सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला « Khabarhub

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला



काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर सभामुखले बालेनसँग भेट गरेका हुन्।

शाह र अर्यालबीच ४५ मिनेट लामो संवाद भएको थियो । दुईजनाको भेटमा सभामुख अर्यालले सदन चलाउन गाह्रो भएकाले सांसदहरूको प्रश्नको जवाफ दिन आग्रह गरेका थिए।

महिनामा एक पटक नियमित प्रश्नोत्तर र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परिपाटी संसद् नियमावलीमै रहेको सभामुखले स्मरण गराए। उनले प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी हुन पनि सम्झाए

सभामुखले सदनमा उभिएर प्रतिपक्षीका प्रश्नको जवाफ दिन आग्रह गर्दा प्रधानमन्त्रीले विचार गरौँला भनेर उत्तर दिएका स्रोतले बताएको छ । ‘सभामुखले सदनमा प्रतिपक्षीले निरन्तर अवरोध गरिरहेका छन् । प्रधानमन्त्री आएर एकपटक बोलिदिनु पर्‍यो भन्नु भएको छ। त्यसमा प्रधानमन्त्रीले विचार गरौँला भन्नुभए’, रास्वपाका एक शीर्ष नेताले भने, ‘प्रतिपक्षीले सदनमा निरन्तर अवरोध गरेपछि सभामुखले आफ्नो कर्तव्य पूरा गर्नुभएको हो। अब कर्तव्य पूरा गर्ने पालो प्रधानमन्त्रीको हो ।’

दुई जनाको भेटवार्तामा सदनको बर्खे अधिवेशनका मुद्दा, बाँकी रहेका विधेयक र प्रतिनिधि सभामा उठेका समसायमिक विषयवस्तुमा पनि कुराकानी भएको छ। सभामुख अर्यालेले नियमावली र नीतिमा टेकेर आफूले प्रधानमन्त्रीलाई भेट्न आएकालले सदनमा उपस्थित भइदिन आग्रह गरेका छन् ।

‘सदन चलाउन गाह्रो भइसक्यो, विपक्षीले निरन्तर अवरोध गरिरहनुभएको छ। यसलाई कसरी समाधान गर्ने ?’, उनले भने, ‘हामीले नीति-यम र नियमावली अनुसार नै जानुपर्ने आवश्यकता छ। सदन निरन्तर अवरोध हुँदा जनताका मुद्दा छुटेका छन्, अलपत्र परेका छन् ।’

उत्तरमा प्रधानमन्त्रीले सभामुखलाई अझै सदनमा उपस्थित हुने ग्यारेन्टी दिएनन् । सभामुखको सचिवालयले अझै पनि प्रधानमन्त्री सदनमा आउने ग्यारेन्टी नभएको जनाएको छ। ‘सभामुख र प्रधानमन्त्रीको भेट नियमित हो। सदनमा उठेका विषयवस्तु सभामुखले प्रधानमन्त्रीसमक्ष पुर्‍याउनुभएको हो’, सभामुखको सचिवालयका एक सदस्य भन्छन, ‘सभामुख र प्रधानमन्त्रीको भेटमा विपक्षीले उठाएका प्रश्नबारे गम्भीर छलफल भएको हुनुपर्छ ।’

सभामुखलाई तनाव

पछिल्लो समय विपक्षी दलले सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गर्न नसकेको आरोप लगाइरहेका छन्। गत जेठ १७ गते प्रधानमन्त्री शाहले सदनमा उपस्थित भएर विवादित अभिव्यक्ति दिएका थिए । उनले प्रधानमन्त्रीमा भएपछि मात्रै नेपालले पनि भारतको भूभाग मिचेको रहेछ भन्ने थाहा भएको कुरा उनले बताएका थिए ।

त्यसको विरोधमा विपक्षीले निरन्तर सदन अवरोध गरिरहेका छन् । विपक्षीले सदन चल्न नदिँदा सभामुखले पनि प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउने कोसिस नगरेको कुरा उठिरहेको छ।

