वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने क्रममा गोप्य रूपमा एउटा सानो सैन्य विमान प्रयोग गरेको खुलासा भएको छ।
‘द वासिङ्टन पोस्ट’को रिपोर्टअनुसार इरानबाट ट्रम्पको हत्या गर्ने धम्की आएपछि उनको यात्राको सम्पूर्ण योजना परिवर्तन गरिएको थियो।
टर्कीको राजधानी अंकाराबाट प्रस्थान गर्ने क्रममा ट्रम्प क्यामेरासामु पुरानो एयरफोर्स वनमा चढेका थिए। त्यसपछि उनलाई विमानस्थलमा सामान तथा खाना पुर्याउन प्रयोग हुने क्याटरिङ गाडीमार्फत गोप्य रूपमा सानो सैन्य विमान सी-३२ इए सम्म पुर्याइएको थियो।
पहिले ठूलो विमान, त्यसपछि चुपचाप
ट्रम्प जुलाई ८ मा नाटो शिखर सम्मेलनमा सहभागी हुन टर्कीको राजधानी अंकारा पुगेका थिए। उनी कतारबाट प्राप्त नयाँ बोइङ ७४७-८ विमानमा टर्की पुगेका थिए।
बेलायत फर्किने क्रममा ट्रम्पले आफू पुरानो हल्का नीलो रंगको एयरफोर्स वनबाट बेलायत जाने बताएका थिए। उनी क्यामेरासामु उक्त विमानमा चढेको दृश्यसमेत सार्वजनिक भएको थियो। पुरानो विमानमा यात्रा गर्ने निर्णयबारे ट्रम्पले आफूलाई पुरानो समयको सम्झना हुने भएकाले त्यसमा यात्रा गर्न लागेको बताएका थिए।
कतारबाट प्राप्त नयाँ विमान भने बेलायतको आरएएफ मिल्डेनहल एयरबेसतर्फ गएको थियो।
सामान बोक्ने गाडीबाट अर्को विमानमा
‘द वासिङ्टन पोस्ट’का अनुसार ट्रम्प पुरानो एयरफोर्स वनमा चढेको केही समयपछि एउटा क्याटरिङ गाडी त्यहाँ पुगेको थियो। यस्ता गाडी सामान्यतया विमानमा खाना र आवश्यक सामग्री पुर्याउन प्रयोग गरिन्छन्।
रिपोर्टअनुसार यही गाडीमार्फत ट्रम्पलाई विमानस्थलमा तयारी अवस्थामा रहेको सानो सैन्य विमान सी-३२ए सम्म गोप्य रूपमा लगिएको थियो। सी-३२ए बोइङ ७५७ मा आधारित अमेरिकी सैन्य विमान हो।
‘द वासिङ्टन पोस्ट’ले प्राप्त गरेको भिडियोमा पनि क्याटरिङ गाडी पुरानो एयरफोर्स वनबाट निस्किएर सानो विमानतर्फ गएको देखिन्छ। त्यसपछि सी-३२ए ले ट्रम्पलाई लिएर बेलायततर्फ उडेको थियो।
कसैले थाहा पाएनन् ट्रम्प अर्को विमान चढेको
समाचारअनुसार पुरानो एयरफोर्स वनमा रहेका पत्रकारहरूले ट्रम्प पनि त्यही विमानमा यात्रा गरिरहेको ठानेका थिए। रिपोर्टअनुसार ह्वाइट हाउसका केही कर्मचारीलाई समेत वास्तविक योजनाबारे जानकारी थिएन।
उडानका क्रममा पत्रकारहरूलाई विमानका झ्यालका शेड बन्द गर्न भनिएको थियो। उनीहरूलाई बाहिर हेर्नसमेत अनुमति थिएन। यस्तो सावधानी सामान्यतया विमान कुनै जोखिमपूर्ण क्षेत्रबाट गुज्रिरहेको अवस्थामा अपनाइने गरिन्छ।
पछि पत्रकारहरूले ट्रम्पलाई झ्यालका शेड बन्द राख्नुको कारणबारे सोधेका थिए। त्यस क्रममा ट्रम्पले आफूहरू ‘सायद खतरनाक उडानमा’ रहेको बताएका थिए।
ट्रम्प सवार विमान पुरानो एयरफोर्स वनभन्दा पहिले बेलायत
