त कुर्नैपर्छ ।“

होल्डिङ सेन्टरभित्रै लागुपदार्थको खुला सेवन, वातावरण भयभीत

पीडितको बसाइ त्यतिबेला थप भयभीत बन्यो, जब होल्डिङ सेन्टरभित्रै केही युवायुवतीले खुला रूपमा लागुपदार्थ सेवन गर्ने र सुई लगाउने गरेको पाइयो । आश्रित परिवारका अनुसार केही दिनअघि मात्रै केही युवालाई भित्रै सुई हान्दै गरेको अवस्थामा रङ्गेहात फेला पारिएको थियो । सेन्टरभित्र सुईहरू समेत भेटिन थालेपछि बालबालिका र महिलाको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ ।

सुरक्षाकर्मीको अभाव र व्यावहारिक बाध्यता

सेन्टरको मुख्य गेटमा सुरक्षाका लागि जम्मा चार जना मात्रै सुरक्षाकर्मी खटिएका छन्, जुन पर्याप्त छैन । गेटमा खटिएकी एक महिला प्रहरीले भित्र लागुऔषध भित्रिने गरेको कुरालाई स्वीकार गरिन् । तर, सुरक्षा जाँचमा व्यावहारिक कठिनाइ रहेको उनको भनाइ छ ।

“बाहिर निस्कने वा भित्रिनेलाई सोधपुछ गर्दा ’हामीलाई कैदी जस्तो व्यवहार नगर्नुस्, काममा हिँडेको’ भन्दै उल्टै थर्काउँछन्,“ उनले भनिन्, “म एक्ली महिला प्रहरी भएकाले पुरुषको शारीरिक खानतलासी गर्न मिल्दैन । उनीहरूले कहाँ र कतिखेर लागुपदार्थ लुकाएर भित्र्याउँछन्, पत्तै हुँदैन ।“

राधास्वामी आश्रमका स्वयंसेवक पनि यो समस्याबाट आजित भइसकेका छन् । प्रहरीले सोधपुछ गरे पनि खल्ती चेक नगर्ने र बिनाउजुरी वा प्रमाण प्रहरीले कसैलाई थुन्न नमिल्ने हुँदा सम्झाउनुबाहेक अर्को विकल्प नरहेको स्वयंसेवकहरू बताउँछन् । लागुऔषधको बानी परेकाहरूले पर्खालबाटै पनि सामान भित्र्याइरहेको हुन सक्ने आश्रमको आशङ्का छ ।

डुबानको अर्को खतरा

समस्या यतिमा मात्रै सीमित छैन । वर्षायाम सुरु भइसकेको छ र यो होल्डिङ सेन्टर रहेको क्षेत्र वर्षैपिच्छे डुबानमा पर्ने ठाउँ हो । स्थायी व्यवस्थापन नभएकाले आश्रमले पनि कुनै दीर्घकालीन उपाय सोच्न सकेको छैन । हाल सरकारले त्यहाँ रहेका मानिसको लगत डाटा सङ्कलन गरिसकेको र त्यसैका आधारमा छानबिन भइरहेको बुझिएको छ । आश्रमका स्वयंसेवक केही दिनमा सरकारले व्यवस्थापन गर्ने आशमा छन् ।

सरकारलाई पीडितको प्रश्न

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका पीडितहरूले सरकारको फितलो व्यवस्थापनप्रति तीव्र आक्रोश पोखेका छन् । “होल्डिङ सेन्टर भनेको मान्छेलाई ल्याएर थुन्ने ठाउँ मात्र होइन,“ एक पीडित महिलाले भनिन्, “यहाँभित्र रहेका दुर्व्यसनीलाई सुधार्ने र हामी महिला तथा बालबालिकालाई कसरी सुरक्षित राख्ने भनेर सरकारले बेलैमा सोच्नुपर्दैन ?“

सामूहिक बसाइ, फितलो सुरक्षा पहरा, वर्षाको आगमन र लागुऔषधको बढ्दो बिगबिगीका कारण यो होल्डिङ सेन्टर कुनै पनि बेला गम्भीर सामाजिक अपराधको केन्द्र बन्न सक्ने खतरा देखिएको छ । स्थानीय प्रहरी प्रशासनले सुरक्षाकर्मीको सङ्ख्या थप गर्ने र निगरानी बढाउने दाबी गरे पनि सम्बन्धित उपल्लो निकायले तुरुन्तै ध्यान दिई यसको स्थायी समाधान खोज्नु आवश्यक देखिएको त्यहाँ खटिएका स्वयंसेवक बताउँछन् ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ८ : २४ बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित