काठमाडौं- प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न अस्ट्रेलिया र फिजीबीच नयाँ रक्षा सम्झौता भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र फिजीका प्रधानमन्त्री सिटिभेनी राबुकाले फिजीको राजधानी सुभामा यो सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘ओसन अफ पिस’ नाम दिइएको यो रक्षा सम्झौता आगामी दिनमा अन्य देशहरूमा पनि विस्तार हुन सक्ने बताइएको छ।
अस्ट्रेलियाले यो सम्झौताका लागि आगामी एक दशकमा एक अर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाएको छ । यो सम्झौतासँगै अमेरिका, न्युजिल्यान्ड र पपुवा न्युगिनीपछि फिजी अस्ट्रेलियाको चौथो औपचारिक रक्षा साझेदार बनेको छ । दुवै देशबिच अर्थतन्त्र, जलवायु परिवर्तन, स्वास्थ्य र आप्रवासन समेटिएको अर्को ‘भुभाले युनियन’ सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
यो ऐतिहासिक सम्झौता सार्वजनिक भएको केही घण्टाभित्रै चीनले प्रशान्त महासागरमा एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । अस्ट्रेलिया, न्युजिल्यान्ड र अन्य देशहरूले चीनको उक्त परमाणु क्षमतायुक्त क्षेप्यास्त्र परीक्षणको कडा आलोचना गरेका छन् ।
अस्ट्रेलिया र फिजीबिच भएको यो नयाँ सम्झौतामा सैन्य क्षेत्र भएका अन्य तीन प्रशान्त देशहरू टोङ्गा, पपुवा न्युगिनी र न्युजिल्यान्ड पनि सहभागी हुन सक्नेछन् । सम्झौता अनुसार प्रशान्त क्षेत्रमा कुनै पनि सदस्य देशमाथि सशस्त्र आक्रमण भएमा त्यसलाई साझा खतरा मानिनेछ र सबै मिलेर त्यसको सामना गर्नेछन् । कुनै पनि सुरक्षा जोखिम उत्पन्न भएमा ती देशहरूले आपसमा परामर्श गर्ने सहमति समेत भएको छ ।
अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले यसलाई अस्ट्रेलियाले कुनै पनि देशसँग गरेको सबैभन्दा महत्त्वपूर्ण सम्झौतामध्ये एक भनेका छन् । दुःखको समयमा एकअर्कालाई मद्दत गर्नु नै यसको मुख्य उद्देश्य रहेको उनले बताए । फिजीका प्रधानमन्त्री राबुकाले पनि अन्य प्रशान्त देशहरू यस सम्झौतामा जोडिन पर्खिरहेको विश्वास व्यक्त गरेका छन् ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले प्रशान्त क्षेत्रमा अस्ट्रेलिया र चीनबिच स्थायी प्रतिस्पर्धा चलिरहेको बताएकि छिन् । अस्ट्रेलियाले यसअघि भानुआटु, टुभालु र नाउरु जस्ता देशहरूसँग पनि यस्तै सम्झौता गरिसकेको छ। अब अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले सोलोमन टापुको भ्रमण गरी त्यहाँ पनि नयाँ सम्झौताका लागि वार्ता अगाडि बढाउने कार्यक्रम छ।












प्रतिक्रिया