ट्रम्पलाई लिएर उडेको सी-३२ए राति करिब १०:२० बजे बेलायतको आरएएफ मिल्डेनहल एयरबेसमा पुगेको थियो। त्यसको केही मिनेटपछि पत्रकारहरू सवार पुरानो एयरफोर्स वन पनि त्यहाँ पुगेको थियो।
यद्यपि सी-३२ए बाट ओर्लिएपछि ट्रम्प पुरानो एयरफोर्स वनसम्म कसरी पुगे भन्ने स्पष्ट छैन। ट्रम्पसँगै यात्रा गरेका पत्रकारहरूका अनुसार उनी राति १०:५६ बजे पुरानो एयरफोर्स वनको भर्याङबाट तल ओर्लिएको देखिएका थिए।
ट्रम्पले पत्रकारहरूतर्फ हात हल्लाए, तर उनीहरूसँग कुराकानी गरेनन्। त्यसपछि उनले अमेरिकी सैनिकहरूसँग भेट गरे र कतारबाट प्राप्त नयाँ विमानतर्फ गए।
यो तरिका पुरानै
कुनै पनि राष्ट्रपतिलाई सम्भावित खतराबाट जोगाउन उनको वास्तविक यात्रालाई गोप्य राख्ने तरिका नयाँ भने होइन।
सन् २००० मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन पाकिस्तान भ्रमणमा जाँदा पनि यस्तै उपाय अपनाइएको थियो। उनलाई राष्ट्रपति विमानको कुनै पहिचान नभएको सरकारी विमानमा पठाइएको थियो।
त्यतिबेला वास्तविक एयरफोर्स वनलाई भने अर्कै बाटोबाट पठाइएको थियो, ताकि राष्ट्रपति कुन विमानमा छन् भन्ने जानकारी बाहिर नआओस्।
नयाँ विमानको सुरक्षामाथि पनि प्रश्न
ट्रम्प टर्की पुग्न प्रयोग गरेको बोइङ ७४७-८ विमान कतारको शाही परिवारले गत वर्ष अमेरिकालाई दिएको थियो। अमेरिकी रक्षा कम्पनी एल३ ह्यारिस टेक्नोलोजिज्ले उक्त विमानलाई राष्ट्रपतिको यात्राका लागि तयार पारेको हो।
ट्रम्पले पहिलोपटक जुलाई १ मा नर्थ डकोटा जाने क्रममा यो विमान प्रयोग गरेका थिए। त्यसको केही दिनपछि उनी यही विमानमार्फत् आफ्नो पहिलो विदेश भ्रमणका क्रममा टर्की पुगेका थिए।
उक्त विमानको सुरक्षालाई लिएर यसअघि नै प्रश्न उठ्दै आएका थिए। अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार पुरानो एयरफोर्स वनमा राष्ट्रपतिलाई सम्भावित आक्रमणबाट जोगाउन विशेष सुरक्षा प्रणाली छन्। कतारबाट प्राप्त विमानमा त्यस्ता केही सुरक्षा व्यवस्था नभएको वा तिनको क्षमता फरक रहेको बताइएको छ।
नयाँ विमानको सुरक्षामा कमी छैन
कतारबाट प्राप्त विमानको सुरक्षामाथि उठेका प्रश्नबारे ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभ चेउङले उक्त विमानमा ट्रम्प र उनीसँग रहेका व्यक्तिहरूको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको बताएका छन्।
उनका अनुसार ट्रम्पलाई निशाना बनाउन चाहने अमेरिकाका धेरै शत्रु भएकाले उनको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाइन्छ।
ह्वाइट हाउसले नयाँ विमानमा सुरक्षा कमजोरी रहेको स्वीकार गरेको छैन। बरु ट्रम्पको सुरक्षाका लागि आवश्यकताअनुसार विभिन्न उपाय अपनाउन सकिने उसको भनाइ छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको थिएन।












प्रतिक्रिया