सभामुखको भूमिकामा विपक्षीले प्रश्न उठाइरहँदा सभामुख पनि तनावमा छन् । जेठयता सदमा अवरोध हुँदा उनले पटक पटक स्थगित गर्दै प्रतिपक्षी र सत्तापक्षका नेताहरूलाई छलफलमा बोलाउने गरेका छन् । तर छलफलमा पनि विपक्षीले प्रधानमन्त्रीको जवाफ नआएसम्म सदनमा अवरोध जारी राख्ने अडान लिएपछि सभामुख तनावमा छन्।

संसद्को अवरोध हटाउन सभामुखले महत्वपूर्ण भूमिका नखेलेको कुरा संसदीय मामिला जानकार हरिबहादुर थापा पनि बताउँछन् । सभामुखले सदनमा प्रतिनिधित्व गर्ने सबै दल र कानुनमन्त्रीसहितलाई सर्वदलीय बैठकमा राख्नुपर्ने थापाको सुझाव छ।

‘सभामुखको भूमिकामाथि प्रश्न उठाउने ठाउँ छ, किनभने उहाँले गम्भीर रूपमा सदनको अवरोधलाई लिएर सर्वपक्ष बैठक राख्नुपर्ने थियो । कानुन मन्त्री र सदनमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा उपस्थित गराउनु पर्थ्यो’, उनी भन्छन्, ‘सभामुखमाथि पनि प्रश्न उठाउने ठाउँ देखिन्छ। उहाँले सत्तापक्षका प्रमुख सचेतक र सचेतकको माध्यमबाट सरकारलाई जानकारी गराउनुपर्ने थियो।’

सभामुखले सिधै गएर प्रधानमन्त्रीलाई भेट्नुभन्दा संसद् सचिवालयमै प्रधानमन्त्रीले सभामुख भेट्ने परम्परा रहेको पनि थापा स्मरण गर्छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सभामुख अर्यालले प्रधानमन्त्रीलाई पटकपटक भेटिरहेका छन् । तर प्रधानमन्त्री शाह सभामुखको कार्यकक्षमा फर्केर आएाक छैनन्।

सदन खुलाउने विषयमै सभामुख र प्रधानमन्त्रीबीच यसअगाडि पनि मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमै छलफल भएको थियो।

अब त सत्तापक्षका सांसदले पनि प्रधानमन्त्रीको खोजी गर्न थालेका छन्। सभामुखले पनि भेटेर सदनप्रति उत्तरदायी हुन भन्दा प्रधानमन्त्रीले अटेरी गरेर बसेको सत्तारूढ दलकै सांसद बताउँछन्।

प्रधानमन्त्रीको भूमिकालाई लिएर सत्तापक्षका नेताहरूमा असन्तुष्टि बढेको छ। केही दिनयता प्रम शाहको कार्यशैलीलाई लिएर संसद् बैठकमा सत्ता पक्षका सांसदले कडा आलोचना गरिरहेका छन्।

एक्लै भएँ भनेपछि प्रश्न

शुक्रबार प्रधानमन्त्री शाहले गत शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै एक्लिएको संकेत देखाएका थिए। त्यही दिन राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद मनिष झा, ज्वाला संग्रौला, रमेश प्रसाईं, पारसमणि गोलालसहितले सरकारको भूमिकामाथि प्रश्न उठाएपछि प्रधानमन्त्रीले राति फेसबुकमा विरह पोखेका थिए ।

प्रधानमन्त्रीको भनाइलाई लिएर नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीदेखि नेकपा एमाले, श्रम संस्कृति, नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले प्रधानमन्त्री के कारणले एक्लिएको भन्दै प्रश्न उठाइरहेका छन् ।

१८२ जना सांसद रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रधानमन्त्री के कारणले एक्लिए भन्ने विषयको जवाफ दिनुपर्ने भन्दै प्रतिपक्षले प्रश्न गर्दा सत्तापक्षका सांसद चुपचाप देखिन्छन्। बालेननिकट सांसदले पनि यो प्रश्नको उत्तर प्रतिपक्षले मागिरहँदा चुपचाप सुनिरहेको देखिन्छ ।

प्रधानमन्त्रीले एक्लै भनेर स्टाटस लेखेको पर्सिपल्ट पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उनीहरूबीच पछिल्लो गतिविधिका विषयमा पनि कुराकानी भएको थियो।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  २ : ५८ बजे

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको