सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग « Khabarhub

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। घटनापछि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको र अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दासमेत बेवास्ता गरिएको कांग्रेसको आरोप छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले सुनसरी घटनालाई राष्ट्रमा आइपरेको संकटका रूपमा लिएर शान्ति र सद्भाव कायम गर्न पार्टीले भूमिका निर्वाह गरेको जनाएको छ।

घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न आफूहरूले यसअघि नै माग गरेको स्मरण गर्दै कांग्रेसले सरकारी संयन्त्र मात्र सहभागी गराएर गठन गरिने आयोगले सरकारका कमजोरी लुकाउने आशंका व्यक्त गरेको छ।

कांग्रेसले आफ्नो आशंका सही साबित भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र सम्झौताको तत्काल कार्यान्वयनको मागसहित १२ दिनदेखि अनशनरत यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको जनाएको छ।

कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जलगायतका स्थानमा राज्यको दमनका कारण निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको तथा कैयौँ नागरिकको निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको दाबी गरेको छ।

सरकारले पीडित पक्षलाई न्याय दिने प्रतिबद्धतासहित सम्झौता गरे पनि हालसम्म चार जनालाई सहिद घोषणा गर्नबाहेक अन्य विषय कार्यान्वयन हुन नसकेको कांग्रेसको भनाइ छ। सरकारको गैरजिम्मेवार रबैयाका कारण स्थानीय समुदायमा आक्रोश बढ्दै गएको र पुनः अर्को दुर्घटना निम्तिन सक्ने खतरा रहेको कांग्रेसले चेतावनी दिएको छ।

कांग्रेसले सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन गरी पीडितलाई न्याय र राहत दिनसमेत माग गरेको छ।

कांग्रेसले सरकारले विभिन्न पेसा, व्यवसाय र संघसंस्थासँग पटकपटक सहमति गरे पनि त्यसको इमानदार कार्यान्वयन हुन नसकेको आरोप लगाएको छ।

चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याजपीडितलगायत विभिन्न पक्षसँग सरकारले गरेका सहमति कार्यान्वयन नभएको कांग्रेसको दाबी छ।

कांग्रेसले नागरिक तथा पेसागत संघसंस्थासँग गरिएका सहमति र समझदारी तत्कालका लागि सरकार उम्किने माध्यमका रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ। सहमति र समझदारीलाई ‘कीर्ते कागज’ मात्र नबनाई तत्काल कार्यान्वयन गर्न उसले माग गरेको छ।

‘हरेक घटनामा सहमति गर्न तत्पर हुनु मात्रै सरकारको बहादुरी होइन, न त हरेक नागरिक वा पेसागत समूहलाई सहमतिका लागि आह्वान गर्नु मात्रै कुनै उपलब्धि हो,’ कांग्रेसले भनेको छ, ‘सरकारले पटकपटक सहमति खोज्ने तर तिनको इमानदार कार्यान्वयनमा तत्परता नदेखाउने प्रवृत्ति आज चिन्ता र चासोको विषय बनेको छ।’

सरकारले सहमति कार्यान्वयन नगर्दा सरकारप्रति अविश्वासको वातावरण सिर्जना भएको र यसले समाज तथा राष्ट्रमा नैराश्यता बढाउँदै लगेको कांग्रेसको निष्कर्ष छ। ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वाससमेत कमजोर हुँदै गएको भन्दै कांग्रेसले सरकारलाई संवेदनशील भएर समस्या समाधानतर्फ अघि बढ्न आग्रह गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले समसामयिक राजनीतिक तथा अन्य विषयमा धारणा राख्ने क्रम जारी रहेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : ३२ